काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत २४ वटा जलविद्युत कम्पनीले शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेका छन्। ती कम्पनीहरूले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट नगद लाभांश तथा बोनस शेयर प्रदान गर्ने प्रस्ताव गरेका हुन् ।
लाभांश प्रस्ताव गर्ने कम्पनीहरूमध्ये साहस ऊर्जा, माउन्टेन इनर्जी र सेञ्चुरी इनर्जीले उच्च प्रतिफल घोषणा गरेका छन्। साहस ऊर्जाले २१ प्रतिशत बोनस शेयर र १.१०५३ प्रतिशत नगद गरी कुल २२.१०५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
त्यस्तै, माउन्टेन इनर्जीले बोनस तथा नगद गरी कुल २१.०५२६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ भने सेञ्चुरी इनर्जीले ३५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ। चिलिमे हाइड्रोपावरले १२ प्रतिशत, अप्पर हेवाखोला हाइड्रोपावरले १५.७८९ प्रतिशत र सिनर्जी पावरले १०.५२६३ प्रतिशत लाभांश प्रस्ताव गरेका छन्।
अन्य कम्पनीहरूमध्ये रु रु जलविद्युत परियोजना, मिड सोलु हाइड्रोपावर र सिक्लेस हाइड्रोपावरले समान रूपमा १५.७८९ प्रतिशत लाभांश दिने घोषणा गरेका छन्। कुशेली बुखरी स्मल हाइड्रोपावरले भने १०.५२३६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।
प्रस्तावित लाभांश विद्युत नियमन आयोगको स्वीकृति तथा सम्बन्धित कम्पनीको वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र शेयरधनीहरूमा वितरण हुनेछ। केही कम्पनीहरूले भने वार्षिक साधारणसभा सम्पन्न गरी लाभांश शेयरधनीको खातामा पठाइसकेका छन्।
उत्पादन स्थिरता, विद्युत बिक्रीमा वृद्धि र लागत व्यवस्थापनमा सुधारका कारण जलविद्युत कम्पनीहरूले शेयरधनीलाई आकर्षक प्रतिफल दिन सफल भएका छन्। जलविद्युत क्षेत्रमा बढ्दो लाभांश प्रवृत्तिले समग्र पूँजी बजारमा सकारात्मक संकेत दिएको छ ।