निभिक्स फर्मास्युटिकल्सले नौ महिनामा गर्यो ११.३० करोड आम्दानी, साढे १३ करोडको आईपीओ ल्याउँदै

निभिक्स फर्मास्युटिकल्सले नौ महिनामा गर्यो ११.३० करोड आम्दानी, साढे १३ करोडको आईपीओ ल्याउँदै

काठमाडौं : सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने तयारीमा रहेको निभिक्स फार्मास्युटिकल्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो नौ महिनामै ११ करोड ३० लाख रुपैयाँ बराबरको सञ्चालन आम्दानी गरेको छ। 

कम्पनीको व्यवसाय विस्तारसँगै आम्दानी तीव्र रूपमा बढिरहेको भए पनि उच्च वित्तीय खर्चका कारण कम्पनी अझै नाफामा पुग्न नसकेको रिपोर्टमा उल्लेख छ । 

कम्पनीले व्यावसायिक उत्पादन सुरु गरेको पहिलो वर्ष सन् २०२४ मा सञ्चालन आम्दानी १० लाख रुपैयाँ मात्र थियो। त्यसपछि सन् २०२५ मा सञ्चालन आम्दानी उल्लेखनीय रूपमा बढेर ८ करोड १० लाख पुगेको थियो। चालु आवको नौ महिनामै कम्पनीले ११ करोड ३० लाख रुपैयाँ सञ्चालन आम्दानी गरिसकेको छ । 

आम्दानीमा उल्लेख्य वृद्धि भए पनि कम्पनीको अन्तिम नाफा भने अझै ऋणात्मक छ। सन् २०२५ मा कम्पनीले ४०.९६ प्रतिशत सञ्चालन नाफा मार्जिन हासिल गरे पनि उच्च वित्तीय खर्चका कारण खुद नाफा र नगद सञ्चिति नकारात्मक रहेको छ। चालु आर्थिक वर्षको पहिलो नौ महिनामा सञ्चालन नाफा मार्जिन २७.८९ प्रतिशतमा सीमित भएको छ।

नेपालमा औषधि उत्पादन तथा वितरण गर्दै आएको कम्पनीले पछिल्ला दुई वर्षमा आफ्नो उत्पादन पोर्टफोलियो पनि उल्लेखनीय रूपमा विस्तार गरेको छ। जुन २०२६ सम्म कम्पनीले १०९ वटा औषधिको उत्पादन अनुमति तथा ७८ वटा औषधिको बजार अनुमति प्राप्त गरिसकेको छ। मे २०२५ सम्म यो संख्या क्रमशः ८४ र ४५ मात्र थियो।

हाल कम्पनीका ७२ प्रकारका ट्याब्लेट तथा क्याप्सुल नेपाली बजारमा बिक्री भइरहेका छन्। कम्पनीले थप नयाँ उत्पादन बजारमा ल्याउने तयारी गरेको जनाएको छ। 

यद्यपि कम्पनीको उत्पादन क्षमता अझै पूर्ण रूपमा उपयोग हुन सकेको छैन। वार्षिक उत्पादन क्षमता उपयोग करिब २४ प्रतिशत मात्र रहेकाले विद्यमान पूर्वाधारबाट उत्पादन विस्तार गर्ने पर्याप्त सम्भावना रहेको देखिन्छ।

वित्तीय संरचनामा भने कम्पनीले केही सुधार गरेको छ। प्रवर्द्धक समूहबाट २० करोड ६० लाख रुपैयाँ नयाँ पूँजी थपिएपछि कम्पनीको ओभरअल गियरिङ रेसियो सन् २०२४ को १.९६ गुणाबाट सन् २०२५ मा घटेर ०.९८ गुणामा झरेको थियो। चालु आवको नौ महिनामा भने यो सामान्य बढेर १.०४ गुणा पुगेको छ।

त्यसैगरी, ब्याज तिर्न सक्ने क्षमता पनि सुधारिएको छ। सन् २०२५ मा १.०८ गुणा रहेको यो सूचक चालु आवको यस अवधिमा बढेर १.३६ गुणा पुगेको छ ।  जुन सन् २०२३ को नकारात्मक अवस्थाबाट उल्लेखनीय सुधार मानिएको छ।

कम्पनीका अध्यक्ष कालिदास पौडेल रहेका छन्। सन् २०१७ मा पोखरा फार्मास्युटिकल्स प्रालिका रूपमा स्थापना भएको कम्पनी पछि निभिक्स फार्मास्युटिकल्स लिमिटेडका रूपमा पुनःसंरचित हुँदै डिसेम्बर २०२४ मा सार्वजनिक कम्पनीमा रूपान्तरण भएको थियो। 

कम्पनीको केन्द्रीय कार्यालय पोखरामा रहेको छ भने उत्पादन प्लान्ट तनहुँको व्यास नगरपालिका–१० मा सञ्चालनमा छ। हाल कम्पनीका प्रमुख शेयरधनी इन्द्र बनियाँ हुन् । कम्पनीमा उनको १७ प्रतिशत स्वामित्व रहेको छ।

कम्पनीले सर्वसाधारणमा प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा आईपीओ जारी गर्ने तयारी गरेको छ । कम्पनीले १३ करोड ७५ लाख रुपैयाँ बराबरकोे १३ लाख ७५ हजार कित्ता शेयर निष्कासन गर्न लागेको हो । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड नियुक्त भएको छ ।

थप समाचार