काठमाडौं : काठमाडौं महानगरपालिका कार्य क्षेत्रभित्र रहेका कुल १८४८ सहकारी मध्ये ११७० सहकाकारी संस्थाले अद्यावधिक नगरेको पाईएको छ । २०८३ बैशाख १७ गतेसम्म महानगरपालिकामा कुल ६७८ सहकारी संस्थाले मात्रै अद्यावधिक गरेको महानगरपालिकाले जनाएको छ।
अद्यावधिक नगर्ने ११७० सहकारी संस्थाहरूलाई ४५ दिनभित्र विवरण अद्यावधिक गर्न महानगरपालिकाले निर्देशन दिएको छ। महानगरको सहकारी विभागले ती संस्थाले सहकारी ऐन, २०७४ तथा नियमावली, २०८० अनुसार सबै सहकारी संस्थालाई नियमित रूपमा सञ्चालन, अभिलेख व्यवस्थापन र वार्षिक विवरण पेश गर्न निर्देशन दिएको हो।
साथै, साधारण सभा नगरेका सहकारी संस्थाहरूले तत्काल साधारण सभा सम्पन्न गरी अद्यावधिक विवरण ४५ दिनभित्र अनिवार्य रूपमा पेश गर्न महानगरले निर्देशन दिएको हो।
महानगरको कार्यक्षेत्र भित्र १ हजार ६४४ बचत तथा ऋण सहकारी संस्थाहरु छन् । जस मध्ये ५५९ संस्थाले मात्रै नवीकरण गरेका छन् । नवीकरण नगर्ने बचत तथा ऋण सहकारी संस्थाको संख्या १ हजार ८५ रहेका छन् । त्यस्तै १६५ वटा बहुउद्देश्यीय सहकारी संस्थामध्ये १०० नवीकरण भएका छन् । बाँकी ६५ वटा सहकारीले नवीकरण गरेका छैनन्।
३ वटा सीपमूलक सहकारी संस्थामध्ये २ वटा नवीकरण भएका छन् भने १ वटा नवीकरण हुन बाँकी छ । त्यस्तै, १६ वटा कृषि सहकारी संस्थामध्ये ८ वटा नवीकरण भएका छन् भने ८ वटा अझै नवीकरण हुन बाँकी छन् ।
४ वटा स्वास्थ्य सेवा सहकारी संस्थामध्ये ३ वटा नवीकरण भएका छन् र १ वटा बाँकी छ। १३ वटा उपभोक्ता सहकारी संस्थामध्ये ४ वटा नवीकरण भएका छन् भने ९ वटा नवीकरण भएका छैनन्। २ वटा श्रमिक सहकारी संस्थामध्ये १ वटा नवीकरण भएको छ र १ वटा बाँकी छ। साथै, २ वटा सञ्चार सहकारी संस्थामध्ये १ वटा नवीकरण भएको छ भने १ वटा अझै नवीकरण हुन बाँकी रहेको महानगरपालिकाले जनाएको छ।
महानगरपालिकाले सहकारी संस्थाहरूको स्थलगत अनुगमन तथा निरीक्षण कार्य पनि नियमित रूपमा भइरहेको जनाएको छ ।
निर्धारित समयभित्र विवरण पेश नगर्ने तथा मापदण्ड विपरीत सञ्चालन हुने सहकारी संस्थामाथि प्रचलित कानूनअनुसार कारबाही गरिने महानगरपालिकाले चेतावनी दिएको छ।
Advertisment