काठमाडौं : सामाजिक सुरक्षा कोषले योगदानकर्तालाई हालसम्म सात अर्ब बढी दावी भुक्तानी गरेको छ । कोषले योगदानकर्तालाई विभिन्न सुविधाको शीर्षकमा हालसम्म सात अर्ब १६ करोड रुपैयाँ दावी भुक्तानी गरेको हो ।
कोषले योगदानकर्ताहरुलाई औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजना, दुर्घटना तथा अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा योजना र वृद्ध अवस्था सुरक्षा योजना गरि चार वटा सुविधा उपलब्ध गराउँदै आएको छ । हालसम्म कोषमा ४७ अर्ब ९१ करोड रुपैयाँ योगदान रकम संकलन भएको छ ।
यस अवधिमा सबैभन्दा धेरै वृद्ध अवस्था सुरक्षा योजनामा दावी भुक्तानी गरेको कोषले जनाएको छ । वृद्ध अवस्था सुरक्षा योजनामा कोषले ६ अर्ब १० करोड ५८ लाख ७३ हजार दावी भुक्तानी दिएको छ ।
उक्त योजनामा ४० अर्ब ३ करोड ५० लाख ७८ हजार रुपैयाँ योगदान रकम संकलन भएको छ । वृद्ध अवस्था सुरक्षा योजना मार्फत माघ ४ गतेसम्म ७० हजार १३५ वटा दावी भुक्तानी गरिएको कोषले जनाएको छ ।
यस्तै, औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजना मार्फत ८४ करोड ३३ लाख १० हजार रुपैयाँ दावी भुक्तानी भुक्तानी भएको छ । कोषका अनुसार यस योजनामा दावी गर्नेको संख्या ५० हजार ६७५ रहेको छ भने एक लाख ६६ हजार ९८ पटक भुक्तानी गरिएको कोषले जनाएको छ । उक्त योजनामा एक अर्ब ३८ करोड ९ लाख ६३ हजार रुपैयाँ योगदान रकम संकलन भएको छ ।
त्यसैगरि दुर्घटना तथा अशक्तता सुरक्षा योजना अन्तर्गत ९ करोड ७२ लाख १२ हजार रुपैयाँ र आश्रित परिवार सुरक्षा योजना मार्फत भने ११ करोड ६४ लाख ४६ हजार रुपैयाँ दावी भुक्तानी भएको छ । यी दुई योजनामा दुई अर्ब ७३ करोड ५ लाख १५ हजार रुपैयाँ योगदान रकम संकलन भएको कोषले जनाएको छ ।
यस अवधिमा कोषले अतिरिक्त योगदान मार्फत ८६ करोड ९ लाख ६९ हजार रुपैयाँ र प्रतिफल अन्तर्गत २ अर्ब ९१ करोड ८ लाख ३६ हजार रुपैयाँ योगदान रकम संकलन गरेको छ ।
थपिँदै रोजगारदाता
हालसम्म कोषमा दश लाख बढी श्रमिक आवद्ध भएका छन् । कोषमा १० लाख ६२ हजार ४२२ योगदान कर्ताए रहेका छन् भने सूचीकृत रोजगार दाताको संख्या १८ हजार ५९७ रहेको छ ।
कोषका अनुसार सबैभन्दा धेरै बागमती प्रदेशबाट ३ लाख ६२ हजार ६१० योगदानकर्ता सूचीकृत भएका छन् । कोशी प्रदेशबाट ४८ हजार १४, मधेशबाट २४ हजार ९८, गण्डकीबाट १८ हजार २४४, लुम्बिनीबाट १६ हजार ४०७, कर्णालीबाट एक हजार ६११ र सुदुरपश्चिमबाट १ हजार ९३० योगदानकर्ता सूचीकृत भएका हुन् ।
कोषमा आवद्ध हुने रोजगारदाताको संख्या १८ हजार ५९७ पुगेको छ । जसमध्ये बागमती प्रदेशबाट १२ हजार ८३५, कोशीबाट एक हजार ९४६, मधेशबाट ८८२, गण्डकीबाट ८६६, लुम्बिनीबाट १ हजार ५३७, कर्णाली प्रदेशबाट २५६ र सुदपश्चिमबाट २ठ५ रोजगारदाता आवद्ध भएका हुन् ।
Advertisment