काठमाडौं : एलन मस्कको नेतृत्वमा रहेको स्पेसएक्सले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) गरेपछि देखिएको लगानीकर्ताको उत्साह अहिले केही कम हुँदै गएको छ।
इतिहासकै ठूलो आईपीओ जारी गरेको कम्पनीको शेयर सुरुवाती दिनमा निकै उकालो लागे पनि एक महिनापछि भने लगानीकर्ताको उत्साह घटेको हो । कारोबार सुरु भएको केही सातामै कम्पनीको शेयर मूल्य उल्लेख्य रूपमा बढे लगानीकर्ताको उत्साह घट्दै जाँदा शेयर मूल्य करिब ३५ प्रतिशतले तल झरेको छ।
स्पेसएक्सका शेयर १२ जुनदेखि सर्वसाधारणका लागि सार्वजनिक रूपमा कारोबार हुन थालेका थिए। कम्पनीले प्रति शेयर १३५ अमेरिकी डलर मूल्य निर्धारण गरेको भए पनि पहिलो दिन कारोबार खुल्नेबित्तिकै मूल्य १५० डलर पुगेको थियो।
त्यसपछि शेयर १७६ डलरसम्म उक्लिएको थियो भने कारोबार अन्त्य हुँदा मूल्य १६०.९५ डलरमा बन्द भएको थियो। यही आईपीओसँगै स्पेसएक्स इतिहासकै सबैभन्दा ठूलो आईपीओ गर्ने कम्पनी बनेको थियो।
आईपीओपछि दोस्रो सातासम्म कम्पनीको शेयर मूल्य अझै तीव्र रूपमा बढ्यो। एक समय शेयर मूल्य २२५ डलरसम्म पुगेको थियो, जसका कारण बजार मूल्यका आधारमा स्पेसएक्सले अमेजन र माइक्रोसफ्टलाई समेत उछिनेको थियो।
प्रारम्भिक उत्साहको मुख्य कारण एलन मस्कको लोकप्रियतासँगै स्पेसएक्सलाई कृत्रिम बुद्धिमत्ता (एआई) केन्द्रित कम्पनीका रूपमा हेर्नु थियो। लगानी अनुसन्धान संस्था सीएफआरएका विश्लेषक किथ स्नाइडरका अनुसार एलन मस्कसँग जोडिएको कुनै पनि कम्पनीले स्वाभाविक रूपमा लगानीकर्ताको ध्यान आकर्षित गर्छ। उनका अनुसार धेरै लगानीकर्ताले स्पेसएक्सलाई एआईसँग सम्बन्धित तीव्र वृद्धि गर्ने कम्पनीका रूपमा बुझेका थिए।
निजी कम्पनीहरूमा लगानी सहज बनाउने संस्था नियोस्टेलरका लगानीकर्ता विली लीले पनि प्रारम्भिक उत्साहको केन्द्र एआई नै रहेको बताएका छन्। उनका अनुसार स्पेसएक्सले यस वर्ष मस्कको एआई स्टार्टअप एक्सएआईलाई अधिग्रहण गरी ‘स्पेसएक्सएआई’ नाम दिएको, ग्रोक च्याटबोट सञ्चालन गरेको तथा अन्य प्रविधि कम्पनीलाई डेटा सेन्टर क्षमता भाडामा दिन थालेपछि लगानीकर्ताले कम्पनीलाई एआईसँग जोडेर हेरेका थिए।
तर समयसँगै कम्पनीको वास्तविक आम्दानीको आधार एआईभन्दा रकेट निर्माण, प्रक्षेपण सेवा तथा स्टारलिंक स्याटेलाइट इन्टरनेट व्यवसाय रहेको विषय स्पष्ट हुन थालेपछि सेयर मूल्यमा दबाब देखिएको छ।
टेनेसीको मेम्फिस क्षेत्रमा विशाल डेटा सेन्टर परियोजनालाई लिएर स्थानीय विरोध बढेपछि स्टारलिंकले त्यहाँ आफ्ना सेवाको मूल्य घटाउने घोषणा गरेको दिन स्पेसएक्सको शेयर एकै दिन ८ प्रतिशतले घटेको थियो।
पछिल्ला केही सातामा प्रविधि कम्पनीका शेयरहरूमा समग्र रूपमा दबाब देखिए पनि स्पेसएक्समा गिरावट अझ तीव्र देखिएको छ। ७ जुलाईमा कम्पनी नास्डाक-१०० सूचकांकमा समावेश भएको दिन उक्त सूचकांक १.७ प्रतिशतले घट्दा स्पेसएक्सको शेयर भने ४.४ प्रतिशतले झरेको थियो। यसअघि एफटीएसई रसेल सूचकांकमा समावेश हुँदा भने कम्पनीको सेयरमा सामान्य वृद्धि देखिएको थियो।
पहिलो महिना पूरा हुँदा स्पेसएक्सको शेयर मूल्य करिब १४५ डलरमा कारोबार भइरहेको थियो। यो पहिलो दिन पुगेको उच्च मूल्यभन्दा करिब १८ प्रतिशत कम तथा हालसम्मको सबैभन्दा उच्च मूल्य २२५ डलरको तुलनामा करिब ३५ प्रतिशतले कम हो।
यस गिरावटका कारण आईपीओपछि सुरुका पाँच दिनभित्र उच्च मूल्यमा सेयर खरिद गरेका खुद्रा लगानीकर्ता अहिले सम्भावित घाटामा पुगेका छन्। विश्लेषक स्नाइडरका अनुसार प्रारम्भिक कारोबारमै शेयर किन्ने लगानीकर्ता अहिले स्पष्ट रूपमा घाटामा छन्।
उनले सुरुआती मूल्य वृद्धिलाई गेमस्टप र वेन्डीजजस्ता कम्पनीमा देखिएको ‘मिम स्टक’ प्रवृत्तिसँग तुलना गर्दै सामाजिक सञ्जालबाट सिर्जित उत्साहले सेयर मूल्य अस्वाभाविक रूपमा बढेको बताएका छन्।
स्नाइडरले कम्पनीको हालको व्यवसायिक अवस्थालाई आधार मान्दा स्पेसएक्सको शेयर मूल्य अझै घटेर करिब ११५ डलरसम्म पुग्न सक्ने अनुमान गरेका छन्। त्यस अवस्थामा पनि कम्पनीको बजार मूल्य करिब १.५ ट्रिलियन अमेरिकी डलर रहने उनको भनाइ छ।
मर्जरमार्केटका इक्विटी क्यापिटल मार्केट विश्लेषण प्रमुख सामुएल केरका अनुसार हालसम्मको मूल्य उतारचढावले विभिन्न प्रकारका लगानीकर्तालाई फरक असर गरेको छ। आईपीओकै मूल्य १३५ डलरमा शेयर प्राप्त गरेका वा कम्पनीभित्रैबाट आईपीओअघि इक्विटी पाएका लगानीकर्ताको अवस्था अझै सहज रहे पनि सार्वजनिक कारोबार सुरु भएपछि उच्च मूल्यमा सेयर खरिद गर्नेहरू भने सन्तुष्ट छैनन्।
यता एलन मस्क भने कम्पनीको दीर्घकालीन सम्भावनाप्रति आशावादी देखिएका छन्। स्पेसएक्स सार्वजनिक कम्पनी बनेपछि उनी विश्वका पहिलो ट्रिलियन डलर सम्पत्ति भएका व्यक्ति बनेका थिए। त्यसपछि उनले सन् २०३० सम्म स्पेसएक्सको वार्षिक आम्दानी एक ट्रिलियन अमेरिकी डलर पुर्याउने लक्ष्य सार्वजनिक गरेका थिए।
शेयर मूल्यलाई रणनीतिक रूपमा प्रयोग गर्ने मस्कको शैली पनि यस अवधिमा देखिएको छ। १६ जुनमा स्पेसएक्सको शेयर तीव्र रूपमा बढिरहेको बेला कम्पनीले कम्प्युटर कोड लेख्न सहयोग गर्ने एआई बोट विकास गरेको स्टार्टअप ‘कर्सर’लाई ६० अर्ब डलर बराबरको पूर्ण रूपमा शेयरमार्फत हुने सम्झौताबाट खरिद गर्ने घोषणा गरेको थियो। विश्लेषक केरका अनुसार त्यस समयमा सेयर मूल्य उच्च रहेकाले कम्पनीले आफ्नै शेयर प्रयोग गरेर निकै अनुकूल अवस्थामा यो अधिग्रहण गर्न सफल भएको थियो।
स्पेसएक्स हाल पनि नाफामा पुगेको कम्पनी होइन। सार्वजनिक सूचीकरणका क्रममा सार्वजनिक गरिएका वित्तीय विवरणअनुसार कम्पनीले गत वर्ष १८ अर्ब अमेरिकी डलर आम्दानी गरेको थियो। मस्कले सन् २०३० सम्म एक ट्रिलियन डलर वार्षिक आम्दानी गर्ने लक्ष्य राखेका छन्, जुन हालको आम्दानीभन्दा करिब ५५ गुणा बढी हो।
अब लगानीकर्ताको ध्यान कम्पनीको पहिलो सार्वजनिक त्रैमासिक वित्तीय प्रतिवेदनतर्फ केन्द्रित भएको छ। कम्पनीले अहिलेसम्म प्रतिवेदन सार्वजनिक गर्ने मिति घोषणा नगरे पनि अगस्टको सुरुआतमा नतिजा सार्वजनिक हुन सक्ने जनाइएको छ ।
त्यसै अवधिमा कम्पनीका कर्मचारीलाई दिइएको शेयर बिक्रीमा लगाइएको ‘लक–अप’ अवधि पनि समाप्त हुने भएकाले ठूलो संख्यामा नयाँ शेयर बजारमा आउने छ ।