Below Menu
Below Menu

विदेशी विनिमय सञ्चिति ३२ खर्ब नाघ्यो, यस्तो छ देशको आर्थिक अवस्था 

विदेशी विनिमय सञ्चिति ३२ खर्ब नाघ्यो, यस्तो छ देशको आर्थिक अवस्था 

काठमाडौं : चालु आर्थिक वर्षको छ महिनामा कुल विदेशी विनिमय सञ्चिति ३२ खर्ब रुपैयाँ नाघेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको पुस मसान्तसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो ।

Sponsored Advertisement

गत असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २१.१ प्रतिशतले वृद्धि भई यस अवधिमा ३२ खर्ब ४२ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ । 

अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा पुस मसान्तमा १५.२ प्रतिशतले वृद्धि भई २२ अर्ब ४७ करोड पुगेको छ । 

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति गत असार मसान्तमा २४ खर्ब १४ अर्ब ६४ करोड रुपैयाँ रहेकोमा  पुस मसान्तमा १९.४ प्रतिशतले वृद्धि भई २८ खर्ब ८४ अर्ब ८ करोड पुगेको छ । 

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८२ असार मसान्तमा दुई खर्ब ६३ अर्ब ४ करोड रहेकोमा पुस मसान्तमा ३६.२ प्रतिशतले वद्धि भई तीन खर्ब ५८ अर्ब ३७ करोड कायम भएको छ । 

पुस मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.३ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०८२/८३ को छ महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २१.४ महिनाको वस्तु आयात र १८.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । 

पुस मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ५३.१ प्रतिशत, १५०.७ प्रतिशत र ४०.५ प्रतिशत रहेका छन् । गत असार मसान्तमा उक्त अनुपातहरू क्रमशः ४३.८ प्रतिशत, १२८.१ प्रतिशत र ३४.१ प्रतिशत रहेका थिए ।

यस्तो छ देशको आर्थिक अवस्था 

- वाार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति २.४२ प्रतिशत रहेको छ । 

- कुल विदेशी विनिमय सञ्चिति रु.३२४२ अर्ब ४५ करोड रहेको छ । अमेरिकी डलरमा उक्त सञ्चिति २२ अर्ब १७ करोड पुगेको छ । यस्तो सञ्चिति १८.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ । 

- चालु खाता रु.४२९ अर्ब ९१ करोड र शोधनान्तर रु.५०१ अर्ब २४ करोड बचतमा रहेको छ । 

- विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ३९.१ प्रतिशतले र अमेरिकी डलरमा ३२.३ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको पुस महिनाको विप्रेषण आप्रवाह रु. १९२ अर्ब ६२ करोड रहेको छ । 

- निर्यात ४३.८ प्रतिशतले र आयात १४.२ प्रतिशतले बढेको छ । 

- नेपाल सरकारको खर्च रु.६९० अर्ब २२ करोड र राजस्व परिचालन रु.५७७ अर्ब ४० करोड रहेको छ । 

- विस्तृत मुद्राप्रदाय ५.४ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १४.२ प्रतिशतले बढेको छ ।

- बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन ५.७ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जा ३.६ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १४.८ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ६.७ प्रतिशत रहेको छ ।

- बैंक तथा वित्तीय संस्थाहरूबीचको भारित औसत अन्तरबैंक दर २.७५ प्रतिशत र ९१– दिन अवधि भएको ट्रेजरी बिलको भारित औसत ब्याजदर २.३५ प्रतिशत रहेको छ ।

- वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ३.५६ प्रतिशत र कर्जाको भारित औसत व्याजदर ७.१२ प्रतिशत रहेको छ ।

थप समाचार