काठमाडौं : सरकारले भूकम्पबाट प्रभावित जिल्लाहरूका लागि प्रधानमन्त्री दैविक सहायता कोषमा मौज्दात रहेको रकममध्येबाट विपद् व्यवस्थापन कोषमा २ अर्ब रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिएकी हुन् ।
यसका साथै बैठकले विश्व बैंकबाट प्राप्त हुने प्रस्तावित १०० मिलियन डलर बराबरको सहुलियतपूर्ण ऋण सहायता सम्बन्धी सम्झौता र कार्यक्रम सम्बन्धी दस्ताबेजलाई अन्तिम रूप दिन बैंकसँग वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने र वार्ता गर्न अख्तियारी दिने निर्णय गरेको छ ।
सरकारले सशस्त्र प्रहरी बल नेपालको श्रेणिविहीन पदमा स्तर वृद्धि कायम भएका श्रेणिविहीन प्रथम, द्वितीय र तृतीय, चतुर्थ र पाँचौँ स्तरको सुरु तलबमान ग्रेड सङ्ख्या ग्रेड दर स्वीकृत गर्ने, भारतको गुजरातमा हुने दसौँ भाइब्रेट गुजरात ग्लोबल समिट २०२४ मा भाग लिन पुस २४ देखि २७ सम्म अर्थमन्त्रीलाई भाग लिन स्वीकृत दिने निर्णय पनि गरेको छ ।
त्यस्तै २०८० पुस २७ र २८ मा काठमाडौँमा हुने नेपाल—भारत वाणिज्य सहसचिव स्तरीय अन्तर सरकारी उपसमितिको बैठकका लागि सहसचिवको नेतृत्वमा वार्ता टोली र कार्यसूची स्वीकृत गर्ने निर्णय गरेको छ । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिम बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको कार्यविधि २०८१ साल असार मसान्तसम्म थप गरेको छ ।
साथै बैंठकले डेडिकेटेड र ट्रङ्क लाइनको महसुलका बारेमा उठेका समस्याहरूका सम्बन्धमा छानबिन गरी प्रतिवेदन पेस गर्न सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरिशचन्द्र लालको नेतृत्वमा उद्योग र ऊर्जा मन्त्रालयका सचिव रहेको तीन सदस्य समिति गठन गर्ने । समितिले प्रतिवेदन पेस गरी निर्णय नहुन्जेलसम्मको लागि हाललाई उद्योगीहरूको काटिएको विद्युत् लाइन जोड्न निर्देशन दिने निर्णय गरेको छ ।
त्यसैगरी एनसेलको शेयर खरिद बिक्री भएको भनिएको सम्बन्धमा अध्ययन तथा छानबिन गर्न नेपाल सरकार मन्त्रिपरिषद्को २०८०/८/२१ को निर्णयअनुसार गठित समितिको कार्यविधि माघ १५ गतेसम्म थप गर्ने बैठकले निर्णय गरेको छ ।
मन्त्रिपरिषद् बैठकका निर्णयहरू



Advertisment