किसान र उपभोक्ताबीच सहकारीको पुल
काठमाडौं : जुम्लाको माटोमा उत्पादित अर्ग्यानिक स्याउको स्वाद अब राजधानीका उपभोक्तामाझ मात्र होइन, देशका उच्च तहका विशिष्ट व्यक्तित्वसम्म पनि पुगेको छ। चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले जुम्लाको स्याउको प्रवर्द्धन तथा बजारीकरणलाई प्राथमिकता दिँदै पूर्वराष्ट्रपति रामवरण यादव, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई तथा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीलाई जुम्लाको स्याउ चखाएको छ।
जुम्लाका किसानले उत्पादन गरेको स्याउलाई राजधानीको बजारसँग जोड्ने उद्देश्यले सहकारीले काठमाडौंमा ‘प्रदर्शनी तथा बिक्री सप्ताह’ समेत सञ्चालन गरिरहेको छ। सहकारीले स्याउको स्वाद चखाउँदै यसको गुणस्तर, उत्पादनको अवस्था र जुम्लाका किसानसँग जोडिएको आर्थिक पक्षबारे जानकारी गराउनुका साथै बजार विस्तारको अभियान अघि बढाएको हो।
जुम्लामा उत्पादन हुने स्याउलाई देशका उच्च पदस्थ व्यक्तित्वदेखि आम उपभोक्तासम्म पुर्याउने र स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले सहकारीले यस अभियानलाई अघि बढाएको संस्थाका प्रमुख व्यवस्थापक ऋषिराम पाण्डेले बताए।
विशिष्ट व्यक्तित्वलाई जुम्लाको स्याउ चखाउनु केवल स्वाद परीक्षणमा सीमित नरहेको पाण्डेको भनाइ छ। यसलाई जुम्लाको कृषि उत्पादन, किसानको मेहनत र स्वदेशी उत्पादनको बजार विस्तारका लागि गरिएको प्रवर्द्धनात्मक अभियानका रूपमा लिइएको उनले बताए।
देशका उच्च तहका व्यक्तित्वसम्म जुम्लाको उत्पादन पुर्याएर त्यसको पहिचान र बजार विस्तार गर्ने सहकारीको प्रयासले जुम्लाको स्याउलाई राष्ट्रियस्तरमा थप चिनाउन सहयोग पुग्ने अपेक्षा उनको छ।
तीन लाख किलो स्याउ काठमाडौं
पाण्डेका अनुसार यस वर्ष सहकारीले आफ्ना सदस्य किसानबाट करिब ३ लाख किलोग्राम स्याउ खरिद गरी काठमाडौं ल्याउने छ।
किसानले उत्पादन गरेको स्याउलाई गाउँमै सीमित नराखी राजधानीको बजारसम्म पुर्याएर उपभोक्तालाई प्रत्यक्ष उपलब्ध गराउने उद्देश्यले सहकारीले बजारीकरणको जिम्मेवारी लिएको हो।
सहकारीले विगत १० वर्षदेखि जुम्लाका स्थानीय तथा रैथाने कृषि उपजको बजारीकरण गर्दै आएको छ। किसान र उपभोक्ताबाट स्याउको माग बढ्दै गएपछि यस वर्षदेखि स्याउको बजारीकरणलाई थप प्राथमिकताका साथ अघि बढाइएको पाण्डेले बताए।
ए, बी र सी ग्रेडमा बिक्री
काठमाडौं ल्याइएको स्याउलाई सहकारीले गुणस्तरअनुसार ए, बी र सी गरी तीन ग्रेडमा वर्गीकरण गरेर बिक्री गरिरहेको छ।
सहकारीले थेल्ड डेलिसियस, डेलिसियस, जनाथन, गोल्डेन, गाला, चकलेटी तथा इटालियन (फुजी) लगायत विभिन्न जातका स्याउ बिक्रीमा राखेको छ। जात र ग्रेडअनुसार प्रतिकिलो १७० रुपैयाँदेखि ३०० रुपैयाँसम्म रहेको पाण्डेले बताए।
भद्रकालीमा बिक्री केन्द्र
काठमाडौंका उपभोक्तालाई जुम्लाको ताजा स्याउ सहज रूपमा उपलब्ध गराउने उद्देश्यले सहकारीले भद्रकालीस्थित नेपाल टेलिकमको अगाडि स्टोर तथा बिक्री केन्द्र सञ्चालन गरेको छ।
जुम्लाबाट ल्याइएको स्याउ यही बिक्री केन्द्रमार्फत उपभोक्तासम्म पुर्याइएको छ। सहकारीले जुम्लाका किसानको उत्पादनलाई राजधानीमा चिनाउने र उपभोक्तालाई स्वदेशी उत्पादन रोज्ने अवसर दिने उद्देश्यले बिक्री तथा प्रवर्द्धन अभियान अघि बढाएको हो। संस्थाले भृकुटीमण्डप, खुमलटार लगायताका स्थानबाट पनि स्याउ विक्रि गर्ने ल
१६ हजार घरधुरी स्याउ खेतीमा
जुम्लालाई ‘स्याउको राजधानी’का रूपमा चिनिन्छ। जिल्लाको अर्थतन्त्रमा स्याउ खेतीको महत्वपूर्ण योगदान छ।
जुम्लामा ४ हजार ६ सय ४ दशमलव ५३ हेक्टर क्षेत्रफलमा स्याउ खेती हुँदै आएको छ। जिल्लामा करिब १८ हजार घरधुरीमध्ये १६ हजार घरधुरीका स्याउ बगैंचा रहेको पाण्डेले बताए।
स्याउ खेती हजारौँ किसान परिवारको आम्दानीको प्रमुख स्रोत बनेको छ। त्यसैले उत्पादनसँगै व्यवस्थित बजार निर्माण हुनु जुम्लाका किसानका लागि उत्तिकै महत्वपूर्ण विषय हो।
२० हजार टनको हाराहारीमा उत्पादन
आर्थिक वर्ष २०८१/८२ मा जुम्लामा १९ हजार ८ सय ४० टन स्याउ उत्पादन भएको थियो। आर्थिक वर्ष २०८२/८३ मा भने १७ हजार ५ सय टन उत्पादन भएको पाण्डेले बताए।
यस वर्ष भने उत्पादन बढेर करिब १९ हजार ५ सय टन पुग्ने अनुमान गरिएको छ। यति ठूलो परिमाणमा उत्पादन हुने स्याउका लागि बजार विस्तार गर्न सके जुम्लाका किसानको आम्दानीमा उल्लेख्य सुधार ल्याउन सकिने सम्भावना छ। यही सम्भावनालाई ध्यानमा राख्दै सहकारीले उत्पादनलाई राजधानीको बजारसँग जोड्ने प्रयास गरिरहेको हो।
किसान र उपभोक्ताबीच सहकारीको पुल
किसानले उत्पादन गर्ने तर बजार नपाउने समस्या कृषि क्षेत्रमा पुरानै हो। विशेषगरी भौगोलिक रूपमा विकट जुम्लामा उत्पादन भएको कृषि उपजलाई देशका ठूला बजारसम्म पुर्याउनु आफैंमा चुनौतीपूर्ण छ।
चन्दननाथ बहुउद्देश्यीय सहकारीले भने किसानबाट स्याउ खरिद गरी काठमाडौं ल्याउने, ग्रेडिङ गर्ने र उपभोक्तामाझ बिक्री गर्ने काममार्फत उत्पादक र बजारबीच पुलको भूमिका निर्वाह गर्न खोजेको छ।
पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री र बहालवाला मन्त्रीसम्म जुम्लाको स्याउ चखाएर यसको प्रवर्द्धन गर्नु यही अभियानको महत्वपूर्ण पक्ष बनेको छ। उच्च तहका व्यक्तित्वसम्म स्वदेशी उत्पादनको पहिचान पुर्याउँदा यसको बजार विस्तारमा सकारात्मक प्रभाव पर्ने सहकारीको विश्वास छ।