काठमाडौं : नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतको बक्यौता नतिर्ने थप उद्योगको लाइन काट्ने बताएका छन् ।
बिहिबार डेडिकेटेड तथा ट्रंकलाइन विवादबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता नतिर्ने सबै उद्योगहरुको लाइन क्रमश काट्दै जाने बताए ।
यसका साथै उनले मंसिर २०८० सम्म डेडिकेटेड तथा ट्रंक लाइनबाट उपभोग गरेको ६१ वटा उपभोक्ताको २२ अर्ब २४ करोड बक्यौता रहेको जानकारी दिए । बक्यौता रहेका अन्य उद्योगहरुको लाइन क्रमशः विच्छेद गर्दै जाने रणनीतिमा प्राधिकरण रहेको उनले बताए ।
आम सर्वसाधारण उपभोक्ताले बिगतमा दैनिक रुपमा १७/१८ घण्टासम्मको लोडसेडिङ ब्यहोरिरहेको बेला २३९ औद्योगिक, व्यापारिक र गैर व्यापारिक ग्राहकले डेडिकेटेड फिडर तथा ट्रंक लाइनमार्फत २० घण्टाभन्दा बढी उपभोग गरिरहेका थिए । २३९ ग्राहकमध्ये १७८ उपभोक्ताले डेडिकेटेड तथा ट्रंक लाइन वापतको प्रिमियमसहितको विद्युत महसुल समयमै प्राधिकरणलाई भुक्तानी गरिसकेका छन् ।
हालसम्म लाइन काटिएका ९ वटा उद्योगको १२ अर्ब ५० करोड रुपैयाँ बक्यौता रहेको उनले बताए । यसका साथै उनले डेडेकेटेड र ट्रंक लाइनको विषयमा आफूले कुनै तथ्यांक नलुकाएको भन्दै सबै तथ्यांक उपलब्ध गराउन प्राधिकरण तयार रहेको बताए ।
पटक–पटकको ताकेतामा पनि छुट महसुल तिर्न नआएपछि प्राधिकरणले २०७६ चैत्र ५ गते विराटनगरबाट केही उद्योगहरुको विद्युत लाइन बिच्छेद गर्न सुरु गरिएको थियो ।
तर, तत्कालीन मन्त्रिपरिषद्को २०७६ पौष २१ गतेको निर्णय बमोजिम ऊर्जा, जलस्रोत तथा सिँचाइ, अर्थ, उद्योग मन्त्री र सोही मन्त्रालयका सचिवहरुक बैठकले कोरोना भाइरसको कारण समग्र उद्योग व्यवसायमा परेको प्रभावलाई समेत ध्यानमा राखी डेडिकेटेड तथा ट्रक महसुलसम्बन्धी विवाद भएका उद्योगहरुको सम्बन्धमा थप निर्णय नहुञ्जेल विद्युत लाइन नकाट् र उद्योगहरुलाई साबिक बमोजिम नै सेवा सुचारु गराउन नेपाल विद्युत प्राधिकरणलाई लेखी पठाउने भन् निर्णय प्राप्त भएपछि लाइन पुनः जोडिएको थियो ।
Advertisment