सराङकोटमा दुई अर्ब १६ करोडको ‘ले ग्ल्यामर’ रिसोर्ट अन्तिम चरणमा, वित्तीय व्यवस्थापनमा भने सकस

सराङकोटमा दुई अर्ब १६ करोडको ‘ले ग्ल्यामर’ रिसोर्ट अन्तिम चरणमा, वित्तीय व्यवस्थापनमा भने सकस

काठमाडौं : पर्यटकीय नगरी पोखरामा २ अर्ब रुपैयाँभन्दा बढी लगानीमो लक्जरी रिसोर्ट निर्माणाधिन रहेको छ । पोखरा पानोरामा रिसोर्ट एण्ड स्पा प्राइभेट लिमिटेडले निर्माण गरिरहेको उक्त परियोजना अहिले सञ्चालनको पूर्वसन्ध्यामा छ। 

Sponsored Advertisement

साविकको ‘ले ग्ल्यामर लक्जरी रिसोर्ट’ नामबाट सुरु गरिएको करिब २ अर्ब १६ करोड रुपैयाँ कुल लागत अनुमान गरिएको छ । यस रिसोर्टमा २८ वटा विलासी सुइट कोठाहरू र ४ वटा विशेष भिल्लाहरू रहनेछन्। आधुनिक सुविधायुक्त स्पा, स्वीमिङ पुल, अन्तर्राष्ट्रिय स्तरको खाद्य तथा पेय सेवा, र भव्य सम्मेलन तथा भोज हल (ब्यान्क्वेट) लगायत अन्य सुविधा रहनेछन्।

सन् २०२६ को जनवरी मध्यसम्म आइपुग्दा होटल निर्माण कार्यको ९४ प्रतिशत काम सम्पन्न भइसकेको छ। कम्पनीले सुरुमा सन् २०२५ को डिसेम्बरभित्रै सञ्चालनमा ल्याउने लक्ष्य राखेको भए पनि प्राविधिक र व्यवस्थापकीय कारणले केही समय पर धकेलिएको हो। बाँकी रहेको ६ प्रतिशत फिनिसिङको काम तीव्र गतिमा अघि बढिरहेको कम्पनीले जनाएको छ।

परियोजना निर्माणको अन्तिम चरणमा पुग्दै गर्दा वित्तीय व्यवस्थापनमा भने केही दबाब देखिएको छ। ५४ प्रतिशत ऋण र ४६ प्रतिशत इक्विटीको अनुपातमा वित्तीय संरचना तयार गरिए पनि हालसम्म पूर्ण वित्तीय व्यवस्थापन हुन नसक्दा जोखिम बढेको हो।

जसका कारण केयर रेटिङ नेपालले कम्पनीको दीर्घकालीन बैंकिङ कर्जाको रेटिङ घटाएर ‘बीबी माइनस’ मा झारेको छ। रेटिङमा आएको यो गिरावटले परियोजनाको समयमै सञ्चालन र ऋण भुक्तानी क्षमतामा केही आशंका उब्जाएको छ । जसले गर्दा आगामी दिनमा थप पूँजी जुटाउन वा ब्याजदर व्यवस्थापनमा कम्पनीलाई चुनौती हुने रिपोर्टमा उल्लेख छ । 

कम्पनीले कुल १ अर्ब १४ करोड ६९ लाख रुपैयाँ बराबरको बैंकिङ कर्जा सुविधाका लागि रेटिङ गराएको छ। जसमा दीर्घकालिन कर्जाका लाग एक अर्ब १४ करोड १९ लाख र अल्पकालिन कर्जाका लागि ५० लाख रुपैयाँको कर्जा रेटिङ गराएको हो । 

ले ग्ल्यामर रिसोर्ट मे ७, २००९ मा स्थापना भएको एक निजी लिमिटेड कम्पनी हो । कम्पनीको नेतृत्व तासी गुरुङले गरिहेका छन् । उनी कैलाश ग्रुप नेपालका संस्थापक अध्यक्ष पनि हुन् । 

रिसोर्ट पोखराको सराङकोटस्थित मेथलाङ डाँडामा निर्माण भइरहेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १० किलोमिटर दूरीमा पर्छ । उक्त स्थानबाट हिमालय, फेवा ताल, सूर्योदय–सूर्यास्त लगायतका आकर्षक दृश्य अवलोकन गर्न सकिने भएकाले यसलाई विशेष पर्यटकीय गन्तव्य मानिन्छ।

थप समाचार