शुभश्री अग्नि सिमेन्टको व्यापार ५५ प्रतिशतले बढ्यो, छ करोड घाटाकै बीच दुई अर्बको आईपीओ ल्याउँदै

शुभश्री अग्नि सिमेन्टको व्यापार ५५ प्रतिशतले बढ्यो, छ करोड घाटाकै बीच दुई अर्बको आईपीओ ल्याउँदै

काठमाडौं : शुभश्री अग्नि सिमेन्ट उद्योग लिमिटेडले सन् २०२५ मा २ अर्ब ४६ करोड ७० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा ५५.२५ प्रतिशतले बढी हो ।

Sponsored Advertisement

कम्पनीले सन् २०२४ मा एक अर्ब ५८ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो भने सन् २०२३ मा दुई अर्ब ५५ करोड १० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो ।

यद्यपी व्यापार बढेपनि कम्पनीको नाफा मार्जिन भने घटेको छ । सन् २०२४ मा ३१.४८ प्रतिशत रहेको नाफा मार्जिन सन् २०२५ मा घटेर १७.७५ प्रतिशतमा झरेको छ ।

उत्पादन लागत वृद्धि र बजार प्रतिस्पर्धाको दबाबका कारण मार्जिन खुम्चिँदा कम्पनी अझै घाटामै सञ्चालन भईरहेको छ । तथापी कम्पनीको घाटा केही कम भएको छ । सन् २०२४ मा ७ करोड ९० लाख रुपैयाँ घाटामा रहेको कम्पनी सन् २०२५ मा ६ करोड ३० लाख रुपैयाँ घाटामा रहेको छ ।

तर, कम्पनीको नगद आम्दानीमा सुधार देखिएको छ । अघिल्लो वर्ष एक करोड ७० लाख रुपैयाँ रहेको नगद आम्दानी सन् २०२५ मा बढेर ८ करोड ५० लाख रुपैयाँ पुगेको छ । तथापी ऋण सेवा गर्ने क्षमतामा भने कम्पनी अझै पनि कम्पनी कमजोर रहेको छ । ब्याज तिर्ने क्षमता १.२३ गुणा मात्र रहेको छ । 

यद्यपि, प्रवद्र्धकहरूले गरेको ९६ करोड ९० लाख रुपैयाँको थप पूँजी लगानीले कम्पनीको पूँजी संरचना केही सुधारिएको छ र ऋण-पूँजी अनुपात घटेर २.०५ गुणामा आएको छ ।

कम्पनीसँग आफ्नै चुनढुंगा खानी, र क्लिङ्कर उत्पादन क्षमता रहेको छ । उद्योगसँग आफ्नै दुईवटा चुनढुङ्गा खानी छ । प्यूठानमा रहेको चुनढुङ्गा ८६ लाख टन र दाङमा रहेको चुनढुङ्गा ४३ लाख टन क्षमता छ ।  प्युठान र दाङमा रहेका खानीहरूले दीर्घकालीन रूपमा कच्चा पदार्थको सुनिश्चितता प्रदान गरेको छ ।

उद्योगको अध्यक्षमा कृष्णप्रसाद पोखरेल र प्रबन्ध सञ्चालकमा ताराप्रसाद पोखरेल छन् । कम्पनीमा अग्नि सिमेन्ट उद्योगको शतप्रतिशत लगानी रहेको छ ।

सन् २०१३ मा स्थापना भएको कम्पनी सन् २०२२ मा उद्योग पब्लिक लिमिटेडमा रुपान्तरण भएको छ । कम्पनीले सन् २०१७ देखि क्लिङकर उत्पादन र सन् २०१९ देखि ग्रान्डिङ युनिट सञ्चालनमा ल्याएको हो । उद्योगको क्लिङकर उत्पादन क्षमता दैनिक ७०० टन र सिमेन्ट उत्पादन क्षमता १२०० सय टन रहेको छ ।  

कम्पनीले कुल बैंकिङ सुविधाका लागि ४ अर्ब ४७ करोड ११ लाख रुपैयाँको कर्जा रेटिङ गराएको छ । जसमा दीर्घकालीन कर्जा बढेर करिब २ अर्ब ९३ करोड ९१ ला रुपैयाँ पुगेको छ भने अल्पकालीन कर्जा घटेर एक अर्ब ५३ करोड २० लाख रुपैयाँमा सीमित भएको छ । 

शुभश्री अग्नि सिमेन्ट उद्योग लिमिटेडले सर्वसाधारणमा प्राथमिक शेयर आईपीओ निष्कासनको अनुमति माग गर्दै २०८२ असार २ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा आईपीओ जारी गर्न बोर्डमा आवेदन दिएको हो । 

कम्पनीले दुई अर्ब २ करोड १० लाख रुपैयाँ बराबरको दुई करोड २ लाख १० हजार कित्ता आईपीओ निष्कासन गर्नेछ । आईपीओ निष्कासनका लागि कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा माछापुच्छ्रे क्यापिटल लिमिटेड रहेको छ । 

थप समाचार