काठमाडौं : आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७९÷८० को बीमाङकीय मूल्यांकन अनुसार मुनाफामा सरिक हुने सम्पूर्ण बीमालेखको बोनसदर सार्वजनिक गरेको हो । कम्पनीले उक्त बोनसदर नेपाल बीमा प्राधिकरणबाट स्वीकृत गरेको हो ।
कम्पनीले सार्वजनिक गरेको नयाँ बोनसदर अनुसार बीमितहरुले न्युनतम प्रतिहजार २२ रुपैयाँदेखि अधिकतम प्रतिहजार ८० रुपैयाँसम्म बोनसदर पाउनेछन् । नयाँ बोनसदर अनुसार सावधिक ,बाल सवधिक तथा सामुहिक सावधिक जीवन बीमा योजनामा प्रतिहजार न्युनतम ३२ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।
त्यस्तै, सावधिक तथा आजिवन जीवन बीमा योजनामा प्रतिहजार ३२ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँ बोनसदर कायम गरेको छ । कम्पनीका अनुसार अग्रिम भुक्तानी तथा आजिवन अन्तर्गतको योजनामा प्रतिहजार ३२ रुपैयाँदेखि अधिकतम ६३ रुपैयाँ बोनसदर कायम गरेको छ ।
कम्पनीले अग्रिम भुक्तानी सावधिक प्लस योजनामा न्युनतम प्रतिहजार ३० रुपैयाँदेखि अधिकतम ६३ रुपैयाँसम्म रुपैयाँ बोनसदर कायम गरेको छ । त्यस्तै, नयाँ बोनसदरमा बाल अग्रिम भुक्तानी सावधिक योजनामा न्युनतम प्रतिहजार ३० रुपैयाँदेखि अधिकतम ६५ रुपैयाँसम्म कायम गरेको छ ।
त्यसैगरी बाल वार्षिक अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख (बाल किरण) योजनामा न्युनतम प्रतिहजार ३० रुपैयाँदेखि ६० रुपैयाँसम्म, वार्षिक अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख (धन सरिता) योजनामा सम्पूर्ण बीमा अवधिका लागि प्रतिहजार २२ रुपैयाँसम्म नयाँ बोनसदर कायम गरेको कम्पनीले जनाएको छ ।
साथै, उक्त बोनसदर अर्को बीमाङकीय मूल्यांकन अनुसार बीमा समितिबाट अर्को व्यवस्था गर्न स्वीकृति नभएसम्म उल्लेखित दावीहरुमा समेत सोही बोनसदर लागु हुनेछ ।
उक्त बोनसदर मृत्यु दावी भुक्तानी, पूर्ण वा आंशिक अवधि दावी भुक्तानी, समर्पण मूल्य दावी भुक्तानी, चुुक्ता मूल्य दावी भुक्तानी तथा चालु बीमालेखहरुमा कायम हुने कम्पनीले जनाएको छ ।
Advertisment