काठमाडौं : निरन्तर रुपमा शेयर बजार ओरालो लागेसँगै लगनीकर्ताहरुले तीन खर्ब रुपैयाँ गुमाएका छन् । चालु आर्थिक वर्षको साउन महिनादेखि कात्तिक १६ गते अर्थात बिहिबारसम्मको कारोबार दिनमा शेयरबजारबाट लगानीकर्ताहरुले तीन खर्ब चार अर्ब ६५ करोड रुपैयाँ गुमाएका छन् ।
साउन महिनाको १ गते ३१ खर्ब ५० अर्ब ९१ करोड रुपैयाँ रहेको बजार पुँजीकरण यस अवधिमा आइपुग्दा घटेर २८ खर्ब ४६ अर्ब २६ करोडमा झरेको छ । निरन्तर रुपमा शेयर बजार ओरालो लागेसँगै कारोबार रकम पनि घट्दै गएको हो ।
यस अवधिमा नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक २९६.४६ अंकले घटेको छ । लामो समयदेखि लय समात्न नसकेको नेपाली शेयर बजारका लगानीकर्ता मौद्रिक नीतिले शेयर बजारलाई नयाँ उचाइमा लैजानेमा आशावादी थिए ।
शेयर बजारले गति लिन नसक्नुमा राष्ट्रको नीति बाधा बनेको शेयर लगानीकर्ताहरुले आरोप लगाउँदै आए थिए । मौद्रिक नीतिमा शेयर धितो कर्जा, रियल स्टेट कर्जा तथा हायर पर्चेज कर्जाका विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गरिने जनाए पनि अपेक्षाकृत मौद्रिक नीति नआएको लगानीकर्ताको भनाई थियो ।
शेयर धितो कर्जाको सीमा बढाउनु पर्ने लगानीकर्ताको माग थियो । राष्ट्र बैंकले निर्देशिका जारी गरेर शेयर धितो कर्जामा रहेको एकल ग्राहक कर्जाको १२ करोडको सीमा बढाएर १५ करोड पु¥याएको छ । संस्थागततर्फको सीमा भने २० करोड पु¥याइएको छ ।
लामो समयदेखि लगानीकर्ताहरुले राख्दै आएको मागलाई राष्ट्र बैंकले सम्बोधन गरेको छ । राष्ट्र बैंकले मार्जिन प्रकृतिको शेयर धितोमा रहेको एकल ग्राहक कर्जाको १२ करोडको सीमा बढाउँदा पनि शेयर बजारले भने गति लिन सकेको छैन ।
लगानीकर्ताहरुले राष्ट्र बैंकको नीतिका कारण बजार बढ्न नसकेको आरोप लगाउँदै आएका थिए । राष्ट्र बैंकले शेयर कर्जामा लगाएको १२ करोडको क्यापको सीमा बढाए पनि शेयर बजार भने निरन्तर रुपमा घटिरहेको छ ।
Advertisment