काठमाडौं : बैंक तथा वित्तीय संस्थामा ८.८ प्रतिशतले निक्षेप वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको यस आर्थिक बर्षको एघार महिनाको आर्थिक तथा वित्तीय स्थिति अनुसार गत बर्ष सोही अवधिको तुलनामा यस आ.ब.मा ३ प्रतिशत भन्दा बढीले निक्षेप वृद्धि भएको छ । गत आर्थिक बर्षमा ५.७ प्रतिशले निक्षेप वृद्धि भएको थियो । केन्द्रिय बैंकका अनुसार गत जेठसम्म बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ४४५ अर्ब १३ करोडले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप २६६ अर्ब (५.७ प्रतिशत) ले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा ०८० जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १२.२ प्रतिशतले बढेको छ ।
०८० जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ७.९ प्रतिशत, २५.६ प्रतिशत र ५९.८ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अंश क्रमशः ८.८ प्रतिशत, २७.१ प्रतिशत र ५७.१ प्रतिशत रहेको थियो। जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३६.७ प्रतिशत रहेको छ । २०७९ जेठ मसान्तमा यस्तो निक्षेपको अंश ३८.६ प्रतिशत रहेको थियो। त्यसैगरी यस अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा रु.१५७ अर्ब ३६ करोड (३.४ प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा रु.५५२ अर्ब ७१ करोड (१३.५ प्रतिशत) ले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा ०८० जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा ३.० प्रतिशतले बढेको छ । ०८० जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६२.६ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३७.४ प्रतिशत रहेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३.३ प्रतिशत र ३६.७ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ३.२ प्रतिशतले, विकास बैंकहरुको ६.० प्रतिशतले र वित्त कम्पनीहरुको ०.९ प्रतिशतले बढेको छ । ०८० जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ११.६ प्रतिशत कर्जाको लागि चालु सम्पत्ति सुरक्षणको रुपमा रहेको छ भने ६८.० प्रतिशत कर्जाको लागि घर जग्गा धितो सुरक्षण रहेको छ । ०७९ जेठ मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः १२.३ प्रतिशत र ६६.८ प्रतिशत रहेको थियो।
आर्थिक वर्ष २०७९÷८० को एघार महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा ६.६ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ८.४ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा ७.६ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १६.७ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ४.० प्रतिशतले, सेवा उद्योग क्षेत्रतर्फको कर्जा ३.३ प्रतिशतले र उपभोग्य क्षेत्रतर्फको कर्जा ६.७ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा २३.४ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ५.२ प्रतिशतले र ट्रष्ट रिसिट कर्जा ७.३ प्रतिशतले बढेको छ भने अधिविकर्ष कर्जा ६७.६ प्रतिशतले (पछिल्लो वर्षको कर्जाको पुनरवर्गीकरणको कारणसमेत), मार्जिन प्रकृतिको कर्जा ७.२ प्रतिशतले र हायर पर्चेज कर्जा १३.० प्रतिशतले घटेको छ ।
Advertisment