बाढीको पीडामा पत्रकार महासंघ बागमती प्रदेशको मल्हम, प्रभावित पत्रकार तथा परिवारलाई सहयोग

बाढीको पीडामा पत्रकार महासंघ बागमती प्रदेशको मल्हम, प्रभावित पत्रकार तथा परिवारलाई सहयोग

मकवानपुर : प्रकृतिको क्रूर रूप कतिसम्म निर्मम हुन सक्छ भन्ने ज्वलन्त उदाहरण रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको भीषण बाढीले देखाइदिएको छ । नदी उर्लियो, बस्ती बगायो, घरबार उजाडिए । धेरै परिवारका सदस्य सम्पर्कविहीन भए । नागरिकका दुःख र पीडा शब्दमा उतार्ने पत्रकारहरू समेत यो विपत्तिबाट अछुतो रहन सकेनन् । त्यसमध्ये सबैभन्दा गहिरो पारिवारिक क्षति व्यहोर्ने पत्रकारमध्येका एक हुन्, निराजन पौडेल ।

भोटेकोशीको त्यो बाढी निराजनका लागि प्राकृतिक विपत्ति मात्रै रहेन । त्यो उनको जीवन नै तहसनहस पार्ने कालो दिन बन्यो । बाढीले उनका बुवा, आमा, काका, काकी र बहिनीसहित परिवारका पाँच सदस्यलाई एकैपटक खोस्यो । परिवारका सदस्यसँगै शिरमाथिको घर र सम्पत्तिसमेत बाढीले बगायो ।
रसुवाका पत्रकार पौडेल अहिले आफन्त गुमाएको शोकमा काठमाडौंको टोखामा किरियामा बसेका छन् । आफन्त गुमाउनुको पीडा, घरबार गुमाउनुको पीडा र एकैपटक सिंगो संसार उजाडिएको अनुभूति उनका लागि शब्दमा व्यक्त गर्न कठिन छ ।

पौडेल रातोपाटी अनलाइनमा कार्यरत पत्रकार तथा नेपाल पत्रकार महासंघ रसुवा शाखाका सदस्य हुन् । उनको स्थायी घर नुवाकोटको विदुर नगरपालिका–७, तुप्चे हो । रोजगारीका क्रममा काठमाडौँमा रहेर पत्रकारिता गर्दै आएका पौडेलको परिवारलाई भोटेकोशीको बाढीले ठूलो क्षति पुर्‍याएको हो ।
यही असह्य पीडाका बीच सहकर्मी पत्रकारको साथ र सहयोग लिएर नेपाल पत्रकार महासंघ बागमती प्रदेश समिति पौडेलसम्म पुगेको छ । महासंघले पौडेलसहित बाढी प्रभावित पत्रकार तथा उनीहरूका परिवारलाई आर्थिक सहयोग गरेको हो ।

महासंघका अनुसार बाढी प्रभावित पत्रकारहरू रसुवाका निराजन पौडेल, नुवाकोटका किरण अधिकारी, सन्नी श्रेष्ठ, धादिङका विपिन मल्ल र नुवाकोटका बेपत्ता पत्रकार राजकुमार नेपालीका परिवारलाई आर्थिक सहयोग गरिएको छ । प्रभावित पत्रकार तथा परिवारको अवस्था हेरी सम्बन्धित शाखामार्फत तथा प्रत्यक्ष भेटेर सहयोग रकम हस्तान्तरण गरिएको महासंघले जनाएको छ ।

महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारू मगरको अगुवाइमा नुवाकोट शाखाका अध्यक्ष रामहरि गजुरेल, रसुवा शाखाका अध्यक्ष केशव पौडेल, धादिङ शाखाका अध्यक्ष सिताराम अधिकारीलगायतको समन्वयमा प्रभावित पत्रकारहरूलाई भेटेर सहयोग गरिएको हो ।

बाढीले पत्रकारका घरपरिवारमा मात्रै क्षति पुर्‍याएको छैन, उनीहरूले काम गर्ने सञ्चारमाध्यमसमेत प्रभावित भएका छन् । कतिपय स्थानमा सडक तथा यातायात अवरुद्ध हुँदा समाचार संकलनमा कठिनाइ भएको छ । विद्युत् र इन्टरनेट सेवा प्रभावित हुँदा समाचार सम्प्रेषणमा समस्या भएको छ भने सञ्चार उपकरणमा समेत क्षति पुगेको महासंघले जनाएको छ ।

महासंघ अध्यक्ष मगरले विपद्को समयमा आफ्नो ज्यान जोखिममा राखेर नागरिकलाई सूचना प्रवाह गरिरहेको अवस्थामा बाढीबाट प्रभावित पत्रकारको सुरक्षा, सञ्चार सेवा, आवश्यक उपकरण तथा राहत र उद्धारका विषयमा सम्बन्धित निकाय गम्भीर बन्न आवश्यक रहेको बताए । पत्रकार महासंघ सबै पत्रकारको अभिभावक संस्था भएकाले विपद्मा परेका पत्रकारको पुनःस्थापना, बेपत्ता पत्रकारहरुको खोजीका लागि आफूहरुले भूमिका खेलिरहेको पनि उनको भनाई छ ।

महासंघले रसुवा, नुवाकोट र धादिङमा बाढी तथा पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ । साथै बाढीमा फसेकाहरूको उद्धार, बेपत्ताको खोजी तथा घाइतेको उपचारलाई प्रभावकारी बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।

थप समाचार