Below Menu
Below Menu

प्रतिमा सहकारी २७औँ वर्षमा, अध्यक्ष शर्माद्वारा सुशासन र सदस्यहितप्रति प्रतिबद्धता

प्रतिमा सहकारी २७औँ वर्षमा, अध्यक्ष शर्माद्वारा सुशासन र सदस्यहितप्रति प्रतिबद्धता

काठमाडौं : ललितपुरको थसिखेलमा केन्द्रीय कार्यालय रहेको प्रतिमा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड गौरवपूर्ण २६ वर्षको यात्रा सफलतापूर्वक पूरा गरी २७औँ वर्षमा प्रवेश गरेको छ। यस ऐतिहासिक अवसरमा संस्थाका अध्यक्ष कृष्णप्रसाद शर्माले सदस्यहरूको अतुलनीय विश्वास, निरन्तर सहयोग र सक्रिय सहकार्यप्रति आभार व्यक्त गरेका छन्।

अध्यक्ष शर्माले संस्थाको स्थापनाकालदेखिनै बचतको संस्कार विकास, आर्थिक आत्मनिर्भरता अभिवृद्धि तथा सदस्यहरूको जीवनस्तर उकास्ने उद्देश्यसहित अघि बढेको संस्था आज सदस्यकेन्द्रित, पारदर्शी, उत्तरदायी तथा विश्वासनीय सहकारी संस्थाको रूपमा स्थापित हुन सफल भएको बताएका छन्।

उनले यस सफलतामा सदस्यहरूको अटुट विश्वास, संस्थापकहरूको दूरदर्शिता, नेतृत्वको प्रतिबद्धता तथा कर्मचारीहरूको अथक समर्पणको महत्वपूर्ण योगदान रहेको उल्लेख गरेका छन्।

वर्तमान चुनौतीपूर्ण आर्थिक परिवेशमा समेत संस्थाले सदस्यहरूको हितलाई केन्द्रमा राख्दै वित्तीय अनुशासन, सुशासन, पारदर्शिता र उत्तरदायित्वलाई उच्च प्राथमिकताका साथ अगाडि बढाइरहेको अध्यक्ष शर्माको भनाइ छ। आगामी दिनमा पनि सदस्यहरूको बचत तथा लगानीको सुरक्षा, गुणस्तरीय सेवा प्रवाह र संस्थागत स्थायित्वलाई अझ सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।

प्रविधिको समुचित उपयोगमार्फत डिजिटल रूपान्तरणलाई प्रभावकारी बनाउँदै छिटो, सहज, सुरक्षित र विश्वासनीय सेवा प्रवाह गर्न संस्था निरन्तर अग्रसर रहने उनको भनाइ छ। साथै, सहकारिताका मूल्य, मान्यता र सिद्धान्तअनुसार सदस्यहरूको आर्थिक, सामाजिक तथा व्यावसायिक सशक्तीकरणका लागि शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, उद्यमशीलता विकास तथा सामुदायिक उत्थानका कार्यक्रमलाई थप विस्तार गरिने उनले बताएका छन्।

अध्यक्ष शर्माले सुशासन, पारदर्शिता, जवाफदेहिता, एकता, विश्वास, उत्कृष्टता र अनुशासनलाई संस्थाको मूल आधारका रूपमा स्थापित गर्दै सदस्यहरूको सहभागिता र मार्गनिर्देशनलाई उच्च सम्मान गर्दै संस्था सञ्चालन गरिने उल्लेख गरेका छन्। सदस्यहरूको अपेक्षा र विश्वासलाई सधैँ केन्द्रमा राखेर संस्था सञ्चालन गरिने उनको प्रतिबद्धता छ।

उनले भविष्यमा पनि उत्कृष्ट, विश्वासनीय, दिगो तथा नमुना सहकारी संस्थाका रूपमा स्थापित रहँदै सदस्यहरूको समृद्धि र सामाजिक रूपान्तरणको अभियानमा निरन्तर अग्रसर रहने दृढ संकल्प व्यक्त गरेका छन्।

यस्तो छ संस्थाको वित्तीय अवस्था
२०८३ जेठ मसान्तसम्म संस्थाको शेयर पूँजी ६ करोड ८ लाख ४८ हजार ५०० रुपैयाँ पुगेको छ।

संस्थाको जगेडा तथा अन्य कोष ५ करोड ६२ लाख ६९ हजार १६२ रुपैयाँ २८ पैसा रहेको छ भने बचत निक्षेप ५४ करोड ८४ लाख २४ हजार ३८५ रुपैयाँ ९१ पैसा पुगेको छ। त्यसैगरी, कर्जा लगानी ५२ करोड ९ लाख ६६ हजार ५०९ रुपैयाँ ६५ पैसा रहेको संस्थाले जनाएको छ।

संस्थाका अनुसार हाल ९ वटा सदस्य सेवा केन्द्र सञ्चालनमा रहेका छन्। संस्थामा १२ हजार ७०६ जना शेयर सदस्य तथा एक हजार ४४८ जना ऋणी सदस्य रहेका छन्। संस्थामा ४१ जना कर्मचारी कार्यरत छन्।

संस्थाको कार्यक्षेत्र ललितपुर, काठमाडौं, भक्तपुर, काभ्रेपलाञ्चोक, धादिङ, मकवानपुर र चितवन जिल्ला रहेको छ।

Advertisment

थप समाचार