काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार आरोपमा पाँच जना विरुद्द मुद्दा दायर गरेको छ । आयोगले बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासेनी, लेखा अधिकृत सर्मेन्द्र प्रसाद चौधरीसमेत ५ जना विरुद्ध मुद्दा दायर गरेको हो ।
आयोगका अनुसार नगरपालिकाले मधेश प्रदेश सरकारको अनुदानबाट संचालित योजनाहरुमध्ये सिम्रौनगढ नगरपालिका, वडा नं. ८, कचोर्वास्थित जनता माविको भवन निर्माण कार्यमा अनियमितता भएको भन्ने उजुरी गरेको थियो ।
सोही निवेदनका आधारमा अनुसन्धान हुँदा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासेनी, लेखा अधिकृत सर्मेन्द्र प्रसाद चौधरीले प्राविधिकले तयार गरेको मूल्याङ्कन र भुक्तानीको लागि स्वीकृत भएको टिप्पणीमा उल्लेख भएको भन्दा बढी रकम उपभोक्ता समितिलाई भुक्तानी दिएको आयोगको ठहर छ ।
उनीहरुले निर्माण कार्यमा भए गरेको परिमाणभन्दा बढी ६ लाख ५८ हजार ४४० रुपैयाँ १६ पैसा भ्रष्टाचार गरेको आयोगको भनाई छ । उक्त कार्यमा श्री जनता माविको भवन निर्माण समितिका अध्यक्ष रामबाबु प्रसाद यादव, सचिव रामाकान्त प्रसाद र कोषाध्यक्ष किरण देवी यादवको संलग्नता रहेको आयोगले जनाएको छ ।
आयोगले निजहरु विरुद्ध जनही ६ लाख ५८ हजार ४४० रुपैयाँ १६ पैसा विगो कायम गरी सजायको मागदाबी गर्दै आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
Advertisment