Below Menu
Below Menu

त्रिवेणी व्यापार कम्पनीले एकै वर्षमा गर्यो चार अर्ब बढीको कारोबार, ऋण तिर्ने क्षमतामा पनि सुधार

त्रिवेणी व्यापार कम्पनीले एकै वर्षमा गर्यो चार अर्ब बढीको कारोबार, ऋण तिर्ने क्षमतामा पनि सुधार

काठमाडौं : साङ्घाई बिजनेस ग्रुप प्रमोटर रहेको त्रिवेणी व्यापार कम्पनी प्रालिले सन् २०२५ मा ४ अर्ब २८ करोड ६० लाख रुपैयाँको कारोबार गरेको छ। यो अघिल्लो वर्षको तुलनामा २५.२१ प्रतिशत बढी हो। 

Sponsored Advertisement

कम्पनीले सन् २०२४ मा ३ अर्ब ४२ करोड ३० लाख रुपैयाँको कारोबार गरेको थियो भने सन् २०२३ मा ३ अर्ब ६७ करोड २० लाख रुपैयाँ कारोबार गरेको थियो।

सन् २०२१ देखि २०२५ सम्म कम्पनीको औसत वार्षिक कारोबार वृद्धिदर १२ प्रतिशत रहेको छ। कम्पनीले आफ्नो कारोबार वृद्धिसँगै सञ्चालन खर्च व्यवस्थापन र नगद प्रवाह सुदृढीकरण गर्दा व्यापारमा वृद्धि भएको बताएको छ।

चालु आर्थिक वर्षको पहिलो छ महिनामा कम्पनीले २ अर्ब १९ करोड २० लाख रुपैयाँको कारोबार गरिसकेको छ। यस अवधिमा पीबीईएलटीडी मार्जिन ८.७५ प्रतिशत र खुद नाफा मार्जिन ४.२१ प्रतिशत कायम भएको छ।

यद्यपि, सन् २०२५ मा कारोबार बढ्दा पनि सञ्चालन नाफा मार्जिनमा गिरावट आएको छ। कम्पनीको सञ्चालन नाफा मार्जिन सन् २०२३ मा ८.३७ प्रतिशत थियो, जुन सन् २०२४ मा ७.८७ प्रतिशतमा झरेको थियो र सन् २०२५ मा यस्तो मार्जिन घटेर ७.२२ प्रतिशतमा पुगेको छ। कम्पनीको खुद नाफा मार्जिन भने ३.१५ प्रतिशत रहेको छ।

कम्पनीको ऋण तिर्ने क्षमता पनि सुधार भएको छ। सन् २०२४ मा कुल ऋणको १.९५ गुणा क्षमता रहेको कम्पनीको सन् २०२५ मा यो २.२५ गुणा पुगेको छ।

कम्पनीले चालु पूँजी खर्चमा आधारित गतिविधिहरू सञ्चालन गर्दा पनि अन्य वित्तीय सूचकमा उल्लेखनीय सुधार देखिएको छैन। साथै, चीनबाट आयातित सामाग्रीको मूल्य डलरको भाउमा आधारित भएकाले विदेशी मुद्रा परिवर्तनले कम्पनीको आम्दानीमा प्रभाव पार्ने गरेको छ।

नेपालमा बैंक तथा वित्तीय संस्थाहरूले ब्याजदर बढाउँदै गएका कारण, सहज आर्थिक परिस्थितिमा पनि कम्पनीले धेरै ब्याज तिर्नुपरेको रिपोर्टमा उल्लेख छ । त्रिवेणी व्यापार कम्पनीले नेपालको बजारमा विभिन्न अन्तर्राष्ट्रिय ब्रान्डहरू सामसुङ, पानासोनिक र सानसुई लगायतका घरायशी प्रोडक्टहरु बिक्री गर्दै आएको छ।  

कम्पनीमा साङ्घाई बिजनेस ग्रुपको लगानी रहेको छ। दुई दशकदेखि टे«डिङ, म्यानुफ्याक्चरिङ, बैंकिङ र इन्सुरेन्स क्षेत्रमा सक्रिय रहेका सैलेश साङ्घाई कम्पनीका प्रबन्ध निर्देशक हुन्। नेपालभर कम्पनीका करिब २ हजार २९७ डिलरहरू रहेका छन् । जसले आगामी समयमा ‘यशुदा’ ब्रान्डलाई बजार विस्तार गर्न सहज बनाउने छ।

सन् २००८ मा स्थापना भएको कम्पनीले चीनबाट विभिन्न सामाग्री र उपकरणहरू निर्माण गरी नेपालमा आफ्नै ब्रान्ड ‘यशुदा’ अन्तर्गत बिक्री गर्दै आएको छ। 

कम्पनीले दीर्घकालीन र अल्पकालीन कर्जाका लागि क्रमशः ३ अर्ब २७ करोड रुपैयाँ बराबरको कर्जा रेटिङ गराएको छ। दीर्घकालीन कर्जा ४३ करोड ३१ लाखको लागि डबल बी प्लस रेटिङ प्राप्त भएको छ भने अल्पकालीन कर्जा २ अर्ब ८३ करोड ६८ लाखको लागि ए४ प्लस रेटिङ पाएको छ।

त्रिवेणी व्यापार कम्पनीले १२ ओईएम मार्फत ९० प्रकारका घरेलु उपकरणहरू आपूर्ति गर्दै आएको छ। कम्पनी सान्सुई, प्यानासोनिक लगायतका ब्रान्डका उत्पादनहरूको नेपालमा वितरणमा संलग्न छ। सान्सुई उत्पादनको लागि कम्पनी एक मात्र वितरक हो भने प्यानासोनिक उत्पादनका लागि दुई डिलरमध्ये एक हो।

कम्पनीको वितरण नेटवर्क नेपालका सबै सात प्रदेशमा रहेको छ भने प्रमुख बजार काठमाडौं रहेको छ। कम्पनीले रणनीतिक रूपमा आपूर्ति श्रृंखला सुधार गर्दै अधिकांश आयातहरू चीन, कोरिया, थाइल्याण्ड र भारतबाट ल्याउन थालेको छ। 
 

थप समाचार