तीन महिनामा अडानी पोर्ट्सको खुद नाफा साढे ३६ अर्ब भारु, राजस्व १९ प्रतिशतले बढ्यो

तीन महिनामा अडानी पोर्ट्सको खुद नाफा साढे ३६ अर्ब भारु, राजस्व १९ प्रतिशतले बढ्यो

नयाँ दिल्ली : अडानी पोर्ट्स एन्ड स्पेसल इकोनोमिक जोन लिमिटेडले आर्थिक वर्ष २०२६/२७ को पहिलो त्रैमासको वित्तीय नतिजा सार्वजनिक गरेको छ।

यस अवधिमा कम्पनीको खुद नाफा वार्षिक आधारमा १० प्रतिशतले बढेर ३,६५० करोड भारतीय रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३,३११ करोड भारतीय रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी (राजस्व) १९ प्रतिशतले वृद्धि भई १०,८२१ करोड भारतीय रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ९,१२६ करोड भारतीय रुपैयाँ रहेको थियो। यसैगरी, कम्पनीको सञ्चालन नाफा १९ प्रतिशतले बढेर ६,५४१ करोड भारतीय रुपैयाँ पुगेको छ।

अघिल्लो वर्षको सोही अवधिमा यो ५,४९५ करोड भारतीय रुपैयाँ थियो। कम्पनीको सञ्चालन नाफा मार्जिन पनि ६०.२ प्रतिशतबाट बढेर ६०.४ प्रतिशत पुगेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार घरेलु बन्दरगाह व्यवसाय नै आम्दानीको प्रमुख स्रोत बनेको छ। राम्रो कार्गो मिश्रण, उच्च प्राप्ति र कार्गो परिमाणमा भएको वृद्धिका कारण घरेलु बन्दरगाह व्यवसायको आम्दानी वार्षिक आधारमा १२ प्रतिशतले बढेको हो।

पहिलो त्रैमासमा कम्पनीका घरेलु बन्दरगाहहरूले कुल ११५.३ मिलियन मेट्रिक टन कार्गो व्यवस्थापन गरेका छन्। यस क्षेत्रको सञ्चालन नाफा  मार्जिन मार्जिन ७४ प्रतिशत रहेको कम्पनीले जनाएको छ।

अडानी पोर्ट्सले हाल आफ्नो इतिहासकै सबैभन्दा ठूलो बन्दरगाह क्षमता विस्तार कार्यक्रम सञ्चालन गरिरहेको छ। ३० जुन २०२६ सम्म कम्पनीको घरेलु बन्दरगाह क्षमता ६५३ MMT पुगेको छ। कम्पनीले डिसेम्बर २०३० सम्म यसलाई बढाएर १,००० MMT पुर्याउने लक्ष्य राखेको छ। हाल भारतको कुल कार्गो बजारमा कम्पनीको हिस्सा २७.६ प्रतिशत रहेको छ भने कन्टेनर कार्गो बजारमा यसको हिस्सा ४४.८ प्रतिशत पुगेको छ।

मजबुत त्रैमासिक नतिजा सार्वजनिक भए पनि २९ जुलाईको कारोबारमा अडानी पोर्ट्सको सेयर मूल्य २.२५ प्रतिशतले घटेर १,७३४.७० भारतीय रुपैयाँमा कारोबार भएको थियो। सो दिन सेन्सेक्स र निफ्टी सूचकांक बढिरहेको अवस्थामा पनि कम्पनीको सेयर भने घटेको देखिएको थियो।

वित्तीय नतिजाले कम्पनी र त्यसका सहायक कम्पनीहरूको समग्र वित्तीय प्रदर्शनलाई समेट्छ भने स्ट्यान्डअलोन नतिजाले केवल मूल कम्पनीको वित्तीय अवस्था मात्र देखाउँछ।

अडानी पोर्ट्स भारतको सबैभन्दा ठूलो निजी बन्दरगाह सञ्चालनकर्ता तथा एन्ड-टु-एन्ड रसद सेवा प्रदायक कम्पनी हो। कम्पनीका १५ वटा बन्दरगाह तथा टर्मिनलहरूले भारतको कुल बन्दरगाह क्षमताको करिब २५ प्रतिशत प्रतिनिधित्व गर्छन्। यसको कुल क्षमता ६२७ MMTPA भन्दा बढी रहेको छ।

सन् १९९८ मा गौतम अडानीले स्थापना गरेको कम्पनीको व्यवस्थापकीय निर्देशक करण अडानी हुन् भने प्रमुख कार्यकारी अधिकृत अश्वनी गुप्ता रहेका छन्। कम्पनीमा १,९०० भन्दा बढी कर्मचारी कार्यरत छन् र अडाणी रसद लिमिटेड यसको सहायक कम्पनी हो।

थप समाचार