Below Menu
Below Menu

वर्तमान संकट सरकार र निजी क्षेत्र मिलेर समाधान गर्नुपर्छ: राष्ट्रपति पौडेल

वर्तमान संकट सरकार र निजी क्षेत्र मिलेर समाधान गर्नुपर्छ: राष्ट्रपति पौडेल

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको वर्तमान आर्थिक अवस्थाले आफुलाई चिन्तित बनाएको बताएका छन्। ‘जोखिमयुक्त आर्थिक अवस्थालाई ध्यानमा राखेर सबैले आ–आफ्नो क्षेत्रबाट जिम्मेवारी बहन गर्नुपर्छ’, राष्ट्रपति पौडेलले भने, ‘सरकारले पुर्णता पाए लगत्तै प्रधानमन्त्री र अर्थमन्त्रीलाई बोलाएर तत्काल सम्बोधन गर्नुपर्ने बिषयमा ध्यानाकर्षण गराउनेछु ।’

नेपाल चेम्बर अफ कमर्सको पदाधिकारी टोलीसँगको भेटमा राष्ट्रपति पौडेल भने, ‘वर्तमान संकट समाधानका लागि सरकार र निजी क्षेत्र मिलेर काम गर्नुपर्छ । मुलुकभित्र उत्पादन वृद्धि एवं रोजगारी सिर्जना गरेर आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नु अहिलेको आवश्यकता हो ।’

राष्ट्रपतिसंगको भेटका क्रममा चेम्बर अध्यक्ष मल्लले आर्थिक विकास र समृद्धिका लागि राष्ट्रपतिबाट पथप्रर्दशन हुनेमा आफुहरु विश्वस्त रहेको बताए । अध्यक्ष मल्लले भने, ‘बजेट र मौद्रिक नीतिको प्रभावकारी समन्वय नहुँदा अर्थतन्त्रले अपेक्षित गती लिन सकेको छैन । पछिल्लो समय उच्च ब्याजदरका कारण उद्यमी व्यवसायी एवं सर्वसाधरण ऋणीहरुमा गम्भिर असर गरेको छ।’ पुँजिगत खर्च हुन नसक्ने समस्या लगायतले आर्थिक गतिविधी सामान्य अवस्थामा फर्किन नसकेको अध्यक्ष मल्लले बताए।

आर्थिक समृद्धि र अर्थतन्त्रलाई चालायमान बनाउन एकल अंकको ब्याजदर कायम गर्नुपर्ने भन्दै अध्यक्ष मल्लले बजेट र मौद्रिक नीतिको प्रभावकारी समन्वय हुनुपर्नेमा जोड दिए । कर्जा प्रवाह गरिदा ब्याजदरमा लकअप प्रणाली लागु गरिनुपर्ने आफुहरुको माग रहेको मल्लले बताए । लकअप प्रणाली कायम गरिए वित्तीय सन्तुलन कायम हुने र ऋणीहरु मर्कामा नपर्ने चेम्बरको ठहर छ ।

राष्ट्रपतिसमक्ष अध्यक्ष मल्ललले बाँझो जमिन सदुपयोग गरी कृषि उत्पादनमा आधुनिकीकरण, यान्त्रीकरण एवं बैज्ञानिकीकरण गरी मुलुकलाई आत्मनिर्भर बनाउन सकिने सुझाव दिए । कृषि कर्जा प्रवाह गर्दा खेत किन्नेलाई नभई खेती गर्नेले पाउने व्यवस्थाका लागि पनि अध्यक्ष मल्लले राष्ट्रपति पौडेलको ध्यानकर्षण गराए । आत्मनिर्भर कृषिका लागि राष्ट्रपति माटो प्रर्वद्धन जस्ता परियोजना बनाई राष्ट्रिय नीतिमा समावेश गरिनुपर्ने समेत चेम्बरले सुझाव दिएको छ।

Advertisment