काठमाडौं : पर्यटन सिजन शुरुभएसँगै यस वर्षको नौं महिना अर्थात सेप्टेम्बरसम्ममा झण्डै सात लाख पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागका अनुसार सन् २०२३ को यस अवधिमा ६ लाख ९२ हजार ३७२ विदेशी पर्यटक नेपाल भित्रिए हुन् ।
सेप्टेम्बर महिनामा मात्रै ९१ हजार १२ जना पर्यटक भित्रिएको विभागका निर्देशक तथा सूचना अधिकारी खिमराज भुसालले जानकारी दिए । उनका अनुसार यस अवधिमा सबैभन्दाबढी पर्यटक भारतबाट आएका छन् ।
उनका अनुसार यो तथ्यांक हवाईमार्ग हुदै आउने पर्यटकहरुको संख्या हो । यसका साथै स्थलमार्गबाट आउने पर्यटकहरुको संख्या अझै बढी हुने उनले बताए । विगतका वर्षहरुको तुलनामा यस वर्ष नेपाल आउने विदेशी पर्यटकको संख्यामा उल्लेख्य रुपमा वृद्धि भएको उनले सुनाए ।
यस अवधिमा भारत २८ हजार ६९४ पर्यटक नेपाल आएका हुन् । त्यसैगरी, अमेरिकाबाट ७ हजार ३६४, अष्ट्रेलियाबाट ३ हजार ६८५, चीनबाट ८ हजार १७४, बेलायतबाट ३ हजार ६४० र बंगलादेशबाट ३ हजार ७१६ विदेशी पर्यटक भित्रिएका छन् ।
त्यसैगरी, इजरायलबाट एक हजार ७३४, जर्मनीबाट २ हजार ८५२ र साउथ कोरियाबाट २ हजार १८ पर्यटक नेपाल भित्रिएका छन् ।
सन् २०२३ को सुरुवाती महिना जनवरीदेखि नै नेपालमा भित्रिने पर्यटकहरूको संख्या बढ्दो छ । यस अवधिमा भित्रिएका पर्यटकमध्ये मार्च महिनामा सर्वाधिक पर्यटक नेपाल भित्रिएका छन् भने जनवरीमा कम पर्यटक आएका थिए । मार्च महिनामा झण्डै एक लाख पर्यटक भित्रिएको विभागको तथ्यांकमा उल्लेख छ । यस अवधिमा ९९ हजार ४२६ जना विदेशी पर्यटक नेपाल आएका हुन् ।
त्यसैगरी, जनवरीमा ५५ हजार ७४ जना, फेब्रुअरीमा ७३ हजार २५६, अप्रिलमा ९८ हजार ७७४, मे महिनामा ७७ हजार ७०४, जुन महिनामा ७२ हजार २५०, जुलाईमा ५७ हजार ७२६ जना र अगस्टमा ६७ हजार १५३ विदेशी पर्यटक नेपाल भित्रिएका छन् .
नेपाल आउने पर्यटकहरुमा धेरैजसो भारत, चीन, बंगलादेश, अमेरिका, श्रीलंका, बेलायत इटाली, जापान, अष्ट्रेलिया लगायत स्पेनका रहेका छन् ।
Advertisment