अमेरिका-क्यानडा व्यापार युद्ध थप चर्कियो, सिमेन्ट र हक्की स्टिकमै ट्रम्पको ५० प्रतिशत भन्सार 

अमेरिका-क्यानडा व्यापार युद्ध थप चर्कियो, सिमेन्ट र हक्की स्टिकमै ट्रम्पको ५० प्रतिशत भन्सार 

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाबाट आयात हुने विभिन्न वस्तुमा ५० प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेका छन्। ट्रम्पले क्यानडाले अमेरिकी गाडी, दुग्धजन्य उत्पादन र मदिरामाथि असमान व्यवहार गरेको आरोप लगाउँदै यस्तो निर्णय लिएको बताएका छन्।

नयाँ शुल्क मदिरा, हक्की स्टिक तथा सिमेन्टजस्ता वस्तुमा लागू हुनेछ। तर ऊर्जा, पोटास, महत्वपूर्ण खनिज र माछाजस्ता क्यानडाका प्रमुख निर्यात वस्तुमा भने भन्सार शुल्क नगालने जनाएको छ । 

ह्वाइट हाउसका अनुसार नयाँ शुल्क ३० दिनपछि लागू हुनेछ। यसलाई अमेरिका र क्यानडाबीचको व्यापारिक सम्बन्धमा तनाव थप चुलिने देखिएको छ । 

क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले सामाजिक सञ्जाल एक्समार्फत प्रतिक्रिया जनाउँदै अमेरिका एकपक्षीय रूपमा व्यापारिक कदम चालिरहेको आरोप लगाएका छन्। 

उनले यो निर्णय अमेरिका-मेक्सिको-क्यानडा व्यापार सम्झौताको प्रत्यक्ष उल्लङ्घन भएको उल्लेख गर्दै क्यानडा आगामी केही सातामा अमेरिकासँगको व्यापार वार्तालाई अझ तीव्र बनाउन तयार रहेको बताएका छन्। उनले क्यानडाको सार्वभौमिकतामाथि चुनौती आएको विषयसमेत उल्लेख गरेका छन्।

सन् २०२५ मा ट्रम्प प्रशासनले लगाएका भन्सार शुल्कको प्रतिकार गर्ने सीमित देशमध्ये क्यानडा पनि एक थियो। त्यसबेला क्यानडाले करिब ३० अर्ब क्यानडियन डलर बराबरका अमेरिकी वस्तुमा २५ प्रतिशत प्रतिशोधात्मक शुल्क लगाएको थियो। पछि कार्नी सरकारले केही शुल्क हटाए पनि अमेरिकी गाडी, स्टिल र आल्मुनियममाथिको शुल्क भने यथावत् राखेको थियो।

यसअघि अमेरिकी सर्वोच्च अदालतले ट्रम्पले राष्ट्रिय आपतकालीन अधिकार प्रयोग गरी विश्वका विभिन्न मुलुकमाथि लगाएका धेरै भन्सार शुल्क गैरकानुनी रहेको फैसला गरेको थियो। तर सोमबार घोषणा गरिएको नयाँ शुल्क भने सन् १९३० को भन्सार ऐनको धारा ३३८ अन्तर्गत लगाइएको हो, जसको कानुनी वैधताबारे अहिलेसम्म अदालतमा परीक्षण भएको छैन।

नयाँ शुल्क अमेरिका-मेक्सिको-क्यानडा व्यापार सम्झौता अन्तर्गत पर्ने वा नपर्ने सबै सम्बन्धित वस्तुमा लागू हुनेछ।

अमेरिकाले यसअघि नै क्यानडाबाट आयात हुने स्टिल, आल्मुनियम र तामामा १५ देखि ५० प्रतिशतसम्म भन्सार शुल्क लगाउँदै आएको छ। त्यस्तै, नरम काठमा ३५ प्रतिशत र गाडीमा प्रयोग हुने गैर-अमेरिकी पार्ट्समा २५ प्रतिशत शुल्क कायम छ। यसको जवाफस्वरूप क्यानडाले पनि अमेरिकी स्टिल, आल्मुनियम र सवारीसाधनका केही आयातमा २५ प्रतिशत प्रतिशोधात्मक शुल्क लगाइरहेको छ।

यो घोषणा ट्रम्पले केही समयअघि क्यानडाको डढेलोबाट उठेको धुवाँ अमेरिकी सहरमा पुगेको भन्दै थप शुल्क लगाउने चेतावनी दिएपछि आएको हो। तर सोमबार जारी गरिएका कार्यकारी आदेशमा डढेलोको कुनै उल्लेख गरिएको छैन। त्यसको सट्टा गाडी, दुग्धजन्य उत्पादन र मदिरासम्बन्धी पुराना व्यापारिक विवादलाई नयाँ शुल्कको आधार बनाइएको छ।

ट्रम्पले क्यानडाले अमेरिका-मेक्सिको-क्यानडा व्यापार सम्झौता अन्तर्गत नपर्ने अमेरिकी गाडी र पार्ट्समा कर लगाएर अमेरिकामाथि विभेद गरेको आरोप लगाएका छन्। यद्यपि उत्तर अमेरिकाको सवारीसाधन उद्योग अमेरिका, क्यानडा र मेक्सिकोबीच एकीकृत आपूर्ति प्रणालीमा आधारित छ।

दुग्ध व्यापार पनि लामो समयदेखि दुई देशबीचको विवादको विषय बनेको छ। क्यानडाको दुग्ध आपूर्ति व्यवस्थापन प्रणालीले विदेशी दुग्धजन्य वस्तुको आयातमा सीमा तोकेको छ भने निर्धारित सीमा नाघेमा ३०० प्रतिशतभन्दा बढी भन्सार शुल्क लाग्ने व्यवस्था छ।

यस्तै, अधिकांश क्यानडाली प्रान्तले गत वर्षदेखि अमेरिकी मदिराको बिक्रीमा बहिष्कार गर्दै आएका छन्। उनीहरूले अमेरिका सरकारले स्टिल, आल्मुनियम र सवारीसाधनमाथिका शुल्क हटाएपछि मात्रै उक्त बहिष्कार अन्त्य गर्ने बताउँदै आएका छन्।

यसबीच क्यानडाका वार्ताकारहरूले अमेरिकी भन्सार शुल्क घटाउने उद्देश्यसहित वार्ता जारी राखेका छन्। तर अमेरिकाले यसै वर्ष अमेरिका–मेक्सिको–क्यानडा व्यापार सम्झौतालाई हालकै स्वरूपमा नवीकरण नगर्ने निर्णय गरेको छ। 

क्यानडा र मेक्सिकोले सम्झौता नवीकरणको पक्षमा रहे पनि अमेरिकाले ट्रम्पको पहिलो कार्यकालमा सम्पन्न भएको उक्त सम्झौतामा संशोधन गर्न चाहेको जनाएको छ। हालका लागि सम्झौता अर्को १० वर्षसम्म लागू रहने भए पनि यसको वार्षिक समीक्षा गरिने व्यवस्था रहेको छ।

क्यानडियन चेम्बर अफ कमर्सकी प्रमुख क्यान्डेस लायङले नयाँ शुल्कलाई दुर्भाग्यपूर्ण निर्णय भन्दै आगामी ३० दिनभित्र दुवै देशबीचको वार्ताबाट अर्थपूर्ण प्रगति हुनुपर्नेमा जोड दिएकी छन्।

त्यस्तै, अमेरिकाको मदिरा परिषद्का प्रमुख क्रिस स्वोङ्गरले पनि दुवै पक्षलाई वार्तामार्फत समाधान खोज्न आग्रह गर्दै यस निर्णयले थप प्रतिशोधात्मक कदमको जोखिम बढाउन सक्ने चेतावनी दिएका छन्।

थप समाचार