अमेरिकी सेटलमेन्टले अडानी इन्टरप्राइजेज घाटामा, राजस्व भने ५० प्रतिशतले बढ्यो

अमेरिकी सेटलमेन्टले अडानी इन्टरप्राइजेज घाटामा, राजस्व भने ५० प्रतिशतले बढ्यो

मुम्बई : अडानी इन्टरप्राइजेज लिमिटेडले आर्थिक वर्ष २०२६–२७ को पहिलो त्रैमासमा ११ अर्ब ६० करोड भारतीय रुपैयाँको खुद घाटा व्यहोरेको छ।

गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ८ अर्ब ८५ करोड भारु नाफा कमाएको थियो। यद्यपि, कम्पनीको सञ्चालनबाट हुने आम्दानी भने वार्षिक आधारमा ५० प्रतिशतले वृद्धि भएको छ।

कम्पनीका अनुसार पहिलो त्रैमासमा रेभेन्यु २ खर्ब १९ अर्ब ६१ करोड भारुबाट बढेर करिब ३ खर्ब २९ अर्ब ४० करोड भारु पुगेको छ। तर, अमेरिकी वित्तीय नियामक निकाय (ओएफएसी) सँग भएको सेटलमेन्टअन्तर्गत एकमुष्ट २६ अर्ब ४४ करोड (भारतीय रुपैयाँ) भुक्तानी गर्नुपरेकाले नाफा घटेर घाटामा परिणत भएको हो।

अडाणी इन्टरप्राइजेजले यो खर्चलाई एकपटक मात्र हुने (वन–टाइम) खर्चका रूपमा उल्लेख गरेको छ। कम्पनीले जनाएको छ कि उक्त असाधारण खर्च नभएको भए यसको मुख्य व्यवसायको प्रदर्शन सकारात्मक रहेको र अधिकांश सञ्चालन क्षेत्रमा वृद्धि कायम रहेको थियो।

ओएफएसी अमेरिकी ट्रेजरी विभागअन्तर्गतको वित्तीय खुफिया तथा प्रवर्तन निकाय हो। यसले अमेरिकी राष्ट्रिय सुरक्षा र विदेश नीतिअनुसार आर्थिक तथा व्यापारिक प्रतिबन्धहरू कार्यान्वयन गर्ने जिम्मेवारी निर्वाह गर्छ।

सन् १९८८ मा गौतम अडाणी द्वारा स्थापना गरिएको अडाणी इन्टरप्राइजेज अडाणी समूहको प्रमुख कम्पनी हो। कम्पनी ऊर्जा, पूर्वाधार, यातायात तथा लजिस्टिक्स, उपभोक्ता वस्तु र प्राथमिक उद्योगलगायत विभिन्न क्षेत्रमा सक्रिय छ। हाल कम्पनीका अध्यक्ष गौतम अडानी, प्रबन्ध निर्देशक राजेश अडानी तथा प्रमुख कार्यकारी अधिकृत विनय प्रकाश रहेका छन्।

थप समाचार