काठमाडौं : नगरकोट रिसोर्ट लिमिटेडले रिसोर्ट विस्तारका लागि ८० करोड १० लाख रुपैयाँ लगानी गर्ने परियोजना अन्तिम चरणमा पुर्याएको छ। हाल २४ वटा कोठाबाट सञ्चालन हुँदै आएको रिसोर्टलाई विस्तार गरी कुल ८५ कोठाको बनाउने योजना अघि बढाइएको हो।
कम्पनीले थप ६१ वटा कोठा निर्माण गर्ने गरी विस्तार परियोजना सञ्चालन गरिरहेको छ। परियोजनाको अनुमानित लागत ८० करोड १० लाख रुपैयाँ रहेको छ। परियोजनाको वित्तीय संरचनामा ३४ प्रतिशत ऋण र ६६ प्रतिशत इक्विटी रहने व्यवस्था गरिएको छ। यसअनुसार २७ करोड ३० लाख रुपैयाँ ऋणबाट र बाँकी रकम प्रवद्र्धकहरूको इक्विटी लगानीबाट जुटाउने योजना छ।
प्रवद्र्धकहरूले यसअघि नै ६० करोड रुपैयाँ इक्विटी लगानी गरिसकेका छन्। यसले परियोजना निर्माणका लागि बाह्य ऋणमा कम्पनीको निर्भरता कम गर्नुका साथै वित्तीय लचकता कायम गर्न सहयोग गरेको रिपोर्टमा उल्लेख छ।
हालसम्म परियोजनाको ९८ प्रतिशत वित्तीय प्रगति भएको छ। परियोजनामा ७८ करोड ६० लाख रुपैयाँ खर्च भइसकेको छ। उक्त खर्चमध्ये २४ करोड रुपैयाँ ऋणबाट र बाँकी रकम इक्विटीबाट व्यवस्थापन गरिएको छ।
यसैबीच, रेटिङ एजेन्सीले नगरकोट रिसोर्ट लिमिटेडको ‘डबल बी’ इश्यूअर रेटिङलाई पुनः कायम राखेको छ। उक्त रेटिङले कम्पनीमा वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमतासँग सम्बन्धित मध्यम स्तरको जोखिम रहेको संकेत गर्छ।
हाल सञ्चालनमा रहेको २४ कोठाको व्यवसायको आकार भने तुलनात्मक रूपमा सानो छ। कम्पनीको कुल सञ्चालन आम्दानी आर्थिक वर्ष २०८१/८२ मा ४ करोड ९० लाख रुपैयाँ रहेकोमा आर्थिक वर्ष २०८२/८३ मा बढेर ५ करोड ५० लाख रुपैयाँ पुगेको छ।
आम्दानी वृद्धि हुनुमा मुख्यतः औसत कोठा दरमा भएको वृद्धि प्रमुख कारण देखिएको छ। आर्थिक वर्ष २०८१/८२ मा औसत कोठा दर ७ हजार ४०१ रुपैयाँ रहेकोमा २०८२/८३ मा बढेर ८ हजार ८७६ रुपैयाँ पुगेको छ। सो अवधिमा रिसोर्टको कोठा अकुपेन्सी भने ६० प्रतिशतमा स्थिर रहेको छ।
कम्पनीले आर्थिक वर्ष २०८२/८३ मा २ करोड रुपैयाँ बराबरको नगद आम्दानी गरेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो नगद आम्दानी एक करोड ९० लाख रुपैयाँ थियो।
कम्पनीको सञ्चालन आम्दानी सन् २०२४ मा २ करोड रुपैयाँ रहेकोमा सन् २०२५ मा ४ करोड ९० लाख र सन् २०२६ को अपरिष्कृत विवरणअनुसार ५ करोड ५० लाख रुपैयाँ पुगेको छ। सोही अवधिमा सञ्चालन नाफा मार्जिन क्रमशः ४९.२३ प्रतिशत, ५६.४७ प्रतिशत र ५९.१८ प्रतिशत रहेको छ।
कम्पनीको ब्याज भुक्तानी क्षमता पनि सुधारिएको देखिन्छ। ब्याज कभरेज अनुपात सन् २०२४ मा १।३१ गुणा रहेकोमा सन् २०२५ मा ३।७१ गुणा पुगेको थियो। सन् २०२६ मा भने यो अनुपात ३।०१ गुणा कायम भएको छ।
त्यस्तै, कम्पनीको समग्र गियरिङ सन् २०२४ मा ०.३८ गुणा, सन् २०२५ मा ०.३३ गुणा र सन् २०२६ मा ०.३९ गुणा रहेको छ। यद्यपि ऋणको तुलनामा नगद प्रवाहको अवस्था अझै पूर्ण रूपमा सहज भइसकेको छैन। सन् २०२६ मा कुल ऋण र ग्रस क्यास एक्रुअल्सको अनुपात ११.७७ गुणा रहेको छ।
नगरकोट क्षेत्रमा पछिल्लो समय होटल तथा रिसोर्टको संख्या बढ्दै गएपछि भविष्यमा कोठाको औसत दरमा दबाब पर्न सक्ने जोखिम रहेको रिपोर्टले औंल्याएको छ।
कम्पनीका अध्यक्ष सुरेन्द्र राउत क्षेत्री विभिन्न व्यवसायमा संलग्न अनुभवी उद्यमी हुन्। उनी साई इन्टरप्रेन्योर नेपाल प्रालिका प्रबन्ध निर्देशक तथा सौर्य एन्ड सौरवी इन्टरप्राइजेजका सञ्चालकसमेत हुन्।
नगरकोट काठमाडौं उपत्यकाको नजिक रहेको प्रमुख पर्यटकीय गन्तव्य हो। हिमाली दृश्यावलोकनका लागि स्वदेशी तथा विदेशी पर्यटकबीच लोकप्रिय नगरकोटबाट हिमालयका विभिन्न श्रृंखलाको दृश्यावलोकन गर्न सकिन्छ। मनोरञ्जन, प्रकृति, पदयात्रा तथा साहसिक पर्यटनका लागि समेत नगरकोटको आकर्षण कायम छ।
नगरकोट भ्यू टावर, बौद्ध गुम्बा, ब्याट केभ, बौद्ध पीस पार्क तथा मुहान पोखरी झरनालगायतका पर्यटकीय गन्तव्यले यस क्षेत्रको पर्यटन सम्भावनालाई थप बल दिएको छ।
नगरकोट रिसोर्ट लिमिटेड सन् २०१८ अप्रिल ११ मा स्थापना भएको हो। कम्पनीलाई सन् २०२३ जुलाई ७ मा पब्लिक लिमिटेडमा रूपान्तरण गरिएको थियो।विस्तार परियोजना पूर्ण भएपछि रिसोर्टमा ८५ वटा कोठा हुनेछन्।
कम्पनीले निजी बाथरुम, वातानुकूलित कोठा, आधुनिक सुविधा तथा बगैंचा, स्विमिङ पुल वा हिमाली दृश्य देखिने बाल्कोनी तथा टेरेससहितको आवासीय सुविधा उपलब्ध गराउने योजना अघि बढाएको छ।