४० वर्षकै तल्लो विन्दुमा जापानी येन, अवमूल्यन रोक्न संयुक्त रूपमा डलर बेच्दै अमेरिका र जापान

४० वर्षकै तल्लो विन्दुमा जापानी येन, अवमूल्यन रोक्न संयुक्त रूपमा डलर बेच्दै अमेरिका र जापान

एजेन्सी : जापानी मुद्रा येन विगत चार दशकयताकै सबैभन्दा कमजोर अवस्थामा पुगेपछि अमेरिका र जापानले विदेशी विनिमय बजारमा संयुक्त हस्तक्षेप गरेका छन्। दुवै देशले गत साता बजारमा समन्वित रूपमा हस्तक्षेप गरेर येनको तीव्र अवमूल्यन रोक्ने प्रयास गरेको औपचारिक पुष्टि गरेका हुन्।

सन् २०११ मा गएको विनाशकारी भूकम्प र सुनामीपछि जापानी येनलाई नियन्त्रणमा राख्न दुवै देशले चालेको कदमयता यस्तो संयुक्त हस्तक्षेप भएको यो पहिलो पटक हो। 

जापानको अर्थ मन्त्रालय र अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले येनमा थप अस्थिरता आए भविष्यमा पनि पुनः यस्तै संयुक्त कदम चाल्न पछि नहट्ने स्पष्ट पारेका छन्।

येन र जापानी सरकारी ऋणपत्रमा भइरहेको तीव्र बिक्रीको चापले विश्वव्यापी अर्थतन्त्रमै नकारात्मक असर पार्न सक्ने र अमेरिकाको समेत ऋण लागत बढाउन सक्ने जोखिमलाई ध्यानमा राख्दै यो निर्णय लिइएको हो।

अक्सफोर्ड इकोनोमिक्सका वरिष्ठ अर्थशास्त्री शिगेतो नागाईका अनुसार, कम लागतमै ठूलो आर्थिक स्थिरता हासिल हुने भएकाले अमेरिका आफ्नो राष्ट्रिय हित सुनिश्चित गर्न यो संयुक्त प्रयासमा सहभागी भएको हो।

उनका अनुसार दुवै देशले केही समयसम्म निरन्तर र रणनीतिक रूपमा बजारमा हस्तक्षेप गरिरहने सम्भावना छ, जसले मुद्रा बजारका सट्टेबाजहरूलाई निरुत्साहित गर्न ठूलो भूमिका खेल्नेछ।

विश्वका अन्य प्रमुख अर्थतन्त्रहरूको तुलनामा जापानको केन्द्रीय बैंकको ब्याजदर निकै कम हुनुलाई येन कमजोर हुनुको मुख्य कारण मानिएको छ। हालै बैंक अफ जापानले आफ्नो मुख्य ब्याजदर बढाएर १ प्रतिशत पुर्‍याएको छ, जुन सन् १९९५ यताकै उच्च हो। 

तर, अमेरिकी फेडरल रिभर्सको ३.५० देखि ३.७५ प्रतिशतको ब्याजदरको तुलनामा यो अझै धेरै कम भएकाले अन्तर्राष्ट्रिय लगानीकर्ताहरूका लागि येन कम आकर्षक बनेको छ।

यसबाहेक, जापानमा घट्दो जनशक्ति, न्यून उत्पादकत्व र अमेरिकी डलरमा भुक्तानी गर्नुपर्ने इन्धन आयातमाथिको निर्भरताले पनि जापानी अर्थतन्त्रलाई लामो समयदेखि दबाबमा राख्दै आएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानी अर्थतन्त्रमा देखिएको समस्यामा सहयोग गर्न अमेरिका सधैँ तयार रहेको बताएका छन् । उनको अभिव्यक्तिपछि केही समयका लागि डलर कमजोर बन्दै विनिमय दर करिब १५७.०७ येनसम्म झरेको थियो। 

तर जापानको वित्त मन्त्रालयले संयुक्त हस्तक्षेपबारे औपचारिक पुष्टि गरेपछि बजारमा पुनः उतारचढाव देखिँदा डलर करिब १५७.७० येनसम्म पुगेको थियो। गत महिना भने एक अमेरिकी डलरको मूल्य करिब १६४ येन पुगेको थियो, जुन झण्डै ४० वर्षयताकै सबैभन्दा उच्च स्तर मानिएको थियो।

जापानको केन्द्रीय बैंकका प्रारम्भिक तथ्यांकअनुसार टोकियोले न्यूयोर्क बजारमा करिब ५९ अर्ब अमेरिकी डलर बराबरको विदेशी मुद्रा बिक्री गरेर येन खरिद गरेको अनुमान गरिएको छ। त्यसको भोलिपल्ट अमेरिका र जापानले संयुक्त रूपमा हस्तक्षेप गरेको औपचारिक पुष्टि भएको थियो। 

अमेरिकाले आफ्नो हस्तक्षेपको ठ्याक्कै रकम सार्वजनिक नगरे पनि सरकारी अधिकारीहरूको आन्तरिक छलफलमा ५ देखि १० अर्ब अमेरिकी डलरसम्म बराबरको येन खरिद गर्ने योजना रहेको उल्लेख गरिएको थियो।

थप समाचार