घुस लिएको आरोपमा विद्युत् प्राधिकरणका इन्जिनियर यादवविरुद्ध मुद्दा दायर 

घुस लिएको आरोपमा विद्युत् प्राधिकरणका इन्जिनियर यादवविरुद्ध मुद्दा दायर 

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादवविरुद्ध घुस लिएको आरोपमा विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ।

Sponsored Advertisement

अख्तियारका अनुसार इटहरी उपमहानगरपालिका-८ स्थित वितरण केन्द्रमा कार्यरत यादवले एक गार्मेन्ट उद्योगमा २० केभिए क्षमताको विद्युत् लाइन जडानका लागि सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेका थिए।

घुस मागेको भन्ने सूचना तथा उजुरीका आधारमा अख्तियारको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले यादवलाई सेवाग्राहीबाट ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।

अनुसन्धानका क्रममा यादवले आफ्नो पद र जिम्मेवारीको दुरुपयोग गर्दै सेवाग्राहीको उद्योगमा विद्युत् लाइन जडान गर्ने काममा अनावश्यक ढिलासुस्ती गरेको अख्तियारको दाबी छ। 

आयोगका अनुसार उनले सेवाग्राहीलाई दुःख तथा हैरानी दिई घुस दिन बाध्य बनाएको र विद्युत् लाइन जडान तथा त्यससम्बन्धी सहजीकरण गरिदिएबापत ५० हजार रुपैयाँ माग गरी लिएको पुष्टि भएको छ।

अख्तियारले यादवविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० बमोजिमको कसुर कायम गरी ५० हजार रुपैयाँ बिगो मागदाबी गरेको छ।

आयोगले सोही ऐनको व्यवस्था बमोजिम यादवलाई कैद तथा बिगोबमोजिम जरिवाना सजाय हुनुपर्ने मागदाबी गर्दै २०८३ साल असोज १९ गते विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको जनाएको छ।

थप समाचार