Below Menu
Below Menu

आर्थिक पत्रकारलाई चुनावी चटारो, कसले मार्ला बाजी?

आर्थिक पत्रकारलाई चुनावी चटारो, कसले मार्ला बाजी?

काठमाडौं : आर्थिक क्षेत्रमा कलम चलाउने पत्रकारहरुलाई चुनावी चटारो सुरु भएको छ । आर्थिक पत्रकारहरुको छाता संगठन नेपाल आर्थिक पत्रकार समाज (सेजन)को निर्वाचन सहितको साधारण सभा नजिकिँदै गर्दा चुनावी सारगर्मी बढेको हो ।

सेजनको २५ औं वार्षिक साधारण सभा तथा अधिवेशन भदौ १६ (आगामी शनिबार) हुँदैछ । उक्त सभाले २ वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ । नेतृत्व हत्याउन अध्यक्षदेखि सदस्यसम्म १८ जनाले उम्मेदवारी घोषणा गरेका छन् । 

सेजनको विधान अनुसार १० जना निर्वाचित र २ जना मनोनित गरी १२ जनाको कार्यसमिति रहने व्यवस्था छ । यस पटकको चुनावमा १० पदका लागि १८ जनाको उम्मेदवारी घोषणा भएको छ । निर्वाचन मिति नजिकिँदै गर्दा उम्मेदवारहरुले सदस्य भेटघाट र प्रचारप्रसारलाई तिव्र बनाएका छन् ।

सेजनले निर्वाचन समिति समेत बनाईसकेको छ । निर्वाचन समितिको मूख्य निर्वाचन अधिकृतमा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष धर्मेन्द्र झा रहेका छन् । त्यस्तै समितिको सदस्यहरुमा नेपाल पत्रकार महासंघका महासचिव रोशन पूरी र अधिवक्ता बाबुराम अर्याल रहेका छन् ।

हाल सेजनमा २८४ जना सदस्य छन् । सदस्यता नविकरण गराउने अन्तिम समय भदौ १० गते थियो । उक्त समयसम्ममा २ सय ६९ जना सदस्यले सदस्यता नविकरण गराएका छन् । सेजनलाई आर्थिक पत्रकारहरुको अब्बल साझा संस्थाको रुपमा समेत चिनिन्छ । सरकार, निजी क्षेत्र तथा सरोकारवालाहरुमाझ सेजन निकै लोकप्रिय छ ।

को-को छन् चुनावी मैदानमा?

सेजनको अध्यक्ष पदका लागि कारोबार दैनिकका सरस्वती ढकाल, नेपाललाईभ टुडेका शिरोमणी ढुंगाना र क्यापिटल नेपालका सुजन ओली चुनावी मैदानमा छन् । ढकाल कारोबार राष्ट्रिय दैनिककी समाचार संयोजक हुन् भने ढुंगाना नेपाललाईभ टुडेका सम्पादक र ओली क्यापिटल नेपालका संवाददाता हुन् । अध्यक्ष पदका प्रत्यासी ढकाल सेजनका पूर्व उपाध्यक्ष समेत हुन् । ढुंगाना यस अघिका निर्वाचनमा पनि अध्यक्षका प्रत्यासी थिए । अध्यक्षका उम्मेदवार ओली वर्तमान समितिका उपाध्यक्ष हुन् ।

त्यसैगरी, उपाध्यक्ष पदका लागि विनय बञ्जरा र भागवत भट्टराईले उम्मेदवारी घोषणा गरेका छन् । बञ्जरा ग्यालेक्सी फोर के टेलिभिजनको आर्थिक ब्युरो चिफ हुन् भने भट्टराई सेतोपाटीका संवाददाता हुन् । यस अघिको निर्वाचनमा दुबै जना महासचिवको उम्मेदवार थिए । उक्त निर्वाचनमा भट्टराईसँग बञ्जरा पराजित भएका छन् ।

त्यस्तै, महासचिवमा हालसम्म विश्वास रेग्मीको मात्र उम्मेदवारी घोषणा भएको छ । रेग्मी गोरखापत्र राष्ट्रिय दैनिकका समाचारदाता हुन् । अन्य कोहीको उम्मेदवारी घोषणा नभए पनि रेग्मीले आफ्ना एजेण्डा सेयर गर्न र सदस्य भेटघाटलाई तिब्र बनाएका छन् ।

त्यसैगरी, सचिव पदमा मुना कुँवर, रञ्जु काफ्ले र शोभित थपलियाले उम्मेदवारी घोषणा गरेका छन् । कुँवर नयाँ पत्रिका राष्ट्रिय दैनिक, काफ्ले द राईजिङ नेपाल र थपलिया क्लिकमाण्डूमा कार्यरत छन् । त्यस्तै, कोषाध्यक्ष पदमा अनलाईन खबरमा कार्यरत अच्युत पुरी र नेपाल टेलिभिजनमा कार्यरत कमला अर्यालले उम्मेदवारी घोषणा गरेका छन् ।

यस्तै सदस्यहरुमा सात जनाले उम्मेदवारी घोषणा गरेका छन् । उम्मेदवारी घोषणा गर्नेहरुमा राष्ट्रिय समाचार समितिमा कार्यरत हेमन्त जोशी, बिजमाण्डु डटकममा कार्यरत बसन्तराज उप्रेती, नयाँ पत्रिका राष्ट्रिय दैनिकमा कार्यरत पवन तिमिल्सिना, कारोबार राष्ट्रिय दैनिकमा कार्यरत कौशिला कुँवर, अन्नपूर्ण पोस्ट राष्ट्रिय दैनिकमा कार्यरत ममता थापा र नेपाल नेटर्वक टेलिभिजनमा कार्यरत र छविलाल सापकोटाले उम्मेदवारी घोषणा गरेका छन् ।

Advertisment

थप समाचार