Below Menu
Below Menu

धनगढीमा ६८ करोड लगानीमा खाने तेल उद्योग आउँदै, दैनिक २०० टन प्रशोधन क्षमता

धनगढीमा ६८ करोड लगानीमा खाने तेल उद्योग आउँदै, दैनिक २०० टन प्रशोधन क्षमता

काठमाडौं : धनगढीमा निजी लगानीमा स्थापना हुन लागेको भागेश्वर रिफाइनरी आयल इन्डष्ट्रिज सञ्चालनको तयारीमा रहेको छ । सन् २०२४ मा स्थापना भएको यस उद्योगले दैनिक २०० टन प्रशोधन क्षमता भएको  रिफाइनरी प्लान्ट निर्माण गरिरहेको  छ । 

उद्योगले सोयाबिन, सूर्यमुखी तथा पामोलिन तेल उत्पादन गर्नेछ  । परियोजनाको कुल लागत ६८ करोड ६० लाख रुपैयाँ अनुमान गरिएको छ ।  जसमा  ७० प्रतिशत बैंक ऋण र ३० प्रतिशत संस्थापकको स्वपुँजी रहने योजना छ । 

सोअनुसार करिब ४८ करोड रुपैयाँ ऋण तथा २० करोड रुपैयाँ इक्विटी लगानी रहनेछ।  यद्यपि, कम्पनीले ऋण व्यवस्थापन प्रक्रिया अझै पूर्ण रूपमा टुंग्याउन सकेको छैन । हाल उद्योगको भौतिक पूर्वाधार निर्माण प्रारम्भिक चरणमै रहेको छ । उत्पादन कहिलेदेखि सुरु हुने भन्नेबारे उल्लेख गरिएको छैन । 

नेपालको खाद्य तेल उद्योग पछिल्ला वर्षहरूमा उल्लेख्य रूपमा विस्तार भएको छ । विशेषगरी भारतको भन्सार नीतिमा आएको परिवर्तन र साफ्टा अन्तर्गत प्राप्त सहुलियतका कारण नेपाली उद्योगहरूले कच्चा तेल आयात गरी प्रशोधन गरेर भारत निर्यात गर्ने अवसर पाएका छन्। 

जसका कारण अर्बौं रुपैयाँ बराबरको खाने तेल भारततर्फ निर्यात हुँदै आएको छ र यसको परिमाण क्रमशः बढ्दो छ । यसले खाद्य तेल प्रशोधन क्षेत्रमा निजी क्षेत्रको आकर्षण उल्लेख्य रूपमा बढाएको देखिन्छ।

यद्यपि, यस क्षेत्रको दीर्घकालीन स्थायित्व भने बाह्य कारकहरूसँग जोडिएको छ । भारतको भन्सार नीति, अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा हुने उतारचढाव, तथा समग्र आर्थिक अवस्था जस्ता पक्षहरूले उद्योगको नाफा र प्रतिस्पर्धात्मक क्षमतामा प्रत्यक्ष प्रभाव पार्ने उल्लेख छ । 

यसैबीच, केयर रेटिङ नेपालले कम्पनीका कुल एक अर्ब ८८ करोड रुपैयाँ बराबरको बैंकिङ सुविधाका लागि ‘बीबी माइनस’ दीर्घकालीन र ‘एफ फोर’ अल्पकालीन क्रेडिट रेटिङ प्रदान गरेको छ । उद्योग धनगढीस्थित उद्योग भारत–नेपाल सीमाबाट करिब १० किलोमिटर दूरीमा रहेको छ । 

कच्चा पदार्थ विभिन्न देशबाट आयात भई भारतीय बन्दरगाहमार्फत आउने भएकाले सीमासँग नजिक हुँदा ढुवानी लागतमा उल्लेख्य बचत हुने अपेक्षा गरिएको  छ। साथै, प्रशोधित तेल भारतमै निर्यात गर्न सकिने भएकाले व्यापार बढ्ने उल्लेख छ । 

कम्पनीका प्रवद्र्धक टेकबहादुर बोगटी रहेका छन् । उनी कृृषि, उत्पादन र व्यापार क्षेत्रमा दुई दशकभन्दा बढी अनुभव भएका व्यवसायी हुन्। उनले यसअघि भगेस्वर सुगर एण्ड केमिकल, भगेस्वर एग्रो इन्डस्ट्रिज तथा भगेस्वर फ्लोर मिलजस्ता उद्योगहरू सफलतापूर्वक सञ्चालन गरिसकेका छन्।   

नेपालमा खाने तेल दैनिक उपभोगको अत्यावश्यक वस्तु भएकाले यसको माग स्थिर रहँदै आएको छ । पछिल्ला वर्षहरूमा कच्चा सोयाबिन तेलको आयातमा भएको तीव्र वृद्धिले प्रशोधन उद्योगका लागि अवसर सिर्जना गरेको छ । 
 

Advertisment

थप समाचार