काठमाडौं : झापाको मेचीनगर–६, काँकरभिट्टामा प्रधान कार्यालय रहेको नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले सदस्यको खाताबाट सुटुक्क ४ करोडभन्दा बढी रकम झिकेको छ । संस्थाले साउन १ गते (हिजो) सदस्यलाई जानकारी नै नगराई प्रति सदस्य ७ सय रुपैयाँ खाताबाट झिकेको हो । संस्थामा १ लाख ५० हजारभन्दा बढी सदस्य छन् ।
संस्थाले १ हजारभन्दा बढी सेयर रकम रहेको सदस्यको खाताबाट प्रतिसदस्य ७ सय रुपैयाँ झिकेर ‘सदस्य कल्याणकारी कोष’मा पैसा राखेको हो । संस्थामा १ लाख ५० हजारभन्दा बढी सदस्य भएपनि १ हजारभन्दा बढी सेयर रकम हुने सदस्यको संख्या ६० हजारको हाराहारीमा मात्रै छ । सदस्यको जानकारी बिनै पैसा खाताबाट झिकेपछि सदस्यहरु आक्रोशित बनेका छन् ।
संस्थाले यसवर्ष स्थापना गरेको सदस्य कल्याणकारी कोषमा उक्त रकम योगदान स्वरुप राखेको हो । उक्त कोषमा योगदान गर्ने सदस्यको मृत्यु भएमा ५० हजार आश्रित परिवारलाई पाउने व्यवस्था संस्थाले गरेको छ । त्यस्तै सदस्यको परिवारको सदस्यको मृत्यु हुँदा १० हजार पाउने व्यवस्था छ ।
तर, सदस्यलाई यो विषयमा जानकारी नै नगराई संस्थाले आफूखुशी रकम झिकेर कोषमा राखेपछि विरोध भएको हो । तर, कोषमा आवद्ध हुनन चाहने सदस्यले पैसा फिर्ता पाउने संस्थाले जनाएको छ । सदस्यको हस्ताक्षर र सहमती बिनै पैसा झिकेपछि संस्थाको शुसाशनमै सदस्यहरुले प्रश्न उठाएका छन् ।
सदस्यहरुकै हितको लागि कोष स्थापना गरिएको र संस्थाको कार्यविधि अनुसार पैसा झिकिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेतीले जानकारी दिए । टेक्नीकल्ली समस्याका कारण जानकारी म्यासेज जानुपूर्व पैसा काटिएको उनले बताए । ‘संस्थाले विगतमा मृत्यु राहत कोष खडा गरेको थियो । उक्त कोषमा ५ हजारभन्दा बढी सेयर रकम हुनेको मात्र सहभागिता हुने व्यवस्था थियो । यस पटक कोषको नाम परिवर्तन गरी १ हजारभन्दा बढीको सेयर रकम हुनेले कोषमा सहभागिता जनाउने सक्ने व्यवस्था बनायौं । सबै सदस्यको अधिकार समान हुनेगरी कोषमा सहभागिता जनाउन ७ सय रुपैयाँ जम्मा गर्नुपर्ने व्यवस्था गर्यौं । सोही बमोजिम सदस्यको खाताबाट पैसा कटिएको हो’, उप्रेतीले भने ।
संस्थाको सदस्य धेरै भएका कारण कोषमा सहभागी हुन आव्हान गर्न नसकिएको र सिधै खाताबाट पैसा काटिएको उनले बताए । सहभागि हुन नचाहने सदस्यले नजिकैको कार्यालयमा सम्पर्क गरेर पैसा फिर्ता पाउने बताए ।
Advertisment