काठमाडौं : देशमै पहिलो पटक ‘डिजिटल फेस्ट’को अवधारणासहित राष्ट्रिय घर निर्माण फेस्ट-२०८३ आयोजना हुने भएको छ । घर निर्माण फेस्टसँगै सञ्चालन गरिने डिजिटल फेस्टका लागि काठमाडौंको भृकुटीमण्डपमा छुट्टै मल्टिपर्पोज स्टुडियो निर्माण गरिनेछ ।
यस वर्षको राष्ट्रिय घर निर्माण फेस्ट-२०८३ पुस ९ देखि १२ गतेसम्म आयोजना हुनेछ । उक्त स्टुडियोमार्फत प्रदर्शनीमा सहभागी ब्रान्ड, कम्पनी तथा संस्थाले आफ्ना उत्पादन र सेवासम्बन्धी जानकारी तथा विज्ञापन प्रस्तुत गर्न सक्नेछन्।
ती सामग्री राष्ट्रिय टेलिभिजन तथा आयोजकको सामाजिक सञ्जालमार्फत प्रत्यक्ष प्रसारण गरिने व्यवस्था गरिएको छ ।
आयोजकका अनुसार डिजिटल फेस्टको मुख्य उद्देश्य फेस्टलाई भौतिक उपस्थितिमा मात्र सीमित नराखी काठमाडौं बाहिरका अवलोकनकर्ता तथा अन्तर्राष्ट्रिय पहुँच भएका दर्शकसम्म पुर्याउनु हो । यसबाट स्वदेशी उत्पादन र सेवाको अन्तर्राष्ट्रिय प्रवद्र्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।
पछिल्ला वर्षहरूमा प्रविधिको प्रयोग व्यापक बन्दै जाँदा सामाजिक सञ्जाल र कन्टेन्ट मार्केटिङको स्वरूप परिवर्तन भएको सन्दर्भमा फेस्टलाई पनि डिजिटल माध्यमसँग जोडिएको हो। यसले नेपाल बाहिर रहेका नेपाली ग्राहकलाई समेत नेपालको निर्माण क्षेत्रको अहिलेसम्मकै ठूलो मेलासँग जोड्ने विश्वास गरिएको छ ।
अघिल्लो वर्ष १५० स्टल राखिएकोमा यस पटक २०० बढी स्टलहरु राखिनेछन्। प्रदशनीका लागि स्टल बुकिङमा यसपटक व्यवसायीको उत्साहित भएका छन्। हालम्म ६० प्रतिशत बुकिङ भइसकेको घर निर्माण फाउण्डेसनले जनाएको छ ।
नयाँ स्वरुपमा आयोजना गर्न लागिएको यस पटकको फेस्टमा अवलोकन गर्न आउने दर्शकको संख्यामा उल्लेख्य बृद्धि हुने अनुमान गरिएको छ भने कारोबार रकम समेत ४ अर्ब बढी हुने लक्ष्य राखिएको छ ।
घर निर्माणका लागि आवश्यक निर्माण सामग्री र सम्पूर्ण जानकारी बारेमा अवलोकनकर्ताका लागि सञ्चालन गर्न लागिएको फेस्टमा ट्राइनोक्स ग्लोबलले सहकार्य गरेको छ ।
यसअघि गत पुस १२ देखि १५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न राष्ट्रिय घर निर्माण फेस्ट–२०८२ को दोस्रो संस्करणमा ६० हजारभन्दा बढी दर्शकले अवलोकन गरेका थिए ।
उक्त फेस्टमा १५० भन्दा बढी स्टल राखिएका थिए भने यस वर्ष प्रदर्शनीलाई थप विस्तार गर्ने तयारी गरिएको आयोजकले जनाएको छ । घर बनाउने सोचमा रहेका सर्वसाधारणदेखि निर्माण व्यवसायी, इन्जिनियर, आर्किटेक्ट, विद्यार्थी तथा सरोकारवालालाई एउटै प्लेटफर्ममा ल्याउने उद्देश्यसहित फेस्ट आयोजना गर्न लागिएको हो।
घर निर्माण फाउन्डेसनका अनुसार नेपालमा निर्माण तथा व्यावसायिक गतिविधि बढ्दै गए पनि धेरै ब्रान्डले आफ्नो पहिचान प्रभावकारी रूपमा प्रस्तुत गर्न, ग्राहकसँग सम्बन्ध विस्तार गर्न तथा उत्पादनलाई व्यवस्थित र आकर्षक ढंगले प्रदर्शन गर्न चुनौती सामना गरिरहेका छन् । यिनै चुनौतीलाई सम्बोधन गर्ने उद्देश्यले फेस्ट आयोजना गर्न लागिएको हो । गत वर्षको प्रदर्शनीमा सहभागी विभिन्न व्यवसायीले कुल साढे ३ सय करोड रुपैयाँभन्दा बढीको कारोबार गरेका थिए ।