काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार (आज) शेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ६.५५ अंकले बढेर १९९४.६० बिन्दुमा पुगेको हो । बुधबार नेप्से २.६० अंकले बढेर १९८८.०४ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका १४० कम्पनीको शेयरमूल्य बढेको छ । भने ९१ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै १० कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार बढेपनि कारोबार रकममा भने गिरावट आएको छ । आज बजारमा तीन अर्ब १५ करोड १६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा तीन अर्ब ९० करोड ९१ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज १६ करोड ४ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्ने कम्पनीमा बोटलर्स नेपाल, नेपाल हाइड्रो डेभलपर, हिमालयन लघुवित्त वित्तीय संस्था र नेपाल रिपब्लिक मिडिया रहेका छन् । यस कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो । त्यस्तै आज गुराँस लघुवित्त, मानुषी लघुवित्त र सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ४ प्रतिशत भन्दाबढीले घटेको छ ।
Advertisment