Below Menu
Below Menu

ऋण उठाउन पुनः तालिका संशोधन, बाह्य ऋणको परिचालन घट्दा आन्तरिकको भार थपिदै 

ऋण उठाउन पुनः तालिका संशोधन, बाह्य ऋणको परिचालन घट्दा आन्तरिकको भार थपिदै 

काठमाडौं : नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा सरकारले उठाउने आन्तरिक ऋणको कार्यतालिका संशोधन गरेको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले मंगलबार एक सूचना जारी गर्दै ऋण निष्कासनको कार्यतालिका संशोधन गरेको जनाएको हो ।

संशोधित नयाँ व्यवस्थामा अनुसार राष्ट्र बैंकले दोस्रो त्रैमासमा ३१ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । यसअघि बैंकले पहिलो र दोस्रो त्रैमासमा ५५/५५ अर्ब रुपैयाँ र तेस्रो र चौथो त्रैमासमा क्रमशः ५३ र ७७ अर्ब रुपैयाँ ऋण उठाउने भनिएको थियो ।

गत असोज १० गते उक्त कार्यतालिका संशोधन गर्दै राष्ट्र बैंकले पहिलो त्रैमासमा ८० अर्ब र दोस्रो त्रैमासमा ३० अर्ब रुपैयाँ ऋण उठाउने कार्यतालिका सार्वजनिक गरेको थियो । 

तर, सरकारले पहिलो त्रैमासमा नै ९७ अर्ब ३१ करोड रुपैयाँ बराबरको आन्तरिक ऋण उठाएको छ । त्यस्तै, तेस्रो त्रैमासमा ४७ अर्ब ६९ करोड रुपैयाँ र चौथो त्रैमासमा ६४ अर्ब रुपैयाँ ऋण उठाउने तालिका बनाएको छ ।

सरकारले पहिलो त्रैमासमा ट्रेजरी मार्फत ५ अर्ब र विकास ऋणपत्र मार्फत ९२ अर्ब ३१ करोड रुपैयाँ बराबरको ऋण उठाएको हो ।

त्यस्तै दोस्रो त्रैमासमा सरकारले ट्रेजरी मार्फत १० अर्ब र विकास ऋणपत्रमार्फत २१ अर्ब बराबरको ऋण उठाउने भएको छ ।
राष्ट्र बैकले तेस्रो त्रैमासमा १५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी र ३२ अर्ब ६९ करोड रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ भने चौथो त्रैमासमा २५ अर्बको ट्रेजरी र ३३ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गरिने तालिकामा उल्लेख छ ।

यसका साथै राष्ट्र बैंकले ५ वर्ष अवधिका लागि ५ अर्ब रुपैयाँ बराबरको नागरिक बचतपत्र निष्कासन गर्ने राष्ट्र बैंकको कार्यतालिकामा उल्लेख छ । त्यस्तै चालु आवमा ५ वर्षका लागि एक अर्ब रुपैयाँ बराबरको वैदेशिक रोजगार बचतपत्र जारी गर्ने राष्ट्र बैंकले जनाएको छ ।

सरकारले चालु आवको बजेटमार्फत २ खर्ब ४० अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने लक्ष्य लिएको थियो । सोही लक्ष्य अनुरुप राष्ट्र बैंकले कार्यतालिका सार्वजनिक गरेको हो । 

बढ्दो बाह्य ऋण छल्न सरकारले पटक तालिका संशोधन गर्न आन्तरिक ऋण उठाइरहेको छ । सरकारले पहिलो त्रैमासमा उठाएको ऋण चालु आवका लागि आन्तरिक ऋण उठाउन राखिएको लक्ष्यको ४०.५ प्रतिशत हो ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांकअनुसार तीन महिना उठाइएको ऋणमा ९१.२१ प्रतिशत हिस्सा आन्तरिक ऋणको छ भने ८.७९ प्रतिशत हिस्सा बाह्य ऋणको रहेको छ । 

पछिल्ला वर्षहरूमा अनुदान र बाह्य ऋणको अंश घट्दै जाँदा आन्तरिक ऋणको भार भने बढ्दै गएको छ । बैंकिङ प्रणलीमा थुप्रिएको तरलताको मौका छोप्दै सरकारले सस्तो ब्याजमा ऋण उठाईरहेको छ ।

कार्यालयका अनुसार सरकारको ऋण २३ खर्ब ५४ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ । सरकारले तिर्नुपर्ने सार्वजनिक ऋणमध्ये आन्तरिक ऋणको हिस्सा ११ खर्ब ८३ अर्ब ५७ करोड पुगेको छ । बाह्य ऋणको हिस्सा ११ खर्ब ७१ अर्ब दुई करोड पुगेको छ।

तीन महिनामा ५१ अर्ब ५४ करोड रुपैयाँको साँवा फिर्ता गरेको छ । त्यस्तै, १६ अर्ब १५ करोडको ब्याज भुक्तानी गरेको छ ।  
 

Advertisment

थप समाचार