काठमाडौं : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकका आर्थिक सूचक सकारात्मक भए पनि अझै निजी क्षेत्रको मनोबल बढ्न नसकेको बताए । राष्ट्रिय कर दिवस, २०८० का अवसरमा सञ्चालित कर सप्ताह समापन कार्यक्रममा बोल्दखै उनले यस्तो बताएका हुन् साथै उनले निजी क्षेत्रलाई विश्वासमा लिएर अगाडि बढ्न सरकारलाई सुझाव दिए ।
“विदेशी मुद्रा सञ्चिति, विप्रेषण आप्रवाह, पर्यटकको आवागमन अहिलेसम्मकै बढी भएको छ, तर पनि निजी क्षेत्रमा विश्वास बढ्न नसक्नु चुनौतीपूर्ण छ”, उनले भने, “निजी क्षेत्र र आम जनतालाई सरकारले विश्वास दिलाउनुपर्छ ।”
सोही कार्यक्रममा बोल्दै नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले व्यवसायीलाई करको दायरामा ल्याउन सचेता बढाउनुपर्ने, व्यवसायीको आत्मबल बढाउनुपर्ने तथा स्थायी कर नीति हुनुपर्ने बताए । उनले कर नतिर्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने बताए ।
नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालले करको दर नभइ दायरा वृद्धि गर्नुपर्ने, कर नीतिको स्थायित्व हुनुपर्ने, पूँजीगत खर्च बढाउनुपर्ने तथा खर्च गर्ने वातावरण सिर्जना गरिनुपर्ने बताए । उनले अप्ठ्यारो अवस्थामा रहेको अर्थतन्त्रलाई लयमा ल्याउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वपक्षीय छलफल थाल्नुभएका आभार प्रकट गरे ।
नेपाल उद्योग व्यापार महासङ्घका साना तथा मझौला व्यवसायीलाई कर सचेतना र विभिन्न सुविधा दिइनुपर्ने बताए । सम्मानित सूर्य नेपाल प्रालिका उपाध्यक्ष रवि केसीले करदातालाई सम्मान गर्ने परिपाटीले धेरै व्यवसायीलाई हौसला प्रदान गरेको बताए । करको दरभन्दा पनि दायरा विस्तार गर्नुपर्न सरकारलाई सुझाव दिँदै उनले करदाता र लगानीकर्तालाई प्रोत्साहित गर्नुपर्ने बताए ।
Advertisment