काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले दशैँमा विदेशबाट नेपाल फर्कदा यात्रुले ल्याउन पाउने वस्तुहरूको सूची सार्वजनिक गरेको छ । सोमबार एक सूचना जारी गर्दै विमानस्थल भन्सार कार्यालयले वैदेशिक रोजगारीमा गएका नेपालीले घर फर्कँदा ल्याउन मिल्ने र नमिल्ने वस्तुको सूची सार्वजनिक गरेको हो ।
भन्सार कार्यालयका अनुसार विदेशबाट नेपाल फर्कने यात्रुले काननुले छुट दिएको वा व्यक्तिगत प्रयोजनका लागि राजस्व तिरेर ल्याउन सकिने उल्लेख गरेका सामान बाहेक अरु सामान ल्याउन पाइने छैन ।
विदेशबाट नेपाल फर्कने यात्रुले साथमा निश्चित परिमाणमा सुनका गहना, मोबाइल तथा टेलिभिजन ल्याउन पाउने भन्सार कार्यालयले जनाएको छ । कार्यालयका अनुसार घर फर्कँदा यात्रुले सुनका गहनाको ल्याउन पाउने व्यवस्थामा महिलाको हकमा ५० ग्राम र पुरुषको हकमा २५ ग्राम सुनको गहनामा भन्सार नतिरी ल्याउन छुट दिइएको छ ।
यस्तै, कार्यालयले एक जना व्यक्तिले महिलाको हकमा ५० ग्राम र पुरुषको हकमा २५ ग्राम बाहेक थप २०० ग्रामसम्म सुनको गहना भन्सार बिन्दुमा महसुल तिरेर ल्याउन पाउने व्यवस्था गरेको छ । गहनाको आकार मात्रै दिएर बनाइएका बेरुवा औँठी, बाला, सिक्री जस्ता रसायन प्रयोग नगरिएका सुनलाई गहनाको मान्यता नदिने कानुनी व्यवस्था रहेको छ ।
यसैगरी मोबाइलको हकमा भने विदेशबाट फर्कने नेपाली यात्रुले आफूले प्रयोग गरिरहेको मोबाइल साथमा ल्याउँदा भन्सार तिर्नु पर्दैन । श्रम स्वीकृति लिएर लगातार ६ महिनाभन्दा बढी विदेशमा काम गरी फर्केका यात्रुले आफ्नो साथमा थप एक थान मोबाइल भन्सार नतिरी ल्याउन पाउने कानुनी व्यवस्था छ । थप एक थान मोबाइलका लागि भन्सार कार्यालयमा घोषणा गरी भन्सार प्रक्रिया भने पूरा गर्नुपर्ने कार्यालयले जनाएको छ ।
टेलिभिजनको हकमा श्रम स्वीकृति लिई लगातार १२ महिना काम गरेको र सामाजिक सुरक्षा कोषमा सूचीकृत भएका यात्रुले जुनसुकै आकार वा प्रकारको टेलिभिजन भन्सार नतिरी ल्याउन पाउने व्यवस्था छ । तर श्रम स्वीकृति लिई लगातार १२ महिना काम गरी फर्केको भए पनि सामाजिक सुरक्षा कोषमा सूचीकृत नभएका नेपाली यात्रुले भने ३२ इन्च सम्मको टेलिभिजन मात्र भन्सार नतिरी ल्याउन पाउँछन् । अन्य अवस्थामा भने सबै टेलिभिजनमा नियमानुसारको महसुल भन्सारमा तिर्नु पर्ने व्यवस्था रहेको छ ।
यसैगरी ५ हजार अमेरिकी डलर माथिको विदेशी मुद्रा हुने यात्रुले विमानस्थलमा स्वघोषणा गर्नु पर्दछ । रकम घोषणाको भने कुनै महसुल वा शुल्क बुझाउनु नपर्ने व्यवस्था छ । यात्रुहरूले कानुनी व्यवस्था विपरीत सामान ल्याएमा माल वस्तु जफत हुने र सोको दोब्बर मूल्य बराबर जरिवाना तथा कैद सजाय समेत हुने व्यवस्था छ ।


Advertisment