Below Menu
Below Menu

ज्ञानेन्द्रलाल प्रधान विरुद्द अदालतमा मुद्दा दायर

ज्ञानेन्द्रलाल प्रधान विरुद्द अदालतमा मुद्दा दायर

काठमाडौं : नेपाल धितोपत्र बोर्डले नेपाल हाइड्रो डेभलपर्स कम्पनीका तत्कालिन अध्यक्ष ज्ञानेन्द्रलाल प्रधान विरुद्द काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । बोर्डले धितोपत्र सम्बन्धी ऐनको दफा ९८ अनुसारको कारवाही माग गरि मुद्दा दायर गरेको बोर्डका कार्यकारी निर्देशक तथा प्रवक्ता मुक्तिनाथ श्रेष्ठले जानकारी दिए ।

बोर्डका अनुसार ज्ञानेन्द्र लाल प्रधानले आफुले अध्यक्ष हुँदाका बखत तथा सो पदबाट हटेको एक बर्ष पुरा नभएसम्म कुनै तरिकाले शेयर हस्तान्तरण गर्न नहुने नियमको विपरित श्रीमतीलाई घरायसी नामसारी गराई सो शेयर दोस्रो बजारमा श्रीमतीको माध्यमबाट शेयर बिक्री गर्ने गरेको भेटिएको छ। नेप्से, सिडिएससि तथा धितोपत्र दलाल व्यवसायीले पेश गरेको विवरणहरुबाट समेत यो तथ्य प्रष्ट हुन आएको बोर्डले जनाएको छ।

बोर्डले दायर गरेको मुद्दामा भनिएको छ, ‘निजले आफु स्वयमले आफ्नो शेयर विक्री नगरेता पनि परिवारको सहयोग लिई शेयर विक्री गर्ने कार्य सफा मनशायले गरेको देखिएन । निज ज्ञानेन्द्र लाल प्रधानले धितोपत्र लगायतका कानूनमा रहेको छिद्र प्रयोग गरी श्रीमति, छोरा तथा छोरीको नाममा घरायसी नामसारीको परिपञ्च गरी सोही शेयर बिक्री गरेको अवस्था देखिंदा संस्थागत गतिविधी (Corporate Action ) भन्दापनि बजार मूल्यबाट लाभ लिने गरी कारोबार गरेको देखिन आउँछ ।’

प्रधानले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९८ को जालसाजी युक्त कारोबार गरेको देखिएको बोर्डले जनाएको छ । मुद्दामा भनिएको छ ‘निज ज्ञानेन्द्र लाल प्रधानले नियमन निकाय नेपाल धितोपत्र बोर्ड, धितोपत्र बजार लगायत अन्य सरोकारवालालाई झुक्याउने योजना वा काम गरेको प्रष्ट देखिन आयो।’

प्रधान आफुले अध्यक्ष भएको पदबाट हटेको एक बर्ष पुरा नभएसम्म नियमको विपरित श्रीमतिलाई घरायसी नामसारी गराई सो शेयर दोस्रो बजारमा श्रीमतिको माध्यमबाट बिक्री गरेको भन्दै सेबोनले १ देखि ३ लाख रुपैयाँसम्म जरिवाना वा २ वर्ष कैद वा दुवै सजाय गर्न माग गरेको छ ।

Advertisment

थप समाचार