एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलमार्ग छिट्टै पुनः सञ्चालनमा नआए इरानले कडा प्रहार सामना गर्नुपर्ने चेतावनी दिएका छन्। यद्यपि, कूटनीतिक पहल सकारात्मक देखिएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटिरहेको छ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनसार ट्रम्पले इरानसँग राम्रो छलफलभइरहेको र महिनौंदेखिको तनाव अन्त्य गर्ने सम्झौतामा तेहरान इच्छुक रहेको बताए। उनले हर्मुज जलमार्ग छिट्टै खुल्ने विश्वास व्यक्त गरे।
अमेरिकी विदेशमन्त्री मार्को रुबियो र अर्थमन्त्री स्कट बेसेन्टले पनि वार्तामा प्रगति भएको बताएका छन्। उनीहरूका अनुसार हर्मुज हुँदै अन्तर्राष्ट्रिय जहाजहरूको आवागमन पुनः सुचारु गर्ने विषयमा छलफल सकारात्मक रहेको छ र केही दिनभित्रै सहमति हुन सक्ने अपेक्षा गरिएको छ।
यसैबीच, अमेरिकी सेनाको सेन्ट्रल कमाण्डले हर्मुज जलानर्गको दक्षिणी मार्ग अन्तर्राष्ट्रिय व्यापारिक जहाजका लागि खुला रहेको जनाएको छ। यद्यपि, क्षेत्रीय तनावका कारण समुद्री सुरक्षालाई लिएर अझै चिन्ता कायम छ।
वार्ताबाट सकारात्मक संकेत आएपछि विश्व बजारमा तेलको मूल्य उल्लेखनीय रूपमा घटेको छ। ब्रेन्ट क्रुडको मूल्य करिब पाँच प्रतिशतले घटेर प्रतिबारेल ८० डलरभन्दा तल झरेको छ भने अमेरिकी वेस्ट टेक्सास इन्टरमिडियटको मूल्य पनि पाँच प्रतिशतभन्दा बढी घटेर करिब ७६ डलर प्रतिबारेलमा पुगेको छ। दुवै सूचक जुलाई १३ यताकै न्यून स्तरमा झरेका हुन्।
यद्यपि, यसअघि पनि भएका वार्ताहरू निष्कर्षमा पुग्न नसकेको अनुभवका कारण ऊर्जा बजार अझै अनिश्चित रहेको विश्लेषकहरूको भनाइ छ। यसले विश्वभर इन्धनको मूल्यमा उतारचढाव ल्याइरहेको छ, जसको प्रत्यक्ष असर उपभोक्तामाथि परेको छ।
अमेरिकाले वार्ता सकारात्मक रहेको दाबी गरे पनि इरानले भने आफू अमेरिकासँग प्रत्यक्ष वार्ता नगरेको स्पष्ट पारेको छ। इरानका अनुसार उसले ओमानसँग नयाँ समुद्री यातायात संयन्त्रबारे छलफल गरिरहेको छ र ती वार्ता सकारात्मक दिशामा अघि बढिरहेका छन्।
कतारले पनि क्षेत्रीय तनाव अन्त्यका लागि मध्यस्थताको प्रयास जारी रहेको जनाएको छ, तर हाल प्रत्यक्ष अमेरिका–इरान वार्ताको कुनै योजना नरहेको उल्लेख गरेको छ।
फेब्रुअरीको अन्त्यदेखि जारी द्वन्द्वका कारण हर्मुज जलडमरूमध्यबाट हुने अधिकांश समुद्री आवागमन प्रभावित भएको छ। विश्वको दैनिक तेल तथा तरलीकृत प्राकृतिक ग्यास आपूर्तिको करिब पाँचौं हिस्सा यही मार्ग हुँदै हुने भएकाले यसको अवरोधले अन्तर्राष्ट्रिय ऊर्जा बजारमा ठूलो असर पारेको छ। इरानले अधिकांश जहाजको आवागमन रोकेको छ भने अमेरिकाले पनि क्षेत्रका इरानी बन्दरगाहहरूमा नौसैनिक नाकाबन्दी कायम राखेको छ।
यता, इरान समर्थित यमनका हुथी विद्रोहीहरूले जुलाई २० देखि साउदी अरबका रेड सी बन्दरगाहहरूमा पनि नाकाबन्दी गरेपछि वैकल्पिक समुद्री मार्गसमेत जोखिमपूर्ण बनेको छ। पछिल्ला दिनहरूमा व्यापारिक जहाजमाथि भएका आक्रमणले समुद्री सुरक्षाप्रतिको चिन्ता थप बढाएको छ।
मंगलबार यमन नजिक भारतीय झण्डावाहक जहाजमा प्रहार हुँदा जहाज डुबेको भए पनि त्यसमा सवार सबै १४ जनाको उद्धार गरिएको भारतीय अधिकारीहरूले बताएका छन्।
मध्यपूर्वमा तेल बोकेका जहाजमाथिको जोखिम युद्ध सुरु भएयताकै उच्च स्तरमा पुगेको छ। ऊर्जा बजारमा देखिएको यही अनिश्चितताका कारण बेलायत, अमेरिका लगायत विभिन्न देशमा पेट्रोल र डिजेलको मूल्य उल्लेखनीय रूपमा बढेको छ। बेलायतमा पेट्रोलको औसत मूल्य प्रतिलिटर १.६० पाउन्ड पुगेको छ भने अमेरिकामा पेट्रोलको औसत मूल्य प्रतिग्यालन ४ डलरभन्दा माथि पुगेको छ।
तनावका बेला तेलको मूल्य १२० डलर प्रतिबारेलभन्दा माथिसम्म पुगेको थियो भने वार्तामा प्रगतिको संकेत देखिएपछि पुनः तीव्र रूपमा घट्ने क्रम देखिएको छ। यही उतारचढावबीच बीपी, शेल, शेभरोन र एक्सन मोबिलजस्ता ठूला तेल कम्पनीहरूले उल्लेखनीय नाफा कमाइरहेका छन्।