काठमाडौं : धितोपत्र बोर्डबाट लाइसेन्सका लागि आसय पत्र (एलओआई) प्राप्त गरेका नयाँ ब्रोकर कम्पनीहरु संंगठित भएका छन् । उनीहरुले न्यु स्टक ब्रोकर एसोसियसन नेपाल नामको संगठन खोलेका हुन् । संगठनको संयोजकमा सागर ढकाल रहेका छन् ।
एलओआई पाएका नयाँ ब्रोकरहरुले एतिहासमै पहिलो पटक पारदर्शी रुपमा ब्रोकर लाइसेन्स वितरण भएको दावी गर्दै त्यस्तो कामको बिरोध नगर्न पुराना ब्रोकर कम्पनीलाई चेतावनी समेत दिएका छन् ।
न्यु स्टक ब्रोकर एसोसियसन नेपालले प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ, ‘आफ्नो सिन्डिकेट एवं एकाधिकार कायम हुनुपर्छ भन्ने संकुचित मानसिकताका साथ पूँजी बजारमा संलग्न धितोपत्र दलाल व्यवसायीहरुको संगठन स्टक ब्रोकर्स एशोशिएसन अफ नेपालले मिति २०८०/०१/२९ गते जारी गरेको भ्रामक, कपोलकल्पित, आधारहीन विज्ञप्तिले सम्पूर्ण ५६ लाख लगानीकर्ताहरुले गरेको अपेक्षामाथिको तुषारापात भएको हाम्रो ठहर छ ।
उक्त विज्ञप्तिमार्फत स्टक ब्रोकर्स एशोशिएसन अफ नेपालले स्वायत्त नियामक निकाय नेपाल धितोपत्र बोर्ड, तत्कालिन मन्त्री परिषद तथा सर्वोच्च अदालतमाथि प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा आर्थिक चलखेल गरेको आरोप लगाइएको र यसमा हामी भर्खरै पूर्वस्वीकृति ९आशयपत्र० लिई सञ्चालनको तर्खरमा रहेका ४३ वटा नयाँ ब्रोकर कम्पनीहरु समेत संलग्न रहेको आरोप पूर्ण रुपमा निराधार र कपोलकल्पित रहेको छ ।’
नयाँ कम्पनीका लगानीकर्ताहरुले नेपालको इतिहासमै पहिलो पटक समय सिमा तोकर पारदर्शी ढंगले एक रुपैयाँ खर्च नगरि लाइसेन्सका लागि आसय पत्र वितरण भएको पनि बताएका छन् । आर्थिक चलखेलको प्रमाण पेश गर्न पनि नयाँ ब्रोकरहरुले पुरानाहरुलाई चुनौती दिएका छन् ।
‘नेपालको इतिहासमा पहिलो पटक समय सीमा तोकेर, तोकेको समय सीमाभित्र सम्पूर्ण कार्यहरु सक्दै पूर्ण रुपमा पारदर्शी ढंगबाट सबै प्रक्रियाहरु सम्पन्न गरी कार्य अगाडि बढाएकोदेखेको र सो उपर हामीहरुले १ पैसा समेत खर्च नगर्नुपरेको सम्भवतः यो नै पहिलो घटना हो । तर यसरी अगाडि बढाइएको कार्यमा समेत आर्थिक चलखेलको आरोप स्टक ब्रोकर्स एशोशिएसन अफ नेपालले लगाएको हुँदा सो आरोप प्रमाण सहित प्रमाणित गर्न हामी चुनौति दिन्छौ । आगामी दिनमा यस्तै किसिमका आधारहीन, कपोलकल्पित आरोपहरु लगाइएको पाइएमा हामी त्यसउपर कानूनी उपचार खोज्न बाध्य हुनेछौं’, जारी विज्ञप्तिमा भनिएको छ ।
Advertisment