Below Menu
Below Menu

व्यवसाय, नागरिक र सरकारी निकायलाई एउटै प्लेटफर्ममा जोड्दै ‘ग्लोबल डायरी’ सार्वजनिक

व्यवसाय, नागरिक र सरकारी निकायलाई एउटै प्लेटफर्ममा जोड्दै ‘ग्लोबल डायरी’ सार्वजनिक

काठमाडौं : नेपालमै विकास गरिएको ‘ग्लोबल डायरी’ एआई–सञ्चालित एकीकृत डिजिटल प्लेटफर्म सार्वजनिक भएको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा आम नागरिक, व्यवसायी र सरकारी निकायलाई एउटै विश्वसनीय डिजिटल इकोसिस्टममा जोड्ने उद्देश्यसहित नेपालमै निर्माण गरिएको ‘ग्लोबल डायरी’ औपचारिक रूपमा सार्वजनिक गरिएको हो ।

Sponsored Advertisement

ग्लोबल डायरीले प्रयोगकर्तालाई भेरिफाइड प्रोफाइल निर्माण, सेवा प्रदायक खोज, समीक्षा अवलोकन, रोजगारी र फ्रीलान्स अवसर प्राप्त गर्ने सुविधा दिने बताइएको छ। व्यवसायीहरूले यसमार्फत निःशुल्क डिजिटल उपस्थिती, प्रत्यक्ष ग्राहक पहुँच, किफायती प्रचार–प्रसार र बजारस्थलमा बिक्री सुविधा पाउनेछन्।

पूर्वनेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. विनोद आत्रेयले प्लेटफर्मले सामाजिक मिडियाका विशेषताहरू एकीकृत गर्दै नागरिक, व्यवसाय र सरकारी निकायलाई लाभ पुग्ने अवसर प्रदान गर्ने बताए।

ग्लोबल डायरीका अध्यक्ष शेखर अर्यालले भने, ‘आजको डिजिटल युगमा राष्ट्रिय गौरवको रूपमा विकास गरिएको यो प्लेटफर्म उपभोक्ता, व्यवसायी, मिडिया र सरकार सबैका लागि उपयोगी हुनेछ। यसले डिजिटल प्रविधिद्वारा देशलाई आर्थिक समृद्धितर्फ अघि बढाउनेछ।’

संस्थापक एवं प्रमुख कार्यकारी निर्देशक भगवानदास अग्रहरिले यो प्लेटफर्म केवल सामाजिक सञ्जाल, ई–कमर्स वा रोजगार पोर्टल मात्र नभई समग्र डिजिटल इकोसिस्टम भएको बताए। उनले भने, ‘प्लेटफर्मले प्रयोगकर्तालाई प्रमाणित सेवाहरू खोज्न, स्थानीय व्यवसाय पत्ता लगाउन, रोजगारी अवसर प्राप्त गर्न र नक्कली गतिविधि रोक्न मद्दत गर्नेछ।’

ग्लोबल डायरीले हाल करिब ३ लाख ५० हजार प्रयोगकर्तासँग आबद्ध रहेको दाबी गरेको छ। प्लेटफर्ममा एआई–आधारित सामग्री वर्गीकरण प्रणाली प्रयोग गरिएको छ, जसले संरचित र खोजयोग्य जानकारी प्रदान गर्नेछ।

सरकारी निकायहरू भेरिफाइड पेजमार्फत सूचना, प्रतिवेदन र कार्यक्रम प्रकाशन गर्न सक्नेछन्, जसले डिजिटल सुशासन, पारदर्शिता र नागरिक सहभागिता प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।

ग्लोबल डायरीको नेतृत्वमा शेखर अर्याल (अध्यक्ष), भगवान दास अग्रहरी (सह–संस्थापक एवं सीईओ), सन्देश उप्रेती (सह–संस्थापक एवं प्रमुख बजार व्यवस्थापक) र किरण कँडेल (सह–संस्थापक एवं सीओएम) रहेका छन्।

यो प्लेटफर्म नेपाली सन्दर्भअनुसार डिजाइन गरिएको, सस्तो, समावेशी, स्केलेबल र राष्ट्रिय डेटा सुरक्षा सुनिश्चित गर्ने विशेषताका साथ निर्माण गरिएको छ।

ग्लोबल डायरीले व्यवसाय, नागरिक र सरकारी निकायलाई एउटै डिजिटल संरचनामा जोड्दै नेपालको डिजिटल रूपान्तरण, स्थानीय व्यापार प्रवर्द्धन र रोजगारी सृजनामा योगदान पुर्याउने लक्ष्य राखेको छ।

थप समाचार