Below Menu
Below Menu

नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी ५४औं वर्षमा, यस्ता छन् आगामी नीति तथा कार्यक्रम

नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी ५४औं वर्षमा, यस्ता छन् आगामी नीति तथा कार्यक्रम

काठमाडौं : नेपाल सरकारको पूर्ण स्वामित्व रहेको नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड स्थापनाको ५४औं वर्षमा प्रवेश गरेको छ ।

नेपालबाट समुद्रपारका मुलुकहरुमा निकासी हुने तथा ती मुलुकहरुबाट पैठारी हुने सामानहरुको निमित्त पारवहन सम्बन्धी सेवा सुविधाहरु प्रदान गर्ने उद्देश्यले २०२८ भाद्र ३० गते कम्पनीको स्थापना भएको थियो ।

भारतको कम्पनी ऐन, १९५६ अन्तर्गत विदेशी कम्पनीको रुपमा भारतमा समेत दर्ता भइ निरन्तर सेवा प्रवाह गर्दै आएको यस कम्पनीको केन्द्रीय कार्यालय, शाखा र उपशाखा गरी ८ वटा कार्यालयमार्फत सेवा प्रवाह गरिरहेको छ ।

आयात/निर्यात व्यापारमा सुविधा उपलव्ध गराई नेपालको अर्थ व्यवस्थाको विकासमा टेवा दिने, आयात÷निर्यात व्यापारमा पारवहन सम्वन्धि सुविधाहरुमा वृद्धि र खर्चमा स्थिरता ल्याउने किसिमसंग आफ्नो कारोवार संचालन गर्ने, सरकारी र गैर सरकारी जुनसुकै ग्राहकहरुलाई आवश्यक सुविधा तथा सेवा उपलव्ध गराउने उद्देश्यले यस कम्पनीको स्थापना गरिएको थियो ।

त्यस्तै आधिकारीक निकायको स्विकृति र सहमतिले प्रचलित कानूनको अधिनमा रही आयात/निर्यात व्यापारको लागि सुविधाजनक गोदाम घर (CFS/ICD/ICP) पूर्ण रुपमा वा आंशिक रुपमा संचालन गर्ने र नेपालको सामान राख्ने गोदाम घर वा क्षेत्रबाट नेपालको लागि हुने वा नेपालबाट निर्यात हुने मालसामानको पारवहनमा सुविधा एवं सेवा उपलव्ध गराउने गरी कम्पनीको स्थापना भएको थियो । 

स्थापनाको ५४औं वर्षमा आईपुग्दा कम्पनीको संचालन, व्यवस्थापन र कार्य सम्पादनलाई सहज र प्रभावकारी बनाउने यात्रामा निरन्तर सहयोग, समन्वय र सहकार्य गर्ने निकायहरुप्रति अध्यक्ष छपिराज पन्तले हार्दिक आभार व्यक्त गरेका छन् । आगामी दिनमा कम्पनीले नेपालको आयात निर्यात व्यापार, गोदाम संचालन एवं पारवहन सहजीकरणको क्षेत्रमा अझै विशिष्ट र परिष्कृत भूमिका खेल्ने प्रतिवद्धता जनाएका छन् । कम्पनीलाई थप गतिशील र विस्तारित बनाउन सम्पूर्ण सरोकारवालाहरुको रचनात्मक सहयोग र सहकार्यको अपेक्षा अध्यक्ष पन्तले गरेका छन् ।

काठमाडौंको बालुवाटारमा प्रधान कार्यालय रहेको कम्पनीको कोलकाता, काँकडभिट्टा, बीरगञ्ज शाखा, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा शाखा कार्यालय रहेको छ । त्यस्तै हल्दिया र राधीकापुरमा उपशाखा रहेको छ ।

कम्पनीले यी कार्यालयमार्फत कम्पनीले क्लियरिङ्ग (भन्सार दस्तावेजीकरश, शुल्क र कर गणना र भन्सार क्लियरेन्स), फारवार्डिङ्ग (यातायातको समन्वय, यातायातको दस्तावेजीकरण, कार्गो ह्यान्डलिङ र गोदाम) र अन्डरटेकिङ्ग सेवा प्रदान गर्दै आएको कम्पनीका महाप्रबन्धक प्रकाश प्रसाद पोखरेलले जानकारी दिए ।

आर्थिक वर्ष २०७९/८० मा कम्पनीले ३० करोड २२ लाख आम्दानी गरी २६ करोड ११ लाख खर्च गरेको छ । कम्पनीले यस आ.वमा ४ करोड ११ लाख खुद नाफा आर्जन गरेको छ । कम्पनीसँग ५४ करोड ३८ लाख रुपैयाँ सञ्चित नाफा रहेको महाप्रबन्धक पोखरेलले जानकारी दिए ।

कम्पनीमा अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र महालेखा नियन्त्रक कार्यालयको प्रति कित्ता एक हजारको दरले १२ हजार २ सय ४३ थान सेयर रहेको छ ।

कम्पनीले चालू आर्थिक वर्ष २०८१/८२ मा थप सेवाक्षेत्र विस्तार गर्ने वार्षिक नीति तथा कार्यक्रमहरु निमार्ण गरेको छ । कम्पनीले भारतको कोलकाता/हल्दिया र बीरगंज/रक्सौलमा दीर्घकालीन लिजमा लिएका जमिनको व्यवसायिक प्रयोग गर्न आवश्यक पूर्वाधार निर्माणमा जोड दिँदै सञ्चालन तथा व्यवस्थापन साझेदारी सम्बन्धी कार्यविधिगत प्रबन्ध गरिने जनाएको छ ।

कम्पनीले परम्परागत रुपमा सञ्चालन गरिरहेका व्यापार सहजीकरणसँग सम्बन्धित लजिस्टिक सेवाहरुको प्रकृतिमा आएको परिवर्तनलाई आत्मसात गर्दै नयाँ व्यवसायिक अवसरहरुको खोजिका लागि आवश्यक अध्ययन र परामर्श गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । त्यसैगरी पारवहन लजिस्टिकमा कम्पनीको भूमिका बढाउन सम्बद्ध पक्षहरुसँग औपचारिक साझेदारीका सम्भावनाहरु खोजी गर्दै बजारीकरण रMarket Intelligence मा जोड दिईने जनाएको छ ।

पारवहन ढुवानी र लजिस्टिक व्यवस्थापनका क्षेत्रमा निरन्तर भैरहेका प्राविधिक विकास, प्रकियागत परिवर्तन र द्विपक्षीय तथा क्षेत्रीय सम्झौताले कम्पनीको कार्यक्षेत्रको दायरामा पार्न सक्ने जोखिमको पूर्व आकलन गरी तदनुसार कम्पनीका नीति तथा कार्यक्रम अनुकूलन गर्ने अभ्यासको शुरुवात गरिने कम्पनीका अध्यक्ष पन्तले बताए ।

Advertisment