काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकका ७७ वटै जिल्लामा कम्तिमा एउटा बृहत व्यावसायिक आयोजना सञ्चालन गर्नुपर्ने बताएका छन् ।
जिल्ला समन्वय समिति समन्वय तथा अनुगमन राष्ट्रिय सम्मेलनलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष ढकालले हरेक जिल्लामा आर्थिक गतिविधि बढाउन र तहाँ उपलब्ध स्रोत साधनलाई सदुपयोग गर्न सार्वजनिक निजी साझेदारीमा कम्तिमा एउटा बृहत व्यवसायिक आयोजना सञ्चालन गर्नका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारले पहल गर्नुपर्ने बताए ।
यसबाट जिल्लामा उपलब्ध स्रोत साधनलाई सदुपयोग गर्दै जिल्लामा आर्थिक गतिविधि बढाउन सकिने र स्थानीय रूपमा राजश्व संकलन तथा रोजगारी सृजना हुन सक्ने भन्दै महासंघ र जिल्ला उद्योग वाणिज्य संघहरु सरकारसँग सहकार्य गर्न तत्पर रहेको उनको भनाइ थियो । उनले सरकार तथा निजी क्षेत्रसँग समन्वयकारी भूमिका निर्वाह गर्न जिल्ला समन्वय समितिका पदाधिकारीहरुलाई आग्रह समेत गरेका छन् ।
Advertisment