Below Menu
Below Menu

सम्पत्ति र मोटर बीमाको हिस्सा ५८.७१ प्रतिशत, बढ्दै हवाई बीमाको व्यापार

सम्पत्ति र मोटर बीमाको हिस्सा ५८.७१ प्रतिशत, बढ्दै हवाई बीमाको व्यापार

काठमाडौं : निर्जीवन बीमा व्यवसायमा मोटर बीमा र सम्पत्ति बीमाको हिस्सा बढ्दै गएको देखिएको छ । सरकारले मोटर बीमा र सम्पत्ति बीमालाई अनिवार्य गरेसँगै पछिल्लो समय मोटर बीमाको हिस्सा उच्च देखिएको प्राधिकरणको तथ्यांकले देखाउँछ । 

यसका साथै पछिल्लो समय हवाई बीमाको व्यवसाय पनि बढ्दै गएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ । मोटर किन्दा र नवीकरण गर्दा अनिवार्य मोटर बीमा गर्नुपर्ने प्रावधान छ । त्यस्तै बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर घर खरिद गर्दा पनि अनिवार्य बीमा गर्नुपर्ने व्यवस्था गरिएको छ ।

निर्जीवन बीमा कम्पनीहरुले बिक्री गर्ने विभिन्न बीमालेख मध्ये मोटर र सम्पत्ति बीमाको हिस्सा ५८ प्रतिशतभन्दा पनि बढि रहेको देखिएको छ । बीमा प्राधिकरणले सार्वजनिक गरेको मंसिर मसान्तसम्मको तथ्यांक अनुसार यी दुई बीमालेखको हिस्सा ५८.७१ प्रतिशत रहेको छ । 

हाल संचालनमा रहेका १४ वटा निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म ११ लाख ७२ हजार ४४७  बीमालेख जारी गरी १५ अर्ब ७४ करोड ८९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । 

कम्पनीहरुले सात प्रदेशमा सम्पत्ति, सामुन्द्रिक, हवाई, मोटर, इन्जिनियर तथा ठेक्का, विविध, कृषि तथा बाली र लघु बीमालेख जारी गरी उक्त बीमाशुल्क आर्जन गरेका हुन् ।

आर्जित कुल रकममध्ये निर्जीवन कम्पनीहरुले मोटर बीमा व्यवसायबाट सबैभन्दा धेरै बीमा शुल्क संकलन गरेका छन् । यो अवधिमा मोटर बीमाबाट ५ अर्ब ३१ करोड २६ लाख रुपैयाँ प्रिमियम संकलन गरेका कम्पनीले सम्पत्ति बीमाबाट तीन अर्ब ९३ करोड ३१ लाख रुपैयाँ संकलन गरेका छन् ।

यता, हवाई बीमाको व्यवसाय पनि बढ्दै गएको देखिन्छ । मंसिर मसान्तसम्म ९९ करोड ९२ लाख रूपैयाँको मात्र हवाई बीमा भएको देखिन्छ । जुन कुल बीमा शुल्कको ६.३४ प्रतिशत रहेको छ । यसअवधिमा कम्पनीहरुले ५० वटा हवाई बीमालेख जारी गरेका छन् ।

त्यस्तै, कम्पनीहरुले सामुन्द्रिक बीमाबाट कम्पनीहरुले ४७ करोड ४४ लाख बीमा शुल्क आर्जन गरेका छन् । त्यसैगरी, इन्जिनियरिङ्ग तथा ठेक्काबाट १९ करोड ६५ लाख, कृषि तथा बाली बीमाबाट ७९ करोड ३५ लाख, विविध बीमाबाट एक अर्ब ८३ करोड ३१ लाख र लघु बीमाबाट ती करोड ६४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।  

६५ प्रतिशत व्यवसाय बाग्मतीमा

निर्जीवन बीमा कम्पनीहरूको व्यवसाय बाग्मती प्रदेशमा मात्रै केन्द्रित रहेको तथ्यांकले देखाएको छ । तथ्यांकअनुसार निर्जीवन बीमा कम्पनीहरूको कुल व्यवसायको ६५.१९ प्रतिशत हिस्सा बाग्मती प्रदेशमा रहेको छ ।

बीमा कम्पनीहरुले चालु आवको मंसिर मसान्तसम्म बागमती प्रदेशमा सम्पत्ति, सामुन्द्रिक, हवाई, मोटर, इन्जिनियरिङ तथा ठेक्का, विवधि, कृतिा तथा बाली र लघुबीमाको ५ लाख ३० हजार ७३३ बीमालेख बिक्री गरी बाट १० अर्ब २६ करोड ७९ लाख बीमाशुल्क संकलन गरेका छन् । 

यसैगरी, कोशी प्रदेशमा एक लाख ४४ हजार २६८ बीमालेख बिक्री गरी एक अर्ब ४० करोड ८० लाख रुपैयाँ बराबरको व्यवसाय गरेका छन् भने मधेश प्रदेशमा कम्पनीहरुले एक अर्ब ८ करोड ४७ लाख रुपैयाँ बराबरको एक लाख ९ हजार १९९ बीमालृख जारी गरेका छन् ।

त्यसैगरी गण्डकी प्रदेशमा चालु आवको मंसिर मसान्तसम्म कम्पनीहरुले एक लाख २१ हजार ६८ बीमालेख जारी गरी ९१ करोड ४९ लाख रुपैयाँ बराबरको व्यवसाय गरेका छन् भने लुम्बिनी प्रदेशमा एक अर्ब ५० करोड ४१ लाख रुपैयाँ बराबरको एक लाख ८७ हजार ४९४ बीमालेख बिक्री गरेका छन् ।

प्राधिकरणका अनुसार कर्णाली प्रदेशमा बीमा कम्पनीले अत्यन्तै कम अर्थात १५ करोड ६ लाख रुपैयाँको बीमा व्यवसाय गरेका छन् । जुन कुल बीमा शुल्कको शुन्य दशमलव ९५ प्रतिशत हुन आउँछ । यो अवधिमा यस प्रदेशमा १८ हजार ३९७ बीमालेख जारी भएका छन् ।

त्यस्तै सुदुरपश्चिम प्रदेशमा कम्पनीहरुले ट१ हजार २८८ बीमालेख जारी गरी ४१ करोड ८४ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।
 

Advertisment

थप समाचार