Below Menu
Below Menu

नेप्सेमा थपियो ४२ अर्ब ४८ करोडको शेयर, जलविद्युत्को हिस्सा १२.६ प्रतिशत

नेप्सेमा थपियो ४२ अर्ब ४८ करोडको शेयर, जलविद्युत्को हिस्सा १२.६ प्रतिशत

काठमाडौं : चालु आर्थिक वर्षको चार महिनामा ४२ अर्बबढीको करोड रुपैयाँ बराबरको थप धितोपत्र सूचीकृत भएका छन् । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार कात्तिक मसान्तसम्म ४२ अर्ब ४८ करोड बराबरको थप धितोपत्र सूचीकृत भएको हो ।

राष्ट्र बैंकका अनुसार नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत ७ अर्ब ८८ करोड शेयर संख्याको चुक्ता मूल्य रु.७८१ अर्ब ३८ करोड रहेको छ । यस अवधिमा ३६ अर्ब १० करोड बराबरको साधारण शेयर, ३ अर्ब ८४ करोड बराबरको हकप्रद शेयर र २ अर्ब ५४ करोड बराबरको बोनस शेयर गरी उक्त रकम बराबरको शेयर थपिएको हो ।

यस अवधिमा नेप्सेमा सूचीकृत कम्पनीहरूको संख्या २६४ पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १३४ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ८७ जलविद्युत्कम्पनी, २१ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ४ अन्य समूहका रहेका छन् ।

गत आवको कात्तिकमा सूचीकृत कम्पनीहरूको संख्या २४५ रहेको थियो । सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ६३.२ प्रतिशत रहेको छ ।

त्यसैगरी, जलविद्युत् कम्पनीको हिस्सा १२.६ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.१ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ५.२ प्रतिशत, होटेलको हिस्सा ३.२ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ८.२ प्रतिशत रहेको छ ।

राष्ट्र बैंकका अनुसार गत वर्षको कात्तिक मसान्तमा १९११.२६ रहेको नेप्से सूचकाङ्क चालु आवको यस अववधिमा १८५२.०९ कायम भएको छ । त्यस्तै बजार पुँजीकरण २८ खर्ब ५३ अर्ब १ करोड कायम भएको छ । गत वर्षको कात्तिक मसान्तमा यस्तो बजार पुँजीकरण २७ खर्ब ५२ अर्ब २४ करोड रहेको थियो ।

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले ८ अर्ब ५१ करोड बराबरको साधारण शेयर, ३ अर्ब २० करोड बराबरको डिबेन्चर, २ अर्ब ५० करोड बराबरको म्युचुअल फण्ड र एक अर्ब १० करोड बराबरको हकप्रद शेयर गरी कुल १५ अर्ब ३१ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।
 

Advertisment

थप समाचार