Below Menu
Below Menu

ईसीबीले ब्याजदर घटाउने क्रमलाई निरन्तरता दिने लेगार्डको भनाइ

ईसीबीले ब्याजदर घटाउने क्रमलाई निरन्तरता दिने लेगार्डको भनाइ

जर्मनी : युरोपेली केन्द्रीय बैङ्कका अध्यक्ष क्रिस्टीन लेगार्डले सोमबार युरोक्षेत्रका नीति निर्माताहरूले मुद्रास्फीति ईसीबीको दुई प्रतिशतको लक्ष्यतर्फ निरन्तर झरेमा ब्याज दरमा थप कटौती गर्ने बताएका छन् ।

बैङ्क अफ लिथुआनियामा आयोजित एक सम्बोधनमा लेगार्डले भने, “यदि आउने तथ्याङ्कले हाम्रो आधार रेखालाई पुष्टि गर्ने क्रमलाई जारी राख्छ भने, यात्राको दिशा स्पष्ट छ र हामी ब्याज दरलाई अझ कम गर्ने अपेक्षा गर्दछौँ ।”

मुद्रास्फीति नियन्त्रणमा आउने र युरोक्षेत्रको अर्थतन्त्रकमजोर हुने सङ्केत देखिएपछि ईसीबीले गत साता फेरि ब्याजदर कटौती गरेको थियो । यो त्रैमासिक कदम फ्रैङ्कफर्टस्थित केन्द्रीय बैङ्कको लगातार तेस्रो कटौती हो र जून पछि यसको चौथो कटौती हो।

मुद्रास्फीतिमा देखिएको सहजता चक्रले ईसीबीको प्रमुख निक्षेप दरलाई चार प्रतिशतको सर्वकालिक उच्च अङ्कबाट तीन प्रतिशतमा झारेको छ।

“केन्द्रीय बैङ्कको अडान ‘प्रतिबन्धात्मक’ रहेको छ”, लेगार्डले भने, “यसले मुद्रास्फीतिलाई कम गर्ने ईसीबीको मुख्य लक्ष्यलाई पूरा गर्न यूरोजोनमा व्यावसायिक गतिविधिमा ‘ब्रेक’को रूपमा काम गर्नेछ ।

बैङ्कले उपभोक्ताको मूल्यको चाप कम हुँदै गएपछि मौद्रिक नीतिलाई खुकुलो बनाउँदै आफ्नो सन्देशलाई नरम बनाउँदै लगेको छ । “हामी दुई प्रतिशत मुद्रास्फीतिको हाम्रो लक्ष्य प्राप्त गर्ने दिशानजिक छौँ, यद्यपि हामी अझै त्यहाँ पुगिसकेका छैनौँ,” लेगार्डले भने । 

सन् २०२२ को अन्त्यमा १० प्रतिशतभन्दा माथि पुगेको युरो क्षेत्रको मुद्रास्फीति नोभेम्बरमा २।३ प्रतिशत रहेको थियो । गत साता प्रकाशित नयाँ आर्थिक प्रक्षेपणमा ईसीबीले सन् २०२५ मा मुद्रास्फीति दर २।१ प्रतिशत र सन् २०२६ मा १।९ प्रतिशतमा झर्ने अनुमान गरेको छ ।

यदि संयुक्त राज्य अमेरिकाले नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा व्यापारमा संरक्षणवादी अभियान चलायो भने युरो क्षेत्रको वृद्धिमा असर पर्ने सम्भावना छ। भूराजनीतिक तनावमा वृद्धिले निकट भविष्यमा ऊर्जाको मूल्य र सामानको लागतलाई उच्च बनाउन सक्छ ।

Advertisment