एजेन्सी : अमेरिकामा आजदेखि १२ मुलुकका नागरिकहरूलाई यात्रामा पूर्ण प्रतिबन्ध लागू हुँदैछ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जुन ४ मा जारी गरेको आदेश आज जुन ९ देखि कार्यान्वयनमा आउन लागेको हो ।
यसअघि घोषणा गरिएको १२ देशबाहेक थप ७ देशका नागरिकहरूमाथि आंशिक यात्रा प्रतिबन्ध पनि लागू हुनेछ । यो रोक आप्रवासन र गैर-आप्रवासन (नन-इमिग्रेशन) दुवै प्रकारका भिसामा लागू हुनेछ ।
राष्ट्रपति ट्रम्पले घोषणा गरेको नयाँ यात्रा प्रतिबन्धअन्तर्गत अफगानिस्तान, म्यानमार (बर्मा), चाड, कंगो गणराज्य, इक्वेटोरियल गिनी, इरिट्रिया, हाइटी, इरान, लिबिया, सोमालिया, सुडान र यमन रहेका छन् ।
त्यस्तै, आंशिक प्रतिबन्ध लागेका देशहरुमा बुरुन्डी, क्युबा, लाओस, सिएरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएला रहेका छन् । पूर्ण प्रतिबन्ध लागू भएका देशका अधिकांश नागरिकहरूको अमेरिका प्रवेश पूर्ण रूपमा निषेध हुन्छ। यसमा पर्यटक भिसा, विद्यार्थी भिसा, काम गर्ने भिसा र आप्रवासन भिसा लिनेहरू सबै समावेश हुन्छन् । आंशिक प्रतिबन्ध लागू भएका देशका नागरिकहरूलाई केही विशेष प्रकारका भिसा वा प्रवेशमा मात्र रोक लगाइन्छ ।
जस्तै, इमिग्रेशन भिसा नदिइए पनि पर्यटक भिसा प्राप्त गर्न सकिन्छ । विद्यार्थीलाई अनुमति दिइन्छ, तर वर्क पर्मिटसहितको भिसामा रोक लाग्न सक्छ।
Advertisment