Below Menu
Below Menu

ब्याजदरको कार्टेलिङ अन्त्यपछि ४ बैंकले बढाए, केहीको स्थिर र केहीले घटाए

ब्याजदरको कार्टेलिङ अन्त्यपछि ४ बैंकले बढाए, केहीको स्थिर र केहीले घटाए

काठमाडौं : वाणिज्य बैंकहरुको ब्याजदर निर्धारण प्रक्रिया स्वयंले नै तोक्ने भएपछि बैंकहरुले साउन १ गतेदेखि लागू हुनेगरी ब्याजदर तोकेका छन् । बैंकहरुले सार्वजनिक गरेअनुसार ४ बैंकले निक्षेपमा दिने अधिकतम ब्याजदरको सीमा बढाएका छन् । केही बैंकले दिने ब्याजदर स्थिर छ भने केही बैंकले घटाएका छन् ।

यस अघि बैंकहरुले अधिकतम ९.९९ प्रतिशतसम्म ब्याजदर दिँदै आएका थिए । साउन एक गतेदेखि केहीले १०.९ प्रतिशतसम्म दिने भएका छन् । बैंकहरु असार महिनाको ब्याजदरको तुलनामा साउनमा महिनामा बढीमा १० प्रतिशतले निक्षेपको ब्याजदर बढाउन वा घटाउन स्वतन्त्र छन् । 

साउन महिनाको लागि बैंकहरले सार्वजनिक गरिएको नयाँ ब्याजदरको सूचीअनुसार प्राइम कमर्सियल बैंकले ३ महिनाभन्दा बढी अवधिको व्यक्तिगत मुद्दतीमा १०.९४ प्रतिशतसम्म ब्याज दिने घोषणा गरेको छ । त्यस्तै ३ महिनाभन्दा बढी अवधिको रेमिट्यान्स खातामा बैंकले १२.५ प्रतिशत ब्याज दिने घोषणा गरेको छ । 

त्यसैगरी एनएमबी बैंकले १० वर्षमाथिको अवधिका लागि व्यक्तिगत मुद्दतीमा १०.९८ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । त्यसैगरी कुमारी बैंकले ५ वर्षमाथिको अवधिको निक्षेपका लागि १०.०१ प्रतिशतसम्म ब्याजदर दिने र नबिल बैंकले २ वर्षभन्दा बढी अवधिको व्यक्तिगत मुद्दतीमा १०.४९ प्रतिशतसम्म ब्याज दिने घोषणा गरेको छ ।

ग्लोबल आईएमई, हिमालयन, सिटिजन्स, लक्ष्मी सनराइज र एसबीआई बैंकले भने व्यक्तिगत मुद्दतीमा ब्याजदर स्थिर छ । सानिमा, कृषि विकास, प्रभु, एभरेस्ट, सिद्धार्थ बैंकले व्यक्तिगत मुद्दतीमा अधिकतम ब्याजदर ९.५ प्रतिशत तोकेका छन् । माछापुछ्रेले ९, राष्ट्रिय वाणिज्यले ८.९९ र स्टान्डर्ड चार्टर्डले सबैभन्दा कम ८.९५ प्रतिशतसम्म व्यक्तिगत मुद्दती निक्षेपको ब्याज तोकेका छन् ।


व्यक्तिगत मुद्दती खातामा बैंकहरूले दिने ब्याजदरभन्दा संस्थागत मुद्दतीमा कम्तिमा २ प्रतिशत विन्दु कम हुनुपर्ने व्यवस्था छ ।

Advertisment

थप समाचार