Below Menu

जलविद्युत् र चिसो हावापानी उपयोग गरेर नेपालमा एआई डाटा सेन्टर बनाउन सकिने

जलविद्युत् र चिसो हावापानी उपयोग गरेर नेपालमा एआई डाटा सेन्टर बनाउन सकिने

काठमाडौं : जलविद्युत् उत्पादनको सम्भावना र चिसो हावापानीलाई उपयोग गरेर नेपालले कृत्रिम बौद्धिकता (एआई) का लागि आवश्यक डाटा सेन्टर विकास गर्न सक्ने विज्ञहरूले बताएका छन् । विश्वव्यापी रूपमा एआईको प्रयोग विस्तार भइरहेका बेला नेपालले ऊर्जा र भौगोलिक अवस्थालाई प्रतिस्पर्धात्मक लाभका रूपमा उपयोग गर्नुपर्ने उनीहरूको सुझाव छ ।

Sponsored Advertisement

डिजिटल मिडिया फाउन्डेसनले शनिबार काठमाडौंमा आयोजना गरेको तेस्रो राष्ट्रिय एआई सम्मेलनअन्तर्गतको अन्तर्राष्ट्रिय सत्रमा सहभागी विज्ञहरूले नेपालले एआई पूर्वाधार विकासमा लगानीको सम्भावना खोज्नुपर्ने बताएका हुन् ।

‘द न्यु एआई ल्यान्डस्केप ः ग्लोबल सिफ्ट्स, नेपाल्स स्ट्राटेजिक च्वाइसेस’ विषयक सत्रमा बेलायतको युनिभर्सिटी अफ योर्कका पूर्वप्राध्यापक तथा वाइजयाकका प्रमुख कार्यकारी अधिकृत प्रा. डा. सुरेश मानन्धरले नेपालको जलविद्युत् सम्भावनालाई एआई पूर्वाधार विकाससँग जोड्न सकिने बताए ।

उनका अनुसार एआई डाटा सेन्टर सञ्चालनका लागि ठूलो परिमाणमा विद्युत् आवश्यक पर्छ । नेपालमा जलविद्युत् उत्पादनको सम्भावना रहेकाले यसलाई डाटा सेन्टर विकासमा उपयोग गर्न सकिन्छ । तर, डाटा सेन्टरका लागि वर्षभरि अविच्छिन्न विद्युत् आपूर्ति सुनिश्चित गर्नु मुख्य चुनौती हुने उनले बताए ।

‘टियर–१ वा टियर–२ स्तरको डाटा सेन्टर सञ्चालन गर्न ९९.९९९ प्रतिशतसम्म सेवा उपलब्धता आवश्यक हुन्छ,’ उनले भने, ‘नेपालमा १०० मेगावाटको जलविद्युत् आयोजना भए पनि हिउँदमा उत्पादन घटेर १० मेगावाटमा सीमित हुन्छ भने वर्षभरि सञ्चालन हुने डाटा सेन्टरको क्षमता पनि त्यहीअनुसार निर्धारण गर्नुपर्छ ।’

उनले डाटा सेन्टर विकासका लागि विद्युत् उत्पादन क्षमता मात्रै पर्याप्त नहुने भन्दै आपूर्तिको निरन्तरता र विश्वसनीयतामा पनि ध्यान दिनुपर्ने बताए । जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत्को मौसमी उतारचढाव व्यवस्थापन नगरी ठूलो क्षमताको एआई डाटा सेन्टर सञ्चालन गर्न कठिन हुने उनको भनाइ छ ।

मानन्धरले सरकारले विश्वविद्यालय तथा कलेजका विद्यार्थीलाई समेत निःशुल्क पहुँच उपलब्ध हुने एआई डाटा सेन्टर स्थापना गर्नुपर्ने प्रस्ताव गरे । यसले अनुसन्धान, प्रविधि विकास र दक्ष जनशक्ति उत्पादनमा सहयोग पुग्ने उनको अपेक्षा छ ।

सिंगापुरस्थित एआई एसिया प्यासिफिक इन्स्टिच्युटका बोर्ड अध्यक्ष डा. पिटर ब्रिम्बलले पनि एआई पूर्वाधार विकासका लागि विद्युत्, डाटा र डिजिटल पूर्वाधार महत्त्वपूर्ण रहेको बताइन् । विकासशील देशहरूले एक्लै ठूलो लगानी गरेर प्रतिस्पर्धा गर्नुभन्दा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय साझेदारीबाट पूर्वाधार विकास गर्न सक्ने उनको सुझाव थियो ।

उनका अनुसार एआई प्रविधिको विस्तारसँगै डाटा सेन्टरको विद्युत् माग तीव्र रूपमा बढिरहेको छ । त्यसैले नेपालले आफ्नो ऊर्जा सम्भावना उपयोग गर्दै क्षेत्रीय सहकार्य र प्रविधि साझेदारीलाई पनि प्राथमिकता दिनुपर्ने आवश्यकता छ ।

विज्ञहरूले एआई डाटा सेन्टरलाई केवल प्रविधि पूर्वाधारका रूपमा नभई नेपालको जलविद्युत् उपयोग, विदेशी लगानी आकर्षण, अनुसन्धान र डिजिटल अर्थतन्त्र विस्तारसँग जोडेर हेर्नुपर्ने बताएका छन् ।

थप समाचार