Below Menu
Below Menu

सात बुँदे घोषणापत्र सार्वजनिक गर्दै अन्तर्राष्ट्रिय दिगो पर्वतीय विकास तथा पर्यटन सम्मेलन सम्पन्न 

सात बुँदे घोषणापत्र सार्वजनिक गर्दै अन्तर्राष्ट्रिय दिगो पर्वतीय विकास तथा पर्यटन सम्मेलन सम्पन्न 

काठमाडौं : सात बुँदे घोषणापत्र सार्वजनिक गर्दै पोखरामा दोस्रो अन्तर्राष्ट्रिय दिगो पर्वतीय विकास तथा पर्यटन सम्मेलन सम्पन्न भएको छ । काठमाडौं विश्वविद्यालय र जापानको होक्काइडो विश्वविद्यालयको आयोजना तथा नेपाल पर्यटन बोर्डको आतिथ्यमा शुक्रवार देखि पोखरामा दोस्रो अन्तर्राष्ट्रिय दिगो पर्वतीय विकास तथा पर्यटन सम्मेलन सुरु भएको थियो ।

सम्मेलन पछि जारी घोषणापत्रमा महत्वपूर्ण जिओपार्क निर्माणको सम्भावित स्थलहरुको पहिचानका लागि सरकारलाई सिफारिश गर्ने , उच्च हिमालय क्षेत्रमा दीगो पर्यटनको विकासमा जोड दिने , उच्च हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायको जीवनयापन तथा उनीहरुको हीतको लागि काम गर्ने ,पर्यतीय पर्यटनमा वातावरण मैत्री प्रविधि प्रयोगमा जोड दिने तथा पर्यटनको बजारिकरण र योवनाबद्ध विकासमा जोड दिने लगायतका बुँदाहरु समावेश गरिएको छ ।

तीन दिनसम्म चलेको सम्मेलनमा नेपाल सहित भारत, चीन, बंगलादेश, भुटान, पाकिस्तान, भियतनाम,संयुक्त राज्य अमेरिका, बेलायत, जापान, कोरिया,अष्टे«लिया, स्पेन, चिली र  पोल्याण्डका प्रतिष्ठित वैज्ञानिक र प्राज्ञिक विज्ञहरूले सय बढी अनुन्धानमा आधारित प्रतिवेदन सहहितको प्राविधिक छलफल र मुख्य प्रस्तुतिहरू रहेका थिए ।

सम्मेलनमा विश्वव्यापी रूपमा भइरहेको जलवायु परिवर्तन र यसले हिमालय र समग्र वातावरणमा पारेको असरबारे गम्भीर चिन्ता र चासो व्यक्त गर्दै हिमालहरुको संरक्षण गर्न नसके यसले प्राकृतिक र मानवीय दुवै क्षेत्रमा गम्भीर परिणाम ल्याउन सक्ने भन्दै सरोकारवालाहरूलाई गम्भीर बन्न सुझाव समेत दिएका थिए । साथै उनीहरुले पर्यटनको लागि हिमालको दिगो व्यवस्थापनको लागि सरोकारवालाहरू सबैको चासो र एकीकृत प्रयास आवश्यक भएकोमा समेत जोड दिएका थिए ।

सम्मेलनमा विभिन्न देशका दुई सय भन्दा बढी वैज्ञानिक र प्राज्ञिक विज्ञहरूको सहभागिता रहेको थियो । सम्मेलन पछि प्रतिक्रिया दिँदै नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा। धनञ्जय रेग्मीले सम्मेलन दिगो हिमाल विकास र नदी संरक्षण प्रवर्द्धनका साथै चुनौति, सफलताका कथा र उत्कृष्ट अभ्यासहरू सहित ज्ञान आदानप्रदान गर्न कोसेढुङ्गा भएको बताए । उनले नेपालको प्रवद्र्धन र दिगो विकासका लागि योजना र कार्यान्वयन गर्नुअघि पर्यटन क्षेत्रलाई राम्रो तथ्याङ्कले लैजान सक्ने ज्ञान आदानप्रदान मञ्चको महत्वमा जोड दिँदै पर्यटनका लागि समावेशी र पहुँचयोग्य डाटा प्रणाली निर्माणलाई प्राथमिकता दिईने उल्लेख गरे ।

“जलवायु परिवर्तनका मुद्धा कुनै एक देशकोमात्र मुद्धा नभएर विश्वका साझा मुद्धा हुन । यसबारे विश्वस्तरमा नै छलफल र बहस पैरवी आवश्यक छ । त्यो पहल हामीले शुरु गरेका छौं । यसबाट हिमालहरुको संरक्षण र यसबाट पर्यतीय पर्यटनको विकासमा टेवा पुग्छ भन्ने विश्वास छ । ”उनले भने ।

काठमाडौं विश्वविद्यालयका डा. रिजनभक्त कायस्थले घोषणापत्र सार्वजनिक गर्दै सम्मेलनको तेस्रो संस्करण सन् २०२४ मा चितवनमा आयोजना गर्ने जानकारी दिए । प्रथम अन्तर्राष्ट्रिय दिगो पर्वतीय विकास सम्मेलन–२०२२ गतवर्षको मंसिर मंसिर १५, १६ र १७ गते काठमाण्डौंको चन्द्रागिरिमा आयोजना गरिएको थियो ।

Advertisment