वासिङ्टन : अमेरिकी फेडरल रिजर्भले तीन वर्षभन्दा बढी समयपछि पहिलोपटक ब्याजदर बढाएको छ। बढ्दो मुद्रास्फीति नियन्त्रण गर्ने उद्देश्यले फेडले ब्याजदर ३.५०-३.७५ प्रतिशतबाट बढाएर ३.७५-४ प्रतिशत पुर्याएको हो।
फेडको यो निर्णय सर्वसम्मत भएको बताइएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले भने ब्याजदर घटाउनुपर्ने भन्दै लगातार दबाब दिँदै आएका थिए।
फेड अध्यक्ष केभिन वार्शले मुद्रास्फीति अझै उच्च रहेको र लामो समयदेखि लक्ष्यभन्दा माथि रहेको भन्दै ब्याजदर वृद्धि जिम्मेवार निर्णय भएको बताएका छन्। उनका अनुसार अमेरिकी मुद्रास्फीति पाँच वर्षभन्दा बढी समयदेखि फेडको २ प्रतिशतको लक्ष्यभन्दा माथि छ।
वार्शले अमेरिकी अर्थतन्त्र र रोजगारी बजारमा देखिएको मजबुतीका कारण फेडको मुख्य ध्यान मूल्य स्थिरतामा रहेको बताए। उनले तेल वा खाद्यान्नजस्ता व्यक्तिगत वस्तुको मूल्यमा फेडले प्रत्यक्ष प्रभाव पार्न नसके पनि मूल्यवृद्धि समग्र अर्थतन्त्रमा फैलिन नदिन मौद्रिक नीतिमार्फत काम गर्न सक्ने बताए।
ब्याजदर बढेसँगै ऋण, घर कर्जा र क्रेडिट कार्ड प्रयोग गर्नेहरूका लागि कर्जाको लागत बढ्न सक्छ। अर्कोतर्फ, बचतमा प्राप्त हुने प्रतिफल भने बढ्न सक्नेछ।
बुधबार फेडको निर्णयपछि जेपी मोर्गन, कीकर्प र बीएनवाईलगायतका प्रमुख अमेरिकी बैंकहरूले आफ्नो प्राइम लेन्डिङ रेट ६.७५ प्रतिशतबाट बढाएर ७ प्रतिशत पुर्याएका छन्।
अमेरिकामा ३० वर्षे स्थिर ब्याजदरको घर कर्जा औसत ६.७६ प्रतिशत र १५ वर्षे कर्जा ६.०९ प्रतिशत रहेको फ्रेडी म्याकको तथ्यांकमा उल्लेख छ। स्थिर ब्याजदरमा पहिले नै घर कर्जा लिइसकेका धेरै अमेरिकीको मासिक किस्तामा भने ब्याजदर वृद्धिले प्रत्यक्ष असर नपर्न सक्छ। तर नयाँ घर कर्जा लिन वा पुरानो कर्जा पुनः वित्तीयकरण गर्न खोज्नेहरू प्रभावित हुन सक्छन्।
वार्शले आगामी ब्याजदरबारे आफ्नो व्यक्तिगत धारणा सार्वजनिक गर्न अस्वीकार गरेका छन्। तर फेडका अधिकांश नीतिनिर्माताले यस वर्षको अन्त्यअघि ब्याजदर पुनः बढाएर ४-४.२५ प्रतिशतको दायरामा पुर्याउन सकिने अनुमान गरेका छन्।
फेडका केही नीतिनिर्माताले आगामी वर्ष ब्याजदर ४.२५-४.५ प्रतिशतसम्म पुग्न सक्ने बताएका छन्। त्यसपछि २०२८ र २०२९ मा ब्याजदर कटौती सुरु हुन सक्ने अनुमान गरिएको छ।
फेडको प्रक्षेपणअनुसार आगामी वर्षहरूमा मूल्यवृद्धि क्रमशः घट्दै जाने र सन् २०२९ सम्ममा मुद्रास्फीति फेडको २ प्रतिशतको लक्ष्यमा पुग्ने अपेक्षा गरिएको छ। फेडको पछिल्लो वृद्धि जुलाई २०२३ पछिको पहिलो ब्याजदर वृद्धि हो। यसअघि डिसेम्बर २०२५ मा ब्याजदर कटौती गरिएको थियो।
राष्ट्रपति ट्रम्पले फेडको निर्णयप्रति असन्तुष्टि जनाउँदै ब्याजदर अझै उच्च रहेको बताएका छन्। उनले फेडको बोर्डलाई राजनीतिक र शत्रुतापूर्ण भएको आरोप लगाएका छन्। यता डेमोक्रेटिक सांसदहरूले ब्याजदर वृद्धिले ऋणको लागत बढाउने र थप अमेरिकी नागरिक ऋणमा पर्न सक्ने बताएका छन्।
अमेरिकी फेडको ब्याजदर वृद्धिको प्रभावसँगै मुद्रास्फीतिको सामना गरिरहेका अन्य केन्द्रीय बैंकहरू पनि मौद्रिक नीतिमा कडाइ गरिरहेका छन्। युरोपेली केन्द्रीय बैंकले गत साता ब्याजदर बढाएको थियो भने बैंक अफ इङ्ल्यान्डले पनि ब्याजदरसम्बन्धी निर्णय गर्ने तयारी गरेको छ।