काठमाडौं : पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा पैसा थुप्रिएको छ । असार ३० गतेसम्मको तथ्यांक अनुसार वित्तीय प्रणालीमा लगानी योग्य रकम (तरलता) ४ खर्ब ८१ अर्ब रुपैयाँभन्दा बढी छ ।
राष्ट्र बैंकले दिएको तथ्यांक अनुसार वैशाख २ वित्तीय प्रणालीमा ५४ खर्ब ७३ अर्ब रुपैयाँ कुल निक्षेप रहेकोमा असार ३० सम्म आईपुग्दा ५७ खर्ब ४० अर्ब रुपैयाँ पुगेको छ । उक्त अवधिमा कुल २ खर्ब ६७ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । असार महिनामा मात्रै वित्तीय प्रणालीमा १ खर्ब ७२ अर्ब निक्षेप थपिएको छ ।
वाणिज्य बैंकहरुको कुल निक्षेप ४८ खर्ब २२ अर्बबाट ५० खर्ब ६६ अर्ब रुपैयाँ पुगेको छ । निक्षेप बढे पनि कर्जा प्रवाह भने घटेको छ । बैंक तथा वित्तीय संस्थाको वैशाख २ गतेसम्म कुल कर्जा प्रवाह ४८ खर्ब ५० अर्ब रहेकोमा असार ३० मा आइपुग्दा ४८ खर्ब ५५ अर्ब रुपैयाँ छ ।
बैशाख २ गते कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८५.२ प्रतिशत रहेकोमा असार ३० मा आइपुग्दा ८१.६२ प्रतिशतमा झरेको छ ।
Advertisment