काठमाडौं : अर्थतन्त्रको बाह्य अवस्थामा सुधार देखिए पनि आन्तरिक अवस्था चिन्ताजनक रहेको नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरुले बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू र एफएनसीसीआईका पदाधिकारी बीच अर्थतन्त्रमा उत्पन्न समस्या एवं समाधानका उपायहरू सम्बन्धमा छलफल भएको थियो ।
छलफलमा महासंघका अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्रको पछिल्लो अवस्थाका बारेमा विस्तृत जानकारी गराएका थिए । छलफलमा महासंघका अध्यक्ष गोल्छा, वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालसहित पदाधिकारीहरू र स्वतन्त्र पार्टीका संसदीय दलका नेता डोल प्रसाद अर्यालको नेतृत्वमा आएको सांसद प्रतिनिधिमण्डलका सदस्यहरू थिए ।
‘सार्क राष्ट्रमा कतिपय देशको तुलनामा विदेशी मुद्रा संचिति, मुद्रास्फिति, आन्तरिक एवं वाहय ऋणको अनुपातका हिसावले नेपालको अर्थतन्त्र मजवुत देखिएपनि चर्को व्याज दर, तरलता संकट, निर्माण क्षेत्रमा आएको सुस्तता लगायतका इन्डिकेटरका कारण अर्थतन्त्रको स्वास्थ्य चिन्ता रहेको प्रष्ट हुन्छ,’ अध्यक्ष गोल्छाले भने ।
अर्थतन्त्र गम्भीर संकटमा हुनुमा सरकारको आर्थिक नीति र केन्द्रीय बैंकको मौद्रिक नीति बीच तादात्म्यता नहुनु भएको बताए । जसको परिणाम संकटउन्मुख रहेको उनले बताए । ‘यसरी अर्थतन्त्रमा संकट आउंदा न हामीले पर्याप्त मात्रामा बाह्य लगानी ल्याउन सक्यौ न त वाह्य ऋण नै । दल तथा सरकार वितरणमुखी भैदिंदा अर्थतन्त्रमा समस्या आएको हो,’ उनले भने, ‘विकास खर्च नबढेसम्म देश अगाडी बढ्दैन ।’
अध्यक्ष गोल्छाले सहकारी तथा लघुवित्त संस्थाहरुको प्रभावकारी नियमन गर्ने इस्यूलाई संसदमा प्रभावकारी ढंगबाट उठाउनु पर्ने सुझाव राखे । सहकारी तथा लघुवित्त संस्थाको अनुगमन नहुंदा पनि अहिलेको समस्या आएको उनले प्रष्ट पारे ।
राजनीतिक दलहरुले समृद्धिका कुरा वारम्वार ल्याउने गरेपनि समृद्धिका सारथी निजी क्षेत्रसंग आर्थिक विषयमा कहिल्यै पनि उदार दीलले कुरा गर्न नचाहेको दुखेसो उनले गरे ।
राष्टिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता अर्यालले मुलुकको अर्थतन्त्र, उद्योग व्यवसायका इस्यूहरु माथि छलफल एवं अध्ययन गर्न महासंघ आएको स्पष्ट पारे ।
छलफलमा महासंघका वरिष्ठ उपाध्यक्ष ढकालले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन अपरिहार्य रहेको, अर्थतन्त्र, उद्योग व्यवसाय सम्बन्धी नीति निर्माण गर्दा सरोकारवाला निजी क्षेत्रसंग पर्याप्त छलफल पश्चात मात्र ल्याउने अभ्यास गर्नुपर्ने र मुलुक बनाउने कुरामा आफना स्वार्थलाई छोडेर निर्णय गर्न सक्ने परिपाटी दलहरुमा बसाल्नु पर्ने उनको सुझाव थियो ।
महासंघका उपाध्यक्ष रामचन्द्र संघाई र कोषाध्यक्ष सुकुन्तलाल हिराचनले उत्पादनमुलक उद्योगमै गएर उनीहरुका समस्या बुझेर संसदमा आवाज उठाई दिन आग्रह गरे । पैसा बैंकमा जम्मा गरेर व्याज खाने प्रवृति सरकारी निकायमा समेत रहेकाले अर्थतन्त्र समस्या पर्दै गएको उनीहरुको दावी थियो ।
सो अवसरमा सांसदहरुले निजी क्षेत्रका समस्या, उद्योग व्यवसाय सिथिल हुँदै जानुको कारण, श्रम बजारका समस्या, रोजगारीका अवसर सिर्जना, आयात निर्यात बीचको फासला कम गर्न चाल्नुु पर्ने उपाय, कृषिको क्षेत्रको विकास, वाह्य लगानी आकर्षणमा गर्नु पर्ने प्रयास लगायतमा जिज्ञासाहरु राखेका थिए ।
Advertisment